बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

खुर्कोट, चुवा र देउपुरका कोही विस्थापित, कोही जोखिममा

असार २५, २०७८

संजय रेग्मी
असार २५, २०७८
पर्वत : अविरल वर्षाका कारण पर्वतको विभिन्न ठाउँमा पहिरो जाँदा कोही घर छोडेर हिँड्नुपरेको छ भने कोही उच्च जोखिममा परेका छन्।
लगातारको वर्षाका कारण कुश्मा नगरपालिका–२ खुर्कोटका पाँच घरमा पहिरोले क्षति पु¥याउँदा त्यहाँका चार परिवार विस्थापित हुनुपरेको छ भने एक परिवार जोखिममै बसिरहेको छ। साबिकको वडा नं. ८ स्थित थुम्कीलादेखि आएको पहिरोले स्थानीय सीता क्षेत्री, रामु पूरी, दयाराम नेपाली र टेक बहादुर रेग्मीको घरमा क्षति पु¥याएको छ। क्षति पुगेको घरमा बस्दा झनै जोखिम हुने भएकाले उनीहरू छिमेकीको घरमा आश्रय लिएर बस्नुपरेको छ। विस्थापित भएका टेकबहादुर रेग्मीका अनुसार स्थानीय चुमान पूरीको घर जोखिममा रहेको छ। अविरल वर्षाका कारण जमिनमा धाँजा फाटेको र त्यहीँबाट पानीको भेल जमिनभित्र पस्दा बिहीबार दिउसो पहिरो आएको हो। पहिरो दिउसोमा गएका कारण आफूहरू भागेर सुरक्षित ठाउँमा जान सकेको रेग्मीको भनाई छ।
‘लगातार वर्षा भइरहेको बेलामा बाहिर काम गर्न जान सकिएको थिएन। दिउसो एक बजेको हुँदो होला पहिरो चल्यो। दिउसोमा आएको हुनाले सबै जना भागेर सुरक्षित स्थानमा जान सकियो’ उनले भने, ‘पानी पनि अलि अलि परेको भए पो हुन्थ्यो। जमिन चिरिएको छ, त्यहीँबाट बाढी भित्र छिरेर पहिरो चलाएको छ।’
कुश्मा नगरपालिका–८ चुवाकी मुगा पोखरेलको घर जोखिममा परेको छ। निर्माणाधीन मध्यपहाडी लोक मार्ग र चुवा रिङ्गरोडका कारण घर पूर्ण रूपमा जोखिममा परेको पोखरेलले बताइन्। उनको घरको वरिपरि भासिएको छ भने खाना पकाउने कोठा, गोठ तथा घरको दायाँ र बायाँ पट्टिको भाग चिरिएको छ। सँगै रहेको चुवा रिङ्गरोडको सडकमा समेत पहिरो गएकाले अहिले सवारी आवतजावत समेत अवरुद्ध बनेको छ। सडक खन्दा कमजोर भनेको भाग लगातारको वर्षाले कमजोर हुँदा भासिएको आफूहरू जोखिममै रहेको पोखरेलको भनाई छ। ‘वर्षा भएको बेलामा छिमेकीको घरमा गएर बस्नुपरेको छ। घर कति बेला भासिएर ढल्ने हो ठेगान नै छैन’ उनले भनिन, ‘घर वरिपरिको जमिन समेत भासिएका कारण अब वर्षा बढ्यो भने त्यही भासिएको ठाउँबाट पानी पसेर घर ढल्ने त होला।’
उता मोदी गाउँपालिका–२ कडेनका दुई घर समेत पहिरोको जोखिममा परेका छन्। पातीचौर–देउपुर–लप्सीबोट सडकका कारण स्थानीय प्रकाश चापागाईँ र अर्को एक परिवारको घर जोखिममा परेको छ। पहिरोका कारण उक्त सडक पनि अवरुद्ध भएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive