पर्वत : जिल्लाको जलजला गाउँपालिकाले गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक, बाल विकास सहजकर्ता तथा विद्यालयहरूमध्येबाट उत्कृष्ट हुनेहरूलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने भएको छ ।
गाउँपालिकाका शिक्षा अधिकृत यज्ञ प्रसाद लामिछानेका अनुसार गाउँपालिकाको वार्षिक शैक्षिक कार्यक्रम अनुसार गाउँपालिकाभित्रका उत्कृष्ट सामुदायिक विद्यालय तथा विद्यालयमा कार्यरत प्रधानाध्यापक, प्रारम्भिक बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरू र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूलाई सम्मान गर्ने निर्णय अनुसार सम्मान गर्न लागिएको हो ।
पुरस्कार पाउन तथा सम्मान पाउन इच्छुक व्यक्तिहरूबाट मापदण्ड सहितको दरखास्त माग गरिएको र उक्त आवेदन यही भदौको २७ गतेभित्रमा विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकबाट प्रमाणित गराएर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेस गर्न भनिएको छ ।
विद्यालय पुरस्कार छनोट हुनका लागि तहगत विद्यार्थी सिकाई उपलब्धि, कक्षा ३, ५, ८ र एसइईमध्ये उच्चतम कक्षाको आधारमा सिकाई उपलब्धि, बाह्य क्रियाकलाप, क्यालेन्डरको कार्यान्वयन, सन्दर्भ सामग्रीको प्रयोग, वार्षिक पाठ्योजना, शैक्षिक योजना अनुसारको अध्यापन, भौतिक व्यवस्थापन जस्ता पक्षको मूल्याङ्कन हुने छ । यस्तै प्रधानाध्यापक छनोटका लागि तहगत विद्यार्थी सिकाई उपलब्धि, उपस्थिति र नियमितता, विद्यालय सुधार योजना, लेखा परीक्षण, सामाजिक परीक्षण, करार सम्झौता र कार्यान्वयन, अनुशासन, पारदर्शिता र समूह परिचालन लगायतका पक्षको मूल्याङ्कन हुने शिक्षा शाखाले बताएको छ ।
यस्तै शिक्षक पुरस्कारका लागि तहगत विद्यार्थी सिकाई उपलब्धि, उपस्थिति र नियमितता, प्रधानाध्यापकको मूल्याङ्कन, विद्यालय व्यवस्थापन समितिको मूल्याङ्कन, शिक्षा, युवा तथा खेलकुद शाखाको मूल्याङ्कन, गाउँ शिक्षा समितिको मूल्याङ्कनमार्फत अङ्क प्रदान गरिने छ ।




