पर्वत : पर्वतको जलजला गाउँपालिका–८, नाङ्लिवाङमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कानूनी सचेतना अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा, जिल्ला प्रशासन कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयको समन्वय, वडा कार्यालय तथा प्रहरी चौकी मिलनचोकको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल प्रमुख अतिथि रहनु भएको थियो भने वडाध्यक्ष हरि विकास जि.सीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भयो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता जिवराज सुवेदी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह, नागरिक समाज, स्वास्थ्य चौकी तथा जलजला युवा क्लबका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक विष्टले प्रहरी सेवासँग सम्बन्धित गुनासा, सुझाव तथा उजुरी प्रक्रियाबारे जानकारी गराउँदै कानूनी व्यवस्था, न्यायिक प्रक्रिया, अपराधका विभिन्न प्रकृति तथा समाधान उपायहरूबारे धारणा राख्नुभएको थियो । उहाँले समुदायमा विद्यमान विकृति र समस्याहरूलाई पहिचान गरी साझा प्रयासबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथि पौडेलले समुदायबाट उठेका गुनासा र जिज्ञासाहरूको सम्बोधन गर्दै अपराध लुकाउनु नहुने र सूचना दिनु नागरिकको कर्तव्य भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमका अध्यक्ष जि.सीले लुकेका समस्याहरूलाई उजागर गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । समाप्तिमा सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।
पर्वत प्रहरीको आयोजनामा नाग्लीवाङमा कानुनी सचेतना
साउन १६, २०८२




