पर्वत : प्रदेश जनस्वास्थ्य कार्यालय, कुश्मा पर्वतको आयोजनामा मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण सम्पन्न भएको छ ।
शुक्रबार र शनिवार गरी दुई दिन आयोजित कार्यक्रमको उद्धेश्य मातृ तथा नवशिशु स्वास्थ्य सेवामा गुणस्तर सुधार गर्ने र स्वास्थ्यकर्मीलाई थप दक्ष बनाउने रहेको थियो । साथै विगतमा सञ्चालन गरिएका कार्यक्रमहरूको समिक्षा गर्दै आगामी दिनमा सेवा प्रवाहमा सुधार ल्याउने उपायहरूबारे छलफल गरिएको छ ।
कार्यक्रममा धौलागिरी प्रादेशिक अस्पताल बागलुङकी महिला रोग विशेषज्ञ डा. तारा शिलवाल, नर्सिङ अधिकृत निमा हिताङ, प्रदेश अस्पताल कुश्माकी अस्पताल नर्सिङ निरीक्षक सुनिता नेपाली, कुश्मा नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटा, प्रदेश जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत अन्जली पि.सी. र पब्लिक हेल्थ नर्स सुमन शर्माले सहजीकरण गर्नुभएको थियो । दुई दिने कार्यक्रमअन्तर्गत सहभागीहरूलाई मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी विविध विषयमा जानकारी तथा प्रशिक्षण प्रदान गरिएको छ ।
प्रशिक्षणका प्रमुख विषयहरूमा गर्भावस्थाको दर्ता तथा ट्रेसिङ एप्लिकेसन, पीपीएच बन्डल एप्रोच, नन–प्न्युम्याटिक एन्टिशक गार्मेन्ट्स, संक्रमण नियन्त्रण र लेबर केयर गाइड राखिएको थियो । कार्यक्रममा पर्वत जिल्लाका सातै वटा स्थानीय तहका मातृ तथा नवशिशु कार्यक्रम फोकल पर्सन, वर्थिङ सेन्टरहरूमा कार्यरत नर्सिङ कर्मचारीहरू, प्रदेश अस्पताल कुश्माका नर्सहरू तथा जनस्वास्थ्य कार्यालय पर्वतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सातवटै स्थानीय तहका प्रतिनिधिहरूद्वारा मातृ तथा नवशिशु स्वास्थ्य सेवाको वर्तमान अवस्था, समस्या, चुनौती तथा सम्भावित समाधानबारे प्रस्तुति दिइएको थियो । साथै वर्थिङ सेन्टरहरूमा मातृ स्वास्थ्य आपतकालीन अवस्थामा सहयोग पु¥याउने उद्देश्यले १६ थान नन निमाटीक एन्टी सक गार्मेन्ट वितरण गरिएको थियो । अहिले प्रयोग हुँदै आएको पार्टोग्राफको स्थानमा अब विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस गरिएको लेवर केयर गाइडको प्रयोग गर्न सुझाइएको छ ।
कार्यक्रमका सहभागीहरूलाई उक्त गाइड भर्ने अभ्यास समेत गराइएकोले आगामी दिनमा आफ्ना संस्थामा यसको प्रयोग गर्न अनुरोध गरिएको छ । कार्यक्रमले मातृ तथा नवशिशु स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । उक्त कार्यक्रम कार्यालय प्रमुख बद्रीराज आचार्यको अध्यक्षतामा सञ्चालन भएको थियो ।
पर्वतका मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमको समिक्षा र अभिमुखिकरण
बैशाख २२, २०८२




