पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको हिमालय माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन सहित विभिन्न विधामा उत्कृष्ट बनेका विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै वार्षिकोत्सव मनाइएको हो ।
सो अवसरमा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले शिक्षा नै समाजको मूल आधार भएकोले यसलाई केवल कक्षाकोठामा मात्रै सीमित गर्न नहुने बताइन् । जीवनलाई बुझ्ने, समस्याहरूको समाधान गर्ने र राम्रो भविष्य निर्माण गर्ने तथा नै शिक्षाले मानिसलाई जागरूक, जिम्मेवार र नैतिकवान् बनाउने उनको भनाई छ । शिक्षामा सबैलाई समान पहुँच उपलब्ध गराउन अझै धेरै गर्न बाँकी रहेको भन्दै उपप्रमुख रिजालले विद्यालयमा बिद्यार्थीहरुको टिकाउ दर बढ्नुपर्ने अवस्था रहेको बताइन् । शिक्षा प्रणाली अझै पनि परम्परागत पाठ्यक्रममा आधारित रहेको भन्दै उनले सृजनशीलता र व्यावहारिकतामा प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकता रहेको उल्लेख गरिन् ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाई, खुर्कोटका वडाध्यक्ष लालकृष्ण बास्तोला, कुश्मा नगरपालिकाको कार्यालयका लेखा अधिकृत अमृत रेग्मी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, चन्दादाता, अभिभावक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक यादवप्रसाद बास्तोलाले प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी घनश्याम पौडेल र सञ्चालन शिक्षक यज्ञनाथ बास्तोलाले गरेका थिए । सोही अवसर पारेर २०५७ सालको एस.एल.सी परीक्षामा सहभागी भएका विद्यालयका पूर्व विद्यार्थीहरूले विद्यालयका जेहेन्दार तथा बिपन्न विधार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नका लागि दुई लाख १२ हजार पाँच सय २४ रुपैयाँ मूल राशि रहेको अक्षयकोष स्थापना गरेका छन् ।
यस्तै शिक्षकहरूको समर्पण अनि योगदानको मूल्याङ्कन गर्दै शिक्षकहरू माधवप्रसाद रेग्मी, सुशील अधिकारी, यज्ञनाथ बास्तोला र केशव सुवेदीलाई सोही कार्यक्रममा सम्मान गरिएको छ ।