फागुन १२, २०८१
पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ फर्से घर भई हाल अस्ट्रेलियामा रहेका ब्लड क्यान्सर पीडित अशेष के.सी.लाई प्रवासी पर्वतेहरूमार्फत ४३ लाख रुपैयाँ सहयोग गरिने भएको छ।
पर्वतबाट विभिन्न देशमा पुगेकाहरूले अन्तर्राष्ट्रिय पर्वत समाजमार्फत ४३ लाख २७ हजार ३० रुपैयाँमध्ये केही रकम जलजलास्थित के.सी.को परिवारलाई हस्तान्तरण गरिएको छ भने केही रकम यसअघि नै उपचारका लागि अस्ट्रेलिया पठाइएको र केही प्रतिबद्धतामा रहेको समाजका सचिव कमल लामिछानेले बताए।
सहयोग सङ्कलन अभियानमध्ये पर्वत सेवा समाज बहराइन, कतार, युएई साथै पर्वत समाज दक्षिण कोरियाबाट सङ्कलित रकम तीन लाख ७२ हजार सात सय ५० रुपैयाँ अशेषको परिवारलाई हस्तान्तरण गरिएको हो। आइतबार समाजका सचिव कमल लामिछाने, नेपाल प्रतिनिधि मुना भुसाल लगायतले के.सी.का हजुरबुबा कुलबहादुर खत्री र हजुरआमा दुर्पती खत्रीलाई भेटेर उक्त रकम सहयोग गरेका हुन्।
अन्तर्राष्ट्रिय पर्वत समाजले जिल्ला समन्वय समितिका पर्वतका उपप्रमुख सोमबहादुर जि.सी, वडाध्यक्ष हरि विकास जि.सी, पर्वत समाज स्वीट्जरल्याण्डका सदस्य विनोद जि.सी (विमल), समाज कतारका निवर्तमान सचिव भरत मल्ल ठकुरी, विप्लव हमाल, भीम के.सी (सूर्य), निर्मला के.सी., राम प्रसाद खत्री, सरस्वती जि.सी, सावित्री खत्री, राधिका लामिछाने लगायतको उपस्थितिमा उक्त रकम अशेषको परिवारलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख जि.सी.ले सुख दुःखमा आफूहरू साथमै छौँ भन्ने सन्देश सहित अन्तर्राष्ट्रिय पर्वत समाजले अप्ठ्यारोमा परेका जिल्लावासी सहित नेपालभर गरेको सहयोगको प्रशंसा गरे। पहिरोमा परेकाहरूलाई घर निर्माण, कागतीका बिरुवा वितरण, कोरोना कालमा औषधि एवं स्वास्थ्य उपकरण उपलब्ध गराएको समाजले अहिले अशेषको उपचारमा अभियान थाल्नु खुसीको कुरा भएको उनको भनाइ छ।
संस्थाले गरेका नेपालमा गरिरहेका गतिविधिबारे बोल्दै समाजकी नेपाल प्रतिनिधि मुना भुसालले आकस्मिक घटनामा सहयोग गर्दै आएको संस्थाले अहिले दीर्घकालीन योजनाहरूमा पनि सहयोग गरेको बताइन्। हाल प्रदेश अस्पताल पर्वतमा सौन्दर्यीकरण परियोजना अन्तर्गत विभिन्न ३५ लाख बढीको लगानीमा निर्माण कार्यहरू गरिरहेको उनको भनाइ छ। ब्लड क्यान्सर पीडित के.सी.को उपचारमा केही टेवा पुगोस् भनेर संस्थाले सुरु गरेको सहयोग अभियानमार्फत सहयोग गर्न पाएको भन्दै उनले के.सी.को स्वास्थ्य लाभको कामना गरिन्। अभियान संयोजक रामहरि शर्मा, सहकार्य गर्ने संस्थाका अध्यक्ष गुणराज शर्मा, महासचिव प्रकाश पौडेल लगायतको भूमिकाको कारण नै उक्त रकम सङ्कलन भएको भुसालले बताइन्।
समाजकी नेपाल प्रतिनिधि मुना भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सचिव कमल लामिछानेले गरेका थिए। कार्यक्रममा उपस्थित भएकाहरूले के.सी.को उपचारमा सघाउन समाजले गरेको योगदानमा धन्यवाद दिँदै आउँदा दिनमा पनि थप सहयोगको अपेक्षा गरिएको बताएका छन्। सोही कार्यक्रममा पर्वत समाज कतार जलजला इकाइले पर्वत समाज कतारका निवर्तमान सचिव भरत मल्ल ठकुरीमार्फत ३६ हजार रुपैयाँ बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय पर्वत समाजको पाँच लाख ३६ हजार चार सय ८९ रुपैयाँ सहित पर्वत समाज जापान, युके बाट संस्थाकी सचिव ढाका कुमारी, स्विट्जरल्यान्डबाट सदस्य विमल जि सि (विनोद), बेल्जियमबाट पर्वत समाज बेल्जियम र संस्थाका सल्लाहकार खड्क के.सी, सीता के.सी, रन्जिता भरत के.सी, अमेरिकाबाट बाबुराम शर्मा र सूर्य के.सी तथा पर्वत समाज स्पेनको सक्रियतामा सङ्कलित रकम अशेष के.सी. समक्ष पुगेको छ भने केही रकम पुग्ने क्रममा रहेको छ। समाजका अध्यक्ष शर्मा तथा सहयोग अभियानका मध्यपूर्व संयोजक रामहरि शर्मा (राम) लगायत पदाधिकारीहरूले थप सहयोगका लागि अभियान जारी राखेका छन्।
अशेषकी फुपू सिता के.सी.का अनुसार पि.आर. प्राप्त गरेकाहरूको उपचारको लागि बिमा हुने भए पनि विद्यार्थीहरूको लागि त्यो सुविधा नहुँदा अशेषको उपचारमा धेरै रकम खर्च हुने भएको छ। निजी बिमा कम्पनीमार्फत केही सहयोग भएको भए पनि हालसम्म झन्डै ३५ लाख रुपैयाँ उनको उपचारमा खर्च भएको छ। अस्पतालले हरेक चार महिनामा उपचारको बिल पठाउने भएकाले अब कति खर्च आउने हो भन्ने यकिन नभएको उनले बताइन्।
केही समयभित्रमा नै अशेषमा ‘बोन म्यारो’ प्रत्यारोपण गर्ने तयारी भएको भए पनि उनको स्वास्थ्यमा देखिएको थप समस्या र आफ्नो दिदीको ‘बोन म्यारो’ नमिल्दा प्रत्यारोपणको काम रोकिएको छ। अस्पतालले आफन्तको ‘बोन म्यारो’ मिल्न सक्ने बताएको भए पनि नमिलेपछि अब ‘बोन म्यारो’ दिने व्यक्तिको खोजी भइरहेको छ। अस्ट्रेलियाका नागरिकहरूले ‘बोन म्यारो’ दान गर्ने गरेकाले सकेसम्म अस्पतालले नै व्यक्ति जुटाउन सक्ने के.सी.को भनाइ छ।




