बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

पर्वतमा झन्डै छ सय जनामा डेंगु सङ्क्रमण, ८३ प्रतिशत कुश्माका मात्रै

भदौ २७, २०८१

पर्वत : गत साउनयता पर्वतका झन्डै छ सय जनामा डेंगुको सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार साउन एक गतेयता भदौ २३ गतेसम्मको तथ्याङ्क अनुसार कुल पाँच सय ९० जनामा सङ्क्रमण भएको छ । गत वर्षको बर्षायाम र गर्मी समयमा जिल्लाका कुल दुई सय २५ जनामा सङ्क्रमण भएकोले यस वर्ष भने जोखिमको समय अझै करिब एक महिना काम रहेकै बेलामा गत वर्षको तुलनामा एक सय ६२ प्रतिशतले सङ्क्रमितहरुको सङ्ख्या बढेको हो ।

भदौका केही दिन र असोज महिनामा पनि डेंगु सार्ने लामखुट्टे एडीज इजीप्टाई जातको पोथी लामखुट्टेको प्रजनन कायमै रहने भएकोले जिल्लामा सङ्क्रमितहरुको सङ्ख्या अझै बढ्ने क्रममा रहेको कार्यालय प्रमुख शर्माले बताए ।

जिल्लाका सात वटा स्थानीय तहहरूमध्ये सबैभन्दा बढी प्रभावित कुश्मा नगरपालिका रहेको छ । कुल सङ्क्रमितमध्येका ८३ प्रतिशत अर्थात् चार सय ९२ जना रहेका छन् । यस्तै मोदी गाउँपालिकाका १७ जना, जलजला गाउँपालिकाका नौ जना, फलेवास नगरपालिकाका ३५ जना, महाशिला गाउँपालिकाका दुई जना, बिहादी गाउँपालिकाका चार जना, पैयुँ गाउँपालिकाका छ जना र अन्य जिल्लाका २५ जना रहेका छन् ।

घर आसपासमा रहेको फोहर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा सङ्ख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडा लामखुट्टे नछिर्ने गरी छोप्ने, लामखुट्टे भगाउने धूप बाल्ने र मलम लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनुपर्ने चिकित्साहरूको सुझाव छ ।

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिरा आउने, वाकवाकी लाग्ने वा बान्ता हुनेलगायतका लक्षण देखिए डेंगु भएको हुन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकाले दिउँसोभन्दा बिहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनीहरूको सुझाव छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive