पर्वत : पर्वतको फलेवास नगरपालिका वडा नं. ८ पोखराधारा खेलमैदानमा तेस्रो मेयर कप भलिबल तथा फुटबल प्रतियोगिता यहि २०८१ साल चैत २४, २५ र २६ गते आयोजना हुने भएको छ ।
खेलकुद प्रतियोगितालाई मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्नका लागि स्थानीय वडाले मदिराजन्य पदार्थको बिक्री वितरणमा अस्थायी प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । वडा कार्यालयका अनुसार मिति चैत २३ गतेदेखि २६ गतेसम्म विहान ५ बजेदेखि बेलुका ८ बजेसम्म वडा क्षेत्रभित्र मदिरा बिक्री–वितरण गर्न नपाइने भएको हो । मदिरा सेवनका कारण होहल्ला वा झै–झगडाको सम्भावना रहेकाले यस्तो निर्णय लिइएको वडा अध्यक्ष मनबहादुर कुँवरले जानकारी दिनुभयो । “खेलकुदमैत्री वातावरण बनाउन तथा अमनचयन कायम राख्न प्रतिबन्धको निर्णय गरिएको हो,“ अध्यक्ष कुँवरले भन्नुभयो ।
त्यस्तै, प्रतियोगिता अवधिमा सञ्चालन हुने होटल तथा चमेनागृहहरूले चिया, खाजा तथा खानाको दरभाउ एकरूप बनाइ सेवा दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । वडा कार्यालयले सबै टोल विकास संस्था, व्यवसायिक पसल तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न अनुरोध गरेको छ । नियम उल्लंघन भएमा सम्बन्धित पसल वा व्यक्तिलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।