पर्वत : पर्वतको मोदी गाउँपालिकाले गाउँपालिकावासीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै निःशुल्क मुटु रोग परीक्षण शिविरको आयोजना गर्ने भएको छ ।
मुटु जोगाऊँ (सेभ द हार्ट) लाजिम्पाट काठमाडौँको सहकार्यमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल अनिल भट्टराईको नेतृत्वमा शिविरको आयोजना गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताए । आउँदो पुसको १२ र १३ गते दुई दिनका लागि आयोजना गरिएको शिविर मोदी गाउँपालिका–६ डिमुवाको वडा कार्यालयमा सञ्चालन हुँदै छ । मुटु सम्बन्धी समस्या भएका तथा मुटुका नयाँ बिरामीहरूले पनि उक्त शिविरमा स्वास्थ्य परीक्षण गराएर स्वास्थ्य लाभ गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
शिविरमा आउने मुटु रोग सम्बन्धी बिरामीहरूले यही मङ्सिरको २५ गतेदेखि पुसको १० गतेसम्म गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक वा गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी नाम दर्ता गर्न भनिएको छ । यसअघि कुनै पनि अस्पतालबाट मुटु सम्बन्धी परीक्षण वा उपचार गरेको भएमा उक्त कागजात सहित शिविरमा उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ ।