बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

ठाउँ–ठाउँको पहिरोले अवरुद्ध भयो पोखरा–बागलुङ सडक

असार २५, २०७८

पर्वत : मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको दुई ठाउँमा झरेको पहिरोका कारण पोखरा–बागलुङ सडक खण्ड बिहीबार मध्यान्हदेखि अवरुद्ध भएको छ।

गत असार २२ गते राति कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीका कारण १६ घण्टासम्म अवरुद्ध भएपछि एकतर्फी रूपमा सुचारु गराइएको सडक बिहीबार बिहानबाट पुन अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काका अनुसार वर्षाको क्रम नरोकिएपछि सडकमा आएको लेदो, गेगर र ढुङ्गाका कारण एकतर्फी रूपमा चलेको सडक फेरि बन्द भएको हो।

सडक सुचारु गराउनको लागि मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले शुक्रबार बिहानैदेखि काम गरिरहेको छ।

यस्तै, बाढी आएको सुन्दरे खोलाबाट करिब तीन सय मिटर टाढा रहेको चुवाको भिरबाट सडकमा ढुङ्गाहरू खसेका कारण सवारी सञ्चालनमा समस्या भएको खड्काले बताए। दोबिल्लामा अवरुद्ध भएको सडक खुलाएपछि मध्य पहाडीको काम गरिरहेको लामा कन्स्ट्रक्सनले नै ती ढुङ्गा पन्छाएपछि पर्वत सदरमुकाम कुश्माबाट पोखरा र अन्य जिल्लामा आउजाउ गर्ने सवारीहरू सञ्चालन हुनेछ।

ती दुई ठाउँमा सडक सुचारु गराएपछि पनि कुश्मा–बागलुङ सडक खण्ड भने अवरुद्ध नै रहने भएको छ। पर्वतकै कुश्मा नगरपालिकाको अर्मादी नजिकै नयाँ पुलमा सडकमाथिबाट खसेको ठूलो पहिरोका  कारण बागलुङबाट कुश्मा, पोखरा सहित अन्य ठाउँका सवारीहरू बिहीबार दिउँसोदेखि नै अवरुद्ध छन्। ट्राफिक प्रहरी प्रमुख खड्काका अनुसार दोबिल्ला र चुवाबाट बाटो सुचारु गराएपछि लामा कन्स्ट्रक्सनकै टोलीले नयाँ पुलमा झरेको पहिरो पन्छाएर बाटो सुचारु गराउने छ।

‘नयाँ पुलमा हिजो आएको पहिरोले बागलुङ–कुश्मा सडक अवरुद्ध भएको छ। यता दोबिल्ला र चुवामा अवरुद्ध रहेको बाटो खुलाएपछि मात्र नयाँ पुलमा जाने हो’ खड्काले भने, ‘बाटो बन्द हुँदा सबैलाई समस्या नै हुन्छ। हामीले सकेसम्म छिटो बाटो सुचारु गराउन काम गरिरहेका छौँ।’

उनका अनुसार सम्भवतः शुक्रवार अपराह्न सम्ममा बागलुङ–पोखरा सडक पूर्ण रूपमा सञ्चालनमा आउने छ। पहिरोका कारण बागलुङ र पर्वतबाट पोखरा सहितका ठाउँका लागि छुट्ने सवारीहरू छुट्न सकेका छैनन् भने बागलुङ र पर्वतका लागि भित्रिएका सवारीहरू पनि कोही परादीमा त कोही पर्वत सदरमुकाम कुश्मा बजारमा रोकिएका छन्।

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive