बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

गैर आवासीय नेपाली संघको चुनाव : उम्मेदवार नै अनभिज्ञ

असार ३२, २०८२

क्यालिफोर्निया : सामान्यतया चुनाव भनेपछि एउटा निश्चित प्रकृया हुन्छ, उम्मेदवार हुन्छन्, मतदाता हुन्छन्, चुनावको तिथी र मतदान केन्द्र तोकिन्छ । तर गैर आवासिय नेपाली संघ अमेरिका (एनआरएन–अमेरिका) को यही जुलाईको अन्तिम सातामा हुने संस्थाको चुनावी प्रकृयाका लागि आवश्यक पर्ने उल्लेखित तत्वहरुको नितान्त अभाव देखिएको छ ।
आईसीसीले तोकेको मितिमा चुनाव हुन दुई साता पनि बाँकी छैन् । तर चुनावी मैदानमा को को उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ? कति संख्यामा मतदाता प्रतिनिधी छन् ? मतदान कहाँ हुँदैछ ? वा चुनाव नै हुने हो कि होइन ? भनेर सामान्य मान्छे मात्र होइन उक्त चुनावमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र वोर्ड आफ डाइरेक्टरको उम्मेदवारी दिएका उम्मेदवार समेत अनभिज्ञ छन् । उनीहरु भन्छन् ‘अहिलेको चुनावी प्रकृया अत्यन्त अप्रजातान्त्रिक छ । अपारदर्शी छ ।’
सम्भवत संसारमै सबैभन्दा बढी नेपालीहरु स्थायी रुपमा वसोवास गर्ने देशमा अमेरिका पर्दछ होला । अनुमान अनुसार करिब दुई लाख पचास हजारदेखि तीन लाखको संख्यामा नेपालीहरु अमेरिकामा वसोवास गरिरहेका छन् । त्यसकारण एनआरएन अमेरिकाको चुनाव यहाँ वस्ने ठुलो संख्याका नेपालीहरुको चासो र सरोकारको विषय हो । यति ठुलो संख्यामा अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधी मुलक संस्थाको चुनावी प्रकृयाको जानकारी सम्पुर्ण संचार माध्यमहरु मार्फत सकेसम्म सबैलाई दिइनु पर्ने हो । उक्त कुराको जानकारी सार्वजनिक संचारमाध्यमलाई दिईएको त छैन नै संस्थाको वेब साइटमा समेत नहुनुलाई मानिसहरुले आश्चर्यको रुपमा लिएका छन् ।
त्यसो त चुनाव कहाँ र कहिले हुँदैछ भनेर अधिकांश नेपाली संघ संस्थाका प्रतिनिधीहरुलाई समेत थाहा नभएको दाबी छ । यस्तो अवस्थामा हामीले कसरी भोट माग्ने ? को सँग भोट माग्ने ? उपाध्यक्षको लागि उम्मेदवारी दिएका एक जनाले नाम नबताउने सर्तमा देउराली प्रेसलाई वताए । उनको आक्रोश थियो “अमेरिका जस्तो प्रजातान्त्रिक देशमा पनि यस्तो अप्रजातान्त्रिक र पुरातनवादी सोच हुनु लाज मर्दो कुरा हो ।” समग्रमा केही समय मात्रै पहिला दुई वटा समानान्तर एनआरएन गठन भएपछि एक भएको अमेरिकी एनआरएन नेतृत्व चयनको लागि हुने भनिएको चुनाव पारदर्शी र प्रजातान्त्रिक नभएको धेरैको ठहर छ ।
एक पटक फुटको शिकार भएको संस्थाको निर्वाचनमा देखिएको यस्तो अपारदर्शी र अप्रजातान्त्रिक क्रियाकलापले आगामी दिनमा पनि संस्था राम्रोसँग चल्न नसक्ने र त्यसले अमेरिकामा वसोवास गर्ने करिव तीन लाख नेपालीहरुको प्रतिनिधित्व गर्न नसक्ने आवाज धनिभुत रुपले उठ्न थालेको छ । संस्था आफैमा सुशासन र पारदर्शीता भएन भने त्यसले गैर आवासीय नेपालीहरुको आवाजलाई कसरी मुखरित गर्ला ? धेरैको मनमा यो प्रश्न उठेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive