मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

निजामती कर्मचारी सङ्गठनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

साउन १६, २०८२
पर्वत : पर्वतको महाशिला गाउँपालिका–६ मा रहेको मदन आश्रित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वत तथा सङ्गठनको महाशिला गाउँपालिकाको कार्यसमितिको समन्वयमा विद्यालयको बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत करिब ८० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको हो । निजामती कर्मचारीहरूको हक, अधिकार तथा पेसागत संरक्षणका लागि भएका कर्मचारी आन्दोलनका क्रममा सहिद बनेका मनोज जोशी, सुरेन्द्र विक र झपेन्द्र कार्कीको स्मृतिमा विद्यार्थीहरूलाई ती सामग्रीहरू वितरण गरिएको हो ।
सहिदहरूको सम्झनामा अघिल्ला वर्षहरूमा समेत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको सङ्गठनले यस वर्ष पनि सहिदहरूको दिवङ्गत आत्माको चिर शान्तिको कामना सहित समग्र कर्मचारी वर्गमा जिम्मेवारीपूर्ण पेसागत इमानदारिताको पक्षमा रहेको सन्देश र बोध सहित यस वर्ष पनि सामाजिक काम गरेको हो । सामुदायिक विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरूको आर्थिक अवस्था बलियो नहुने तथा कसैको थोरै प्रोत्साहनले पनि उनीहरूको सिकाइमा सकारात्मक ऊर्जा पैदा गर्ने भएकोले विद्यार्थीहरूलाई सहयोग हुने गरी कार्यक्रमको आयोजना गरिएको सङ्गठनले बताएको छ ।
सोही अवसरमा कार्यक्रममा सहभागी निजामती कर्मचारीहरू तथा विद्यार्थीहरूको संयुक्त सहभागितामा विद्यालय परिसरमा वृक्षारोपण पनि गरिएको छ । वातावरण र पर्यावरणको संरक्षण सबैको ध्यान केन्द्रित होस् तथा विद्यार्थीहरूमा पनि वातावरणमैत्री सोचाई क्षमतामा प्रेरणा दिने उद्देश्यले ओखर, धुपी, गुलमोहर लगायतका बिरुवाहरू रोपिएको हो ।
नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति पर्वतका अध्यक्ष दीपक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) पर्वतका अध्यक्ष गोविन्द पहाडी रहनुभएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष पहाडीले देशको कार्य सञ्चालन नै कर्मचारीहरूको हातमा रहेकोले निजामती कर्मचारीहरूकै सेवा प्रवाहबाट नागरिकमा सन्तुष्टि आउने बताउनुभयो । नेपालमा भएका विभिन्न क्रान्तिहरूमध्ये कर्मचारीहरूको हक हितमा हुँदै आएका आन्दोलनहरू पनि महत्त्वपूर्ण रहेको भन्दै उहाँले आन्दोलनका क्रममा दिवङ्गत हुनुभएका सहितहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य बालकृष्ण शर्मा, महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसाल, पेसागत महासङ्घ प्रदेश कमिटी सचिव मतिलाल चपाई, सङ्गठन प्रदेश कमिटीका सचिव पारश्वर शर्मा लगायत सङ्गठनका विभिन्न कमिटीमा रहेका कर्मचारीहरू, स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
सङ्गठनको महाशिला गाउँ समितिका अध्यक्ष रमेश शर्मा अधिकारीको स्वागतसँगै सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन सङ्गठन पर्वतका उपाध्यक्ष उपाध्यक्ष सन्तोष बि.क.ले गर्नुभएको थियो ।
मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा स्थापित विद्यालय रहेको र अधिकांश विद्यार्थीहरू दलित समुदाय एव गरिब परिवारबाट अध्ययनका लागि आउने भएकोले कार्यक्रमका लागि उक्त विद्यालयको छनोट गरिएको सङ्गठनले बताएको छ । सङ्गठनले हरेक वर्ष साउन १५ गतेका दिन सहिद स्मृति दिवस मनाउने गरेको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive