बाबु, यो औषधी छ होला ? कुर्सीमा अडेस लाग्दै अलिकति झुकेको शिरले तन, मन र नयन सहित एकचित्त भएर हातमा रहेको मोवाइल फोनमा तल्लीन भएको ध्यान विश्रान्ति पार्यो यो आवाजले । हातको मोवाइल फोनलाई अलि परतर्फ उचित स्थान हेरेर विराजमान गराएपछि चक्कावाला घुम्ने कुर्सीलाई सरर्र पछाडि धकेल्दै, “खै दिनुसत हेरौँ” भन्ने सङ्केतले हात अगाडि बढाउँदै कुर्सीबाट उभिएर आफूलाई उक्त व्यक्तिको सम्मुखमा बनाएँ ।
मेरो हातमा थमाइएको दोब्रिएर कच्याक कुचुक परेको औषधीको खाली पत्ता जस्तै चाउरी परेको तर पनि हँसिलो मुहार । शिरमा सजिएको ढाकाको टोपीले पनि ढाक्न नसकेको सेताम्मे कन्सिरीको रौँ । कानमा समाएर नाकमाथि मजासँग आराम गरिरहेको पावरवाला सेतो चस्मा, कृत्रिम कालो रंग प्रयोग गरेको प्रष्टै झल्किने जुँगा अनि दाह्रीको ठाउँमा भने खरवारीको घाँस काटेपछिको नाङ्गो पाखा जस्तै चिल्लो गाला मात्र । महादेवको घाँटीमा बेरिएको नागजस्तै घाँटीमा दुई फन्को घुमेको गलबन्दी अनि गलबन्दीले नछोपिएको घाँटीको भागमा उनीको सुइटरको टुसा पलाएजसरी भित्र लगाएको कमिजको कलर देखिन्थ्यो । खैरो पाइन्टको रंगसँग मेल खाने इष्टकोट थियो । पहिरनबाट नै आर्थिक रुपले सम्पन्न अनुमान गर्न सकिन्थ्यो । चोक रुँगेर व्यवसाय गर्नेहरुको कि व्यवसायमा बढोत्तरी हुन्थ्यो कि सडकमा आवतजावत गर्नेहरुलाई नियाल्न पोख्त बनाउँथ्यो । औषधीमात्र सोध्न आएको मान्छेलाई शिरदेखी पाउसम्म यसरी नियाल्नुले मलाई पनि चोक कुर्ने तमासे बनिसकेको कुरातर्फ इङ्कित गर्दथ्यो । कोही कसैको आउने जाने समय, आउने र फर्किने बाटो मलाई कण्ठस्थ जस्तै थियो । को को सँग हिँड्छ ? कसको छोरा कसकी छोरीसँग सल्केको छ ? को को चिया पसलमा भेट्छन् ? चौतारीमा घण्टौँ गफ गर्नेहरु को को हुन् ? म गुप्तचरले जसरी एकएक विवरण वताउन सक्थेँ । अहिले औषधीको खोजीमा आएका बुबा पनि सधैँजसो देखिरहेको अनुहार मध्येको थियो । उहाँले खोज्दै आएको औषधी भने अहिले मसँग उपलव्ध थिएन तर एकछिन पछि उपलव्ध गराउन सक्ने व्यहोरा जानकारी गराएँ । पसल चाहार्दै हिँड्न भन्दा केही समयमा यहीँ उपलब्ध हुने भएपछि केही बेर प्रतिक्षा गर्नु नै उचित देखेर होला मेरो प्रस्तावमा सहमति जनाउनुभयो । आफ्नो सहजता र औषधी उहाँले नै लैजाने कुरामा विश्वस्त हुनको लागि उहाँको मोवाइल नम्बर टिपेर राखेँ । सधैँ देखिरहेको मान्छे अनि यही ठाउँको स्थायी बासिन्दा हुनुहुन्थ्यो । व्यापारिक र सामाजिक रुपमा स्थापित हुन उक्त स्थानका रैथाने र अल्लि भद्र भलाद्मीहरुसँग राम्रो हेलमेल राख्न जरुरी थियो । त्यसैले अवसर मिले सम्म फार्मासिस्ट र विरामीको औपचारिक कुराकानी बाहेक अन्य व्यक्तिगत गन्थन पनि सुरु गरिहाल्थेँ । उहाँसँग पनि खानपिन, सन्चोविसन्चो, घर परिवार, कामकाज जस्ता विषयमा केन्द्रित कुराकानी हुन थाल्यो । यत्तिकैमा “बुबा कहाँ बस्नुहुन्छ?” भन्ने प्रश्नमा एकदमै अप्रत्यासित र कौतुहलता जगाउने जवाफ सुनेर यति बेरसम्मको रौसिलो महफिल मौनता र असहजतामा परिणत भयो । एकैछिन सबै कुराबाट विकेन्द्रित भएर सोचमग्न बनाउने जवाफ थियो “म छिमेकीको घरमा बस्छु बाबु ।” जवाफ सँगैको आवाजमा भएको नैराश्यता, पश्चताप पोतिएको अनुहार अनि कसैलाई जिल्याउन निस्किएको त्यो अट्टहास हाँसो जो कोहीलाई पनि सोचमग्न बनाउँथ्यो ।
बगेर गएको पानीले आफ्नो चिस्यान छाडेजसरी उहाँ गैसकेपछि पनि उहाँको जवाफले धेरै बेर सोचमग्न बनायो । सानो घर बनाएर बसेको भए छाप्रो, कुटी, झुपडी या टहरामा बसेको छु भनेर घरप्रतिको असन्तुष्टि व्यङ्गयात्मक तरिकाले पोख्नु पर्ने । डेरामा बसेको भएपनि साहुको घर, अस्थायी घर, अर्काको घर, घरभेटीको घर जस्ता यावत नामहरुले सम्वोधन गर्नुपर्ने । सायद आफू पहिला बस्ने डेराको छिमेक मै डेरा सरेर अहिले बसेको घरलाई छिमेकीको घर भनिएको पनि हुन सक्थ्यो । या आफ्ना छिमेकीको घरजग्गा किनेको अहम् बोलिरहेको हुनुपर्थ्यो । दिनहुँ आइरहने छलकपट, धोका, मुद्दामामिलाका खवरहरुले गर्दा उहाँको छिमेकीले पनि उहाँलाई विभिन्न जालसाजी गरेर विल्लिवाँठ पारेछन् कि भन्ने अनुमान गर्न सकिन्थ्यो । मुद्दा हारिसकेपछि केही समय छिमेकोले हत्याएको सोही घरमा शरण लिएको भएर घरलाई छिमेकीको घर भनिएको होला । फेरि अघि खोज्न आएको औषधी विभिन्न मानसिक समस्यामा प्रयोगमा आउने हुँदा अघिको जवाफ मानसिक असन्तुलनको उपज हुन सक्ने कुरामा पनि दुई मत थिएन । फेरि सरल जवाफलाई जटिलता तर्फ धकेल्ने मेरो धेरै सोच्ने बानीले गर्दा पनि त हुन सक्थ्यो । जे नै भएपनि कुरोको चुरो निकाल्ने निधो भने गरिसकेको थिएँ । परीक्षा सकेपछि परीक्षाफलको पर्खाइ जस्तै अब उहाँलाई कुर्दै थिएँ ।
दिउँसोको झण्डै साढे एघार बजेतिर उहाँ आउनुभयो । औषधी लिने काउण्टर नेर नआएर “प्रेसर पनि नाप्नु पर्यो एक फेर ” भन्दै सिधै फार्मेसीमा छिरेपछि भने अघिसम्म कुराकानी कसरी सुरु गर्ने भनेर दुबिधामा रहेको मलाई अलिकति सहज बाटो खुल्यो । हिँडेर आउँदा आउँदै प्रेसर नाप्दा अलिकति सटीक नहुन सक्ने भनेर केही बेर कुर्नको लागि आग्रह गरेँ । केही बेरको कुराइ अवधिलाई निशव्द बन्न नदिन कुराकानीको थालनी गरेजसरी अघिदेखी मनमा रुमलिरहेको प्रश्न तेर्साइहालेँ “बुबाले अघि भनेको केही बुझिएन नि, खासमा के भन्न खोज्नुभएको थियो ?” “धेरै नै के भनेथेँ खै, खै के कुरामा प्रश्न तेर्सायो ?” भन्ने भावले मतिर हेरेपछि मैले फेरि दोहोर्याएँ “त्यही के छिमेकीको घरमा बस्छु भन्ने वाला । ” उहाँको जवाफ प्रतिको मेरो अनावश्यक कौतुहलता देखेर हो या कसैले बुझ्न नसकेको कुरा आफैलाई पनि बुझ्न नसक्ने नाथे अल्लारे ठिटाले कसरी बुझ्यो भन्ने लागेर हो अलिकति आश्चर्य भावले हेर्नुभयो अनि फिक्का हाँसोले टार्नुभयो । अनि म केही बोल्न नपाउँदै “नमिठो जीवन भोगाइबाट तृप्त भएपछिको टर्रो डकार होला नि बाबु” भन्दै अब प्रेसर नापौँ भन्ने संकेतले हात अगाडि बढाउनुभयो । अब भने मलाई अघिको कुरामा धेरै गहिरो रहस्य लुकेको यकिन भयो । प्रेसर नापिसकेपछि औषधी झिकेर दिएँ अनि उक्त औषधी इष्टकोटको देव्रे खल्तीमा राख्दै फेरि भन्नुभयो “मेरो जीवनभरको भोगाइ हो । जीवनले सिकाएको पाठ हो बाबु । मेरो मात्र होइन, हरेक व्यक्तिको जीवनको यथार्थ, जीवनको सत्यता नै यही होला सायद । “उहाँ अलिकति सहज तरिकाले प्रस्तुत हुन थालेपछि हजुरको जीवनकथा, संघर्ष र भोगाइ सुनौँ न भन्न धक लागेन मलाई । कैयौँ टनको भौतिक वजनभन्दा मनको भारी सयौँ गुणा गह्रौँ हुन्छ । सायद वर्षौँ देखि मनमा रहेका अव्यक्त विचार, भोगाइ र पीडाहरुको गह्रौँ भारी रिक्त बनाउन उत्तम स्थान खोजीरहनुभएको थियो होला सायद । बुझ्न र मनन् गर्नको लागि सुन्ने भन्दापनि जवाफ फर्काउन र कमीकमजोरी औँल्याउन सुनिदिने हरुको वर्चश्व भएको युगमा मनका कुरा बिसाउने उत्तम थलो मलाई कसरी देख्नुभयो थाहा छैन तर यो उहाँको निर्णय गलत सावित हुन नदिनु मेरो पनि जिम्मेवारी थियो । कुर्सीको बसाइलाई अलि सजिलो पारेर आफ्नो कथा यसरी सुरु गर्नुभयो ।
उत्तरतर्फको सेताम्मे धौलागिरी हिमशिखर, दक्षिणमा कलकल बगिरहेको पवित्र कालीगण्डकी अनि कालीगण्डकी पारी थोरै उचाइमा सुन्दर बागलुङ बजार । बजारको अलि दक्षिणपट्टि पवित्र बागलुङ कालीका भगवती, अझै दक्षिण जाँदा भकुण्डे डाँडा हुँदै बलेवा गाउँ । अलिपर दक्षिणपूर्वमा क्षितिजमा अस्ताउन लागेको घामजस्तै टिलपिल टिलपिल देखिने कुश्मा बजार । कालीगण्डकी वारी बागलुङ बजारको सम्मुखमा धौलागिरी हिमालको काखमा झुलिरहेको पाङको फाँट । प्राकृतिक सुन्दरताको नमूना अनि धार्मिक आस्थाको संगम महादेव पत्नी पार्वतीको जन्मस्थल । हलजुरे र बनौँको डाँडा हुँदै सिंधाली र आँगाखेत सम्म आइपुग्दा फराकिलो तथा समथर बन्दै अन्त्यमा नुवार डिलदेखी चौर, टार हुँदै बगैँचासम्म फैलिएको समथर फाँट । फाँटको मध्यभागमा धौलागिरी हिमाललाई साँझ बिहान आफैसँग बोकेर बहिरहने शितल निर्मल वतास अनि पवित्र मुक्तिनाथको महिमा गुनगुनाउँदै अनवरत सुसाइरहेको कालीगण्डकी नदीको कञ्चन आवाजलाई स्पर्श गरिरहेको ढुंगाको छाना, कौसी, बार्दली सहितको लामो पिँढी भएको २ तले घर – मेरो जन्मस्थल । घरको दक्षिण र पूर्वतिर अलि परसम्म उ बेला बुबाले धान खान भनेर जोड्नुभएको खेत थियो । बुबा जजमानी गर्नुहुन्थ्यो । अधिँया खेत कमाउनेहरुले बुझाउने बाली, आफूले खेती गरेर भित्र्याउने बालीले खान लाउन कष्ट थिएन । दानपुण्य अनि दीनदु:खीहरुलाई मनग्य सहयोग गर्ने हैसियत पनि राख्थ्यौँ हामी । बुबा गाउँमा गन्नेमान्ने मै पर्नुहुन्थ्यो । राम्रो नराम्रो, न्याय अन्याय छुट्याउन बुबाको विचारनै श्रेष्ठ मानिन्थ्यो । म सानै छँदादेखी गाउँका अन्य बालकदेखी वृद्धसम्म सबैले मलाई आदरपूर्वकनै सम्वोधन गर्दथे । पढाइमा पनि अलि टाँठो अनि बुबाको नामसँगै पाइने आदरभावले मलाई पनि म अरुभन्दा बेग्लै हुँ, अरुभन्दा प्रधान हुँ भन्ने भावले छोइसकेको थियो । पढाइमा पनि तेज अनि गाउँकै ठूलाबडाको छोरो यसो त विद्यालयका सबै मेरो साथी बन्न लालायित हुन्थे । अलि बढी मिल्ने हेलमेल भएको साथी भने प्रकाश थियो । गाउँका बाँकी घरहरु फाँटको अर्को भागमा हुनाले फाँटको वल्लो भागमा हामी दुइजनाको घरमात्र थियो । उ मेरो मिल्ने साथी सँगसँगै एक असल छिमेकी पनि थियो । कितावी ज्ञानमा कमजोर आँकलन गरिएको उ व्यावहारिक ज्ञानमा भने पोख्त थियो । नयाँनयाँ रहरहरु, नयाँनयाँ सपनाहरु सँगै हामी हुर्कँदै गयौँ । उफ्रिँदा मात्र बल्ततल्ल छुन सकिने दैलोको माथिल्लो भागमा अब तठोकिन्छु कि भनेर निहुरिएर हिँड्नु पर्ने भयो । बढ्दो उमेर र बढ्दो शारीरिक बनावट सँगै बढिरहेका सपनाहरु र जिम्मेवारीहरुलाई पछ्याउँदै गर्दा सबैजना तितर वितर भयौँ ।
म भने वि.ए. पास गरेर गाउँकै विद्यालयमा अध्यापन गर्न थालेँ । निरन्तर अर्थ आर्जन भैरहने सरकारी जागिर थियो । शिरमा आमाबाबुको आशीर्वाद, संस्कारी र सुशिल धर्मपत्नीको साथ । आफ्नो बालापनको झल्को मेटाउने आज्ञाकारी पुत्र । साँझ बिहान पाखुरा चलाउनु पुर्ख्यौली खेतबारी छँदै थियो । पण्डितको छोरा भएर आर्जिएको मानसम्मानमा मास्टर साप हुँदा सम्म बढोत्तरी नै भएको थियो । सायद भौगोलिक र काल्पनिक रुपमा सिमावद्ध भएकोले होला केही अपुग भएजस्तो लाग्दैनथ्यो जीवनमा । जे देख्छ त्यही चाहनु, जे छैन त्यही अत्यावश्यक ठान्नु मानिसको स्वभाव नै हो । उडीरहेको चरा देखेर नै आकाशमा उड्न हवाइजहाजको परिकल्पना भएको त हो । उज्यालोमा अन्वेषण गर्नेहरुको लागि पो अगाडीको हिमश्रृंखलाको दृश्य , पारीडाँडा वारीडाँडाको, खोलानाला झरना पाखापखेराको सुन्दरता घटी बढी भएर फरक पर्ने, अँध्यारोमा टर्च लिएर हिँड्नेहरुलाई त टर्चको उज्यालो छरिएको क्षेत्रसम्म मात्र मतलव रहन्छ । साइकल नदेख्ने बेलासम्म त खुट्टामा हवाइ चप्पल पनि पर्याप्त नै हुन्छ नि । बाहिरबाट देख्नेहरुले कुवाको भ्यागुतालाई जसरी व्याख्या गरेपनि भ्यागुता आफूसँग भएको सीमित स्रोत साधनमै रमाएजसरी म पनि आफ्ना इच्छा, आकांक्षा र उपलब्धीहरुमा सन्तुष्ट नै थिएँ । अब त झन गाउँको मुहार पनि फेरिँदै थियो । विजुली वत्तिको पहुँच पुगिसकेको थियो । पाखा पखेरो छिचोल्दै समथर फाँटसम्म विस्तार भइरहेको थियो मोटरबाटो पनि । धानखाने खेत मासेर बाटो आएकोमा कोही दु:खी थिए तर धेरैजसो भने बजारसम्म जोडिने निकास पाएको अनि रोगव्याधिको चपेटामा परेकालाई तुरुन्तै मोटरगाडीबाट उद्धार गर्न सकिने भन्दै खुसी देखिन्थे । चौतारीको डिलमा बसेर एकहुल वृद्धहरु “किन जानुपर्यो बजार, अब त यही बजार हुनि भयो । ” भन्दै एकअर्कालाई विश्वस्त बनाइरहेका हुन्थे । कहिलेकाहिँ मुढालाई ताकेको बञ्चरोले आफ्नै खुट्टामा प्रहार हुन पुग्छ । घरको मुसा मार्न भनेर पालेको बिरालो दुध चोर्न पल्किएपछिको अवस्था जस्तै गाउँको अवस्था पनि विरोधाभास भएको थियो । समयसँगै गाउँले मुहार फेर्दै जाँदा विकास ल्याउन भनेर गाउँ पसेको बाटो खुसीहरु लैजाने माध्यम बन्न पो थाल्यो । कहाँ बजार भित्र्याउने अपेक्षित बाटो गाउँ रित्याउने बन्न पुग्यो । बाटो आएपछि टाठाबाठाहरू पहिल्यै गाउँको जग्गा जमिन महँगो मूल्यमा बेच्दै बजार भासिन थाले । गाउँमै बस्नेहरू पनि कृषि उत्पादनभन्दा घरजग्गा बेचबिखन गरेर भित्रिने नगदी आम्दानीमा बढी आश्रित हुन थाले । निम्नवर्गीय बाहेक अलिकति हुने खानेहरू बिस्तारै बढी सुख सुविधाको सन्धानमा बजार केन्द्रित हुन थाले । बिस्तारै गाउँलाई अल्छिपना, आलस्यता, परनिर्भरता अनि देखासिखीले गाँज्न थाल्यो । सँगै सुतेपछि गोडा त जसै लाग्छ नै । ठूलो झरीमा छाताले जति नै बचाए पनि बाछिटाले भने स्पर्श गरी छाड्ने रहेछ । सिङ्गो समाज नै ग्रसित समस्याबाट हामी अछुतो कसरी रहन सक्थ्यौँ होला र ? एकदिन रातिको खाना खाएर सुत्ने तरखरमा थियौँ । सधैं उज्यालो देखिने श्रीमती न्यास्रो अनुहार लिएर केही भन्न खोज्दै थिइन् । हामीलाई अथाह सम्पत्ति भएर पनि लोभको भाडा नभरिएर होला दुःख बेसाईरहेका छन् भन्दै गाउँलेहरु कुरा काट्छन् रे भन्ने उनको गुनासो थियो । केही नभएकाहरू त सहर छिरेर ठूलै प्रगति गरिसके मास्टर अझै गाउँमा कोदालो खनेर बस्छन् भन्ने गुनासो गाउँलेहरूको हामीप्रति रहेछ । मेलापात गर्दा होस् या पँधेरोमा पानी भर्दा होस् मास्टर मास्टरनिकै दुःखका चर्चा हुन थालेछन् । “माल पाएर चाल नपाएको, “बाँदरको हातमा नरिवल” जस्ता उखान टुक्कासँग दाँजेर गाउँभरी नै मजाकको पात्र बनाइएको रहेछ । चारकुना मिलेको, बाटोले छोएको जग्गामा आलु खेती गरेपछि त झन् घडेरी बिगार्यो भनेर मेरै विवेकमा समेत प्रश्न तेर्स्याउन थालेछन् । एक हिसाबले गाउँलेको तर्क पनि सही नै थियो । मेरो छिमेकी प्रकाश बेलैमा सहर गएर घरजग्गा बिचौलियाको काम गरेर अहिले उच्चकोटीको जीवनयापन गरिरहेको छ । कोही साथीहरु बेलैमा मुग्लान हानिए । मुगलानको कमाइमा गाउँको जायजेथा थपथाप गरेर बजारमै घर बनाएर बसेका छन् । कोही पल्टनमा छिरे, अहिले जहान, केटाकेटी उतै लगेर हामीले कल्पना पनि नगरेको भौतिक सुखभोग गरिरहेका छन् । कोही व्यापार व्यवसायमा राम्रै प्रभुत्व जमाइरहेका छन् । अनि अर्कोतिर म छु, किलोमा बाँधिएको वस्तुभाउ जस्तो । अझ भन्नुपर्दा दौड प्रतियोगितामा सबैभन्दा पहिला होमिएर पनि अन्तिममा आएको प्रतियोगी जस्तो । म आफैलाई पनि सिङ्गो चरन छाडेर टाट्नो खोस्रने साँढे जस्तो देख्न थालिसकेको थिएँ । आफूलाई दाप भित्रै खिया लागिसकेको खुकुरी बनेको कुण्ठा मनमा पालिरहेको बेला श्रीमतीले बजार झर्ने प्रस्ताव गरेपछि म भित्र पनि एकाएक सम्पन्नताको खोल ओडेर विलासिताको भोग गर्ने रहर जाग्यो । मालिकको आड पाएपछि शान्त रहेको पाल्तु कुकुर पनि एकाएक उग्र बने जसरी हामी पनि एक अर्कालाई काँध हाल्ने सहचारी पाएपछि झन् बढी अकडो र झन् झन् एकोहोरो भएर सहर बस्ने दौडाहामा लाग्यौँ, मानौँ सहरमा घर अव अन्तिम विकल्प हो । भेद्न शेष रहेको एकमात्र लक्ष्य हो जिन्दगीको जस्तै सोच्न थालिसक्यौँ । गाउँको घरजग्गा बेच्न बुबा मानिरहनु भएको थिएन । पुर्ख्यौली थात थलोको अवशेष नछोडेको मान्छे पनि मियो छोडेर हिँडेको दाँइको गोरु जस्तै हुन्छ भन्ने बुवाको मान्यता थियो । रसीको एक फेर कुनै बलियो ठाउँमा र अर्को फेर कम्मरमा बाँधेर उत्रियो भने मात्र दलदलबाट बाहिर पनि सोहि रसिकै सहायताबाट निस्कन सकिन्छ । भविष्यमा त्यही रसीको एक फेर बाँध्ने बलियो स्थान जन्मथलो बन्न सक्थ्यो मेरो लागि जसको सहायता मलाई जिन्दगीको जस्तोसुकै भुमरीबाट पनि बाहिर निस्कन सहारा हुन्थ्यो । अनि एकै केन्द्रको अधिनमा रहेर एउटै परिधिमा हुने परिक्रमालाई पनि पश्चगामी भन्न मिल्दैन । बुबा भन्नुहुन्थ्यो “साइकलको पाङ्ग्रा पनि एकै केन्द्रको अधिनमा रहेर एउटै परिधिमा परिक्रमा गरिरहन्छ र पनि साइकललाई गतिशीलता दिइरहन्छ । स्वतन्त्रता र प्रगतिको नाममा केन्द्र छाडेर हुत्तिएको दिन न त्यो परिक्रमाले साइकललाई गति दिन्छ, न साइकल बिना त्यो पांग्राको अस्तित्व जोगिन्छ । ” त्यसबेला रक्सीले उन्मत्त व्यक्तिलाई रक्सीको अवगुणको पाठ पढाए जस्तो लागे बुवाका ती कुराहरु ।
अन्तत: आफ्नो आजसम्मको जमापूँजी, अलिकता ऋण अनि अलिकति जग्गा जमिन बेचेर त्यही छिमेकी साथीको चिनजान मार्फत जग्गा किनेर घर बनायौँ । आमाबुबालाई सहर जानको लागि मनाउन सकिएन । समय अगाडि नै स्वेच्छिक अवकाश लिएर श्रीमती र बालबच्चा टिपेर सहर ओर्लिएँ बिरालोले बच्चा सारे जसरी । वास्तवमा भन्नुपर्दा त्यसबेला हामीले परिवार बेचेर घर किन्यौ, मानसम्मान बेचेर सम्पत्ति किन्यौँ, आफन्त बेचेर अजनबी, सजिलो बेचेर अप्ठ्यारो किन्यौँ । नयाँ जुत्ताले धेरै पालिस, अनि नयाँ जोगीले धेरै खरानी घस्छ भने जस्तै हामी पनि देखौवा रवाफीको कारण बिस्तारै आडम्वरपूर्ण संसारको भुमरीमा समेटियौँ । सामान्य जीवनबाट सौखिन जीवनतर्फ लाग्दै गर्दा सुरुवात स्वेच्छिक भएपनि सँगसँगै बाध्यताले पनि पछ्याइरहेको हुने रहेछ । ठूलो नाम, नाम सुहाउँदो घर, घर सुहाउँदो गाडी, गाडी सुहाउँदो लवाई खवाई, लवाई खवाई सुहाउँदो संगत फेरि संगत सुहाउँदो खर्च । बढ्दो आवश्यकताहरू परिपूर्तिको उत्तरदायित्व वहन गरेको बढ्दो आम्दानी पनि त निःशुल्क आएन होला । यो आम्दानीको पछ्यौरामा परिरहने खर्चका भ्वाङहरू टाल्नको लागि कहीँ कतैबाट सम्झौताका टालाहरु पनि आइरहनुपर्ने रहेछ । ती सम्झौताका टालाहरू बन्दाबन्दै खुसी, सन्तुष्टि, आराम, स्वास्थ्य, कर्तव्य, जिम्मेवारी सबै आम्दानीको पछ्यौरीका भ्वाङ टाल्दैमा व्यस्त भए । एक ठाउँको प्वाल टाल्न कतैबाट टाला निकाल्दै गर्दा टाला निकालिएको ठाउँमा पनि त अर्को भ्वाङ पर्छ नै । त्यसैगरी मेरो स्वास्थ्य, मेरो कर्तव्यमा भ्वाङ पर्यो । परिवारको आपसी तालमेलमा, परिवारसँगै व्यतीत गरिने ती स्वर्णिम पलहरूमा भ्वाङ पर्यो । कतै विश्वासमा, कतै भरोसामा, कतै मायामा, कतै आत्मसम्मानमा त कतै स्वाभिमानमा असङ्ख्य भ्वाङहरु थपिँदै गए । यी आवश्यकता र आम्दानीको त्यान्द्रोलाई दुई औंला बीचमा तन्काइरहेको रबर जसरी तन्काइरहँदा अब थप तन्काउन पनि नसकिने र चटक्कै छाड्न पनि नमिल्ने अवस्थासम्म पुगिसकेको थियो । थप तन्काउँदा चुडिएर होस् या छाड्दा चोट लाग्ने निश्चय नै थियो । हरेक कुरामा सिमाना तोडेर अगाडि बढ्नु पूर्व फेरि फर्किने बेला पनि सिमाना तोडेरै फर्किनुपर्छ भन्ने बिर्सिने रहेछ । एक जनाको नाममा अर्कैले परीक्षा दिए जसरी , अझ भन्नुपर्दा नाबालक राजकुमारलाई गद्दीमा राखेर उसको उत्तराधिकारी बनेर अरु कसैले राज्य सञ्चालन गरे जसरी हामी पनि अरु कोहीबाट परिचालित भइरहेका रहेछौं । हामीलाई त्यो सपनाको पछाडि दौडाइयो जो आफ्ना सपना नै थिएनन् । ती आवश्यकताहरु अँगाल्यौँ जो हाम्रा लागि छँदै थिएनन् । हाम्रो त्याग, हाम्रो संघर्ष, हाम्रो मेहनत केही पनि हाम्रो लागि भएन कहिल्यै । हामीहरु भविष्यको पछाडि यसरी यसरी कुदिरह्यौँ वर्तमानसँग नै सम्बन्ध विच्छेद हुने गरी । कहिलेकाहीँ तपाईंको सम्मुखमा भएको मान्छे तपाईँलाई देखेर मुस्कुराउँदै अभिवादन गर्दछ । अनि प्रतिक्रियामा तपाईँ पनि मुस्कान र अभिवादनले जवाफ फर्काउनुहुन्छ तर अन्त्यमा तपाईँलाई त्यो अपरिचित व्यक्तिको मुस्कान र अभिवादन त तपाईंको लागि नभएर तपाईंको समीपको अर्को व्यक्तिलाई रहेछ भन्ने ज्ञात हुन्छ त्यो घडीमा तपाईँलाई लाग्ने लज्जा र असहजताको अवस्थामा म अहिले छु । मैले दिनरात नभनी आफैलाई खर्चिएर सञ्चय गरेको सम्पत्ति त अर्कैको पो रहेछ । मैले मेरो मान्दै आएको घर कागजी रुपमा मात्र मेरो स्वामित्वमा रहेछ । यसको सञ्चालन र परिमार्जन त छिमेकीले आफ्नो मौन इशारामा पो गरिरहेका रहेछन् । मेरो घरको संरचना निर्माण र विस्तारदेखि लिएर घरका सरसामान थपघट छिमेकीको इशारामा हुने भएपछि त्यसलाई मेरो घर भन्दा पनि छिमेकीको घरभन्दा उत्तम हुन्छ ।
छिमेकी आफ्नो आवश्यकता अनुसार फेरबदल गर्दथे अनि म उसलाई हेरेर । मेरो घरको खानकी देखि बान्की सम्म, भित्ताको टिभी देखि भुइँको कार्पेटसम्म, यहाँसम्म कि छोराछोरीको पढ्ने पाठशालासम्म छिमेकीकै रोजाईका थिए । सबैथोक छिमेकीकै रोजाईका भएको घरलाई मेरो घर म कसरी मानौँ ? आमाबुबा दुवैसँग अनुहार मेल नखाएपछि बच्चाको पितृत्वमाथि शङ्का उब्जिए जसरी नै मलाई मेरो घरको अधिनायकत्वमा शङ्का लागिरहेको छ । पाप पखाल्ने पुण्यकर्म, गल्ती लुकाउने पश्चताप जस्तै सम्झिएर म मेरो घरलाई पनि छिमेकीको घर सम्झिएर भोग चलन गर्नेछु अब उपरान्त । बस्ने घर मात्र नभएर सम्पूर्ण मेरो जिन्दगी नै छिमेकीको हो भन्दा फरक नपर्ला । केही पनि नभएको छिमेकीले गाउँ छोडेको देखेर म सर्वस्व त्यागेर उसलाई पछ्याउँदा देखि लिएर नेपालमा केही गर्न नसकेर विदेशिएको छिमेकीको छोरासँग म देशमै केही गर्छु भन्ने हुटहुटी लिएको छोरालाई विदेश पठाउँदासम्म आइपुग्दा म सम्पूर्ण तवरले छिमेकीको इशारामै चलिरहेको रहेछु । अरु घोडा चढेको देखेर म आफू धुरी चढ्नु नै उत्तम रहेछ । आफ्नो औकातभन्दा माथि उठेर नजान्दा नजान्दै पनि घोडा चढ्ने प्रवृत्तिले बरु ठुलै दुर्घटना निम्त्याउँछ ।
“जिन्दगीको यात्रा लामो छ ।” भन्ने भाष्यलाई मेरो यात्राले सम्पूर्ण तवरले गलत साबित गरिदिएको छ । मेरो जिन्दगीको यात्रा मेरो घरदेखि सुरु भएर केवल छिमेकीको घरसम्म पुगेर टुंगियो । मैले आफूबाट छिमेकी जस्तो बन्दा बन्दै सिंगो जीवन सकाएछु । मैले सिसाको झ्यालबाट छिमेकीलाई चियाउँदै गर्दा त्यही सिसा बाट बनेको ऐनामा आफूलाई हेर्न बिर्सिएछु । “आफै बोक्सी आफै धामी” भन्ने उखानलाई अनुसरण गर्दै आफै जिन्दगीमा समस्या सिर्जना गर्ने र त्यही समस्या निवारणको लागि अनेक प्रपञ्च रचेर जिन्दगी सकिएछ । जिन्दगीको दौडमा आफू सर्वश्रेष्ठ बन्ने ध्याउनमा तीव्र गतिमा अगाडि बढ्ने लहडमा लाग्दा आफ्ना समीपका प्रिय वस्तुहरूसँग पनि त्यही गतिमा छुट्टिनुपर्छ भन्ने कुरा बेलैमा मनन गर्न सक्नुपर्ने रहेछ । जुन सपना र आवश्यकताको भ्रममा परेर यतिसम्म भागदौड चलिरहेछ ती के नै हुन् र आखिर ? आँखाले देखेपछि मात्र मनमा प्रतिबिम्बित हुने चित्र रहेछन् । यी आवश्यकता र चाहनाहरू त समय र माहोलले पनि निर्धारण गर्ने रहेछन् । जाँगर चलेको बेला मैलो देखेर धुनलाई ठिक्क पारेको लुगा पनि अल्छीपनले समाएको बखत सुकिला र लगाउन योग्य देखिन्छन् नि, ठिक त्यस्तै ।
अरुको नदेख्ने र नसुन्ने बेलासम्मको लागि सन्तुष्टि दिलाउने सफलता पनि अरुसँग तुलना हुन थालेपछि अपूर्ण लाग्दो रहेछन् । जसरी मोटर गाडीमा यात्रा गर्दा तपाईंको अगाडि या समतुल्य प्रत्येक वाहनलाई उछिन्दै अगाडि बढिरहे पनि तपाईँ सबैभन्दा अगाडि कहिले पुग्न सक्नुहुन्न । तपाईँ जति नै रफ्तारमा हुर्किए पनि तपाईंभन्दा अगाडि केही न केही त्यस ठाउँमा पहिलेदेखि नै उपस्थित भएकै हुन्छ नै । तपाईँको जीवनको उत्तरार्ध बिन्दु कसैको जीवनको प्रारम्भ पनि हुन सक्छ । बरु प्रथम आउने मनसुवामा तपाईं यात्राको आनन्द लिनै बिर्सनुहुन्छ । ढकमक्क कुहिरो लागेको बेला पनि तपाईं उभिएको ठाउँ बाहेक अन्त जतासुकै कुहिरो देखिन्छ । तपाईँ कुहिरो पछ्याउँदै जतिजति नयाँ ठाउँ जानुहुन्छ त्यहाँ पनि तपाईंकै समिप छोडेर बाँकी सबैतिर कुहिरो देखिन्छ तर फेरि नयाँ ठाउँबाट पहिलेकै ठाउँमा हेर्यो भने त्यहाँ फेरि कुहिरो देखिन्छ । सायद जिन्दगीमा पनि तपाईं जे खोजिरहनु भएको छ तपाईकै समीपमा हुन्छ तर पनि तपाईं त्यसको खोजीमा भौतारी रहनुहुन्छ । यदि जिन्दगीमा सुखभोग गर्ने चाहना छ भने कालो चस्माले प्रकाशको विकिरण छेके जसरी सन्तुष्टिको चस्माले ईर्ष्या र प्रतिस्पर्धाको भावलाई छेकेर बस्नुपर्ने रहेछ ।
आफ्नो कथा सकेर बुबा घरतर्फ लाग्नुभयो, अझ उहाँकै शब्दमा उहाँको छिमेकीको घरमा जानुभयो । बुबाको विगतको कथामा म आफ्नो भविष्यको बाटो देख्न थाले । बुबा जुन यात्राको पश्चताप गर्दै हुनुहुन्थ्यो म त्यही बाटो भएर मेरो भविष्यको नक्सा गर्दै थिएँ । कथाले मलाई अरुको गल्तीबाट सचिएर अगाडि बढ्ने सु-अवसर दिइरहेको थियो । कथा एकतर्फ लैजाँदै थियो अनि आफ्नो भोगाई अर्को तर्फ इशारा गर्दै थियो । केही कुराको मूल्य प्राप्त गर्न नसकेकोले या गुमाएकोले मात्र सही मूल्याङ्कन गर्न सक्छ । यस कथामा पनि पात्रले लाखौँ कोसिसको वावजुद अर्थ आर्जन गर्न नसकेर अभाव र संघर्षको जिन्दगी जिइरहेको भए यस कथाको सार पनि बेग्लै हुन्थ्यो होला । प अन्नले पेट भरेर भोक मेटिएपछि अन्न अनावश्यक भन्न मिल्छ र ? गर्मीको बेला घाम तापेर बसिँदैन भन्दैमा गर्मीमा घाम आवश्यक छैन भन्नु मनासिव भएन नि । अभावमा इर्ष्या र आत्मग्लानीले पिल्सिनुभन्दा भोगाइपछिको पश्चतापको आगोले जल्नु नै जाति होला । यति सोचेर मेरो सपनाको उडानलाई सार्थक बनाउन भनेर लिएको अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा तयारी पुस्तक समाएर आफ्नो लागि अर्को छिमेकीको घर बनाउने तयारीमा होमिएँ ।
– हरिस सुवेदी





