साउन १, २०७८
पर्वत : भौतिक सहित सेवा र सुविधामा प्रगति गरिरहेको पर्वत अस्पताललाई लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको अनुदानमा एक करोड १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिने भएको छ ।
गैर सरकारी संस्थाहरूमध्येमा सबैभन्दा ठुलो आर्थिक कोष भएको लायन्स क्लब इन्टरनेसनल फउण्डेसनको तर्फबाट अस्पतालको सेवा र सुविधालाई थप प्रभावकारी बनाउनको लागि ती सामग्री ल्याउने तयारी भइरहेको सामग्री हस्तान्तरण परियोजनाका सभापति तथा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का चिफ एडभाइजर वसन्तकुमार कर्माचार्यले बताए ।
उनका अनुसार दुई थान आइसियु भेन्टिलेटर, एक थान हेमोडालिसिस मसिन, एक थान पूर्ण डिजिटल एक्स–रे प्रिन्टिङ मेशिन, एक थान अक्सिजन भर्ने कम्प्रेसर मसिन, एक थान मोर्डन कल्चर मेडिया मसिन, एक थान पूर्ण हाइड्रोलिक अपरेसन टेबल, एक थान एनेस्थेसिया वर्कस्टेशन मसिन, एक थान एक्स–रे खिच्ने मसिन (५०० एमए), दुई थान सेन्टीफ्यूज मेशिन, एक थान लेन्सोमिटर म्यानुअल, एक थान पेन्डिएट्रिक लुप ह्यान्डल, एक थान ब्लड रोलर मिक्स्चर, दुई सेट नर्सिङ स्टेसन फर्निचर सेट, १० थान वेटिङ स्टिल चेयर, आठ सेट औषधि राख्ने ¥याक र चार थान घुम्ने कुर्ची गरी कुल १६ प्रकार सामग्रीहरू हस्तान्तरण गर्न लागिएको हो ।
कर्माचार्यले एक करोड १६ लाख ३८ हजार एक सय बिस रुपैयाँ लायन्स क्लब इन्टरनेसनल फउण्डेसनबाट प्राप्त हुने भएपछि त्यसका लागि बनेको स्थानीय मिलान कोषमा राखिने ३८ लाखमध्ये कुश्मा नगरपालिकाले १५ लाख रुपैयाँ हालेको थियो । यस्तै आठ वटा लायन्स क्लबहरूको तर्फबाट २३ लाख रुपैयाँ सङ्कलन गरेर उपकरण सप्लाई गर्ने कम्पनी प्रतीक सर्जिकल डाइग्नोष्टिक कन्सर्न पोखरालाई पेस्कीका रूपमा भुक्तान गरिएको जानकारी दिए । यसका अतिरिक्त पर्वत अस्पतालका लागि नै थप उपकरण व्यवस्थापनका लागि सांसद पदम गिरीले स्थानीय पूर्वाधार तथा साझेदारी कोषबाट ३५ लाख रुपैयाँ प्राप्त भएको छ ।
‘यहाँको अस्पतालको सेवा सुविधा व्यवस्थित गर्न सकियो भने उपचारको खोजीमा अन्य जिल्लामा जानुपर्ने अवस्था रहँदैन । अस्पतालले गरिरहेको प्रगतिमा हामीले हातमा हात मिलाएका हौँ’ परियोजनाका सभापति कर्माचार्य भन्छन्, ‘केही उपकरणहरू पर्वत आइसकेको छ । अन्य केही सामग्रीहरू आउने क्रममा नै रहेका छन् । सबै सामग्रीहरू आइपुगेपछि साउनको तेस्रो सातासम्ममा उपकरण इन्स्टल गर्न सकिन्छ होला ।’
सांसद गिरी सहित कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी तथा लायन्स क्लबका आईपीडीजी र वर्तमान एमसीसी मान बहादुर रोकाको योगदानले पर्वतमा सक्रिय रहेका आठ वटा लायन्स क्लबहरू मार्फत अस्पताललाई आधुनिकीकरण गर्ने र अस्पताललाई आवश्यक उपकरणहरू उपलब्ध गराउने अभियान सफल भएको उनको भनाई छ ।
पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले लायन्स क्लबहरूको अन्तर्राष्ट्रिय कोषबाट गर्न लागिएको सहयोगले अस्पतालमा सेवा अभिबुद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् । परियोजनाका केही उपकरणहरू पर्वत अस्पतालमा भण्डारण भइसकेको र बाँकी उपकणहरू पनि सप्लायर कम्पनीले विदेशबाट आयात गरी भन्सारको प्रकियामा रहेको भन्ने सूचना आफूले पाएको सुनाउँदै उनले लायन्स क्लबहरूलाई धन्यवाद दिए ।
‘लायन्स क्लब अन्तर्राष्ट्रियका उच्च पदाधिकारीहरू तथा मल्टीपल र डिष्ट्रिकटका पदाधिकारीहरू, जिल्लाका सांसद तथा नगरपालिकाका मेयर ज्यू, साथै स्थानीय साझेदार संस्थाका प्रमुख तथा सदस्य ज्यूहरूप्रति पर्वत अस्पताल हार्दिक धन्यवाद दिन्छ’ उनले भने, ‘रिफर सेन्टरको ट्याग भिर्दै आएको अस्पतालले अहिले जटिल केसमा बाहेक कोही पनि बिरामीलाई रिफर गर्नुपरेको छैन । कोभिड नियन्त्रणदेखि शल्यक्रियाका केसमा अस्पतालले गरेको काम महत्त्वपूर्ण छ । लायन्सबाट भएको यो सहयोगले हामीलाई झनै हौसला मिलेको छ ।’
पर्वत अस्पताललाई पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आर्थिक तथा भौतिक सहयोगहरू उपलब्ध हुँदै आएका छन् । अध्यक्ष पहाडीले सामाजिक सञ्जाल फेसबुकमार्फत रमाइलोको नाममा गरिने खर्च जोगाएर अस्पताललाई सहयोग गर्न सकेमा कोही निमुखाको ज्यान बाँच्ने भन्दै अभियान थालेपछि अस्पतालको विपद् कोषमा सहयोग गर्नेहरू धेरै रहेको बताए । विवाह, व्रतबन्ध, जन्मोत्सव, चौरासी, श्राद्ध लगायतका धार्मिक तथा सामाजिक क्रियाकलापको अवसर पारेर सहयोग गरेकाहरूको पैसालाई एकत्रित गरेर त्यसबाट आएको उपचार गराउनै नसक्ने तथा बेबारिसेहरुलाई उपचार गर्न खर्च गरिने पहाडीको भनाई छ ।
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025