बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

कास्की प्रहरीको ‘अपरेसन यलो मेटल’ : ११ करोडको अवैध सुनसहित ११ जना पक्राउ

साउन २४, २०८२

कास्की : जिल्ला प्रहरी कार्यालय कास्कीले चलाएको ‘अपरेसन यलो मेटल’ अन्तर्गत झन्डै साढे छ किलो अवैध सुनसहित ११ जना पक्राउ परेका छन्।
पोखराको सुनचाँदी कारोबारमा ‘अवैध’ क्रियाकलाप हुने गरेका गुनासा विगतदेखि नै सुनिने गरेका थिए। त्यसैको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले ‘अपरेसन यलो मेटल’ अर्थात् पहेँलो धातुको कारोबारमाथिको अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा पोखरामा रहेर वर्षौँदेखि सुनचाँदीको कारोबार तथा डिजाइनको काम गर्दै आइरहेका भारतीय व्यक्तिहरू सुनचाँदी र नगद सहित पक्राउ परेका हुन्।
यसबारेमा जानकारी दिन शनिवार जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले गण्डकी प्रदेश प्रहरी, कास्की प्रहरी र मातहतका इकाइको संयुक्त टोलीले ११ करोड बढी मूल्य बराबरको धातु र नगदसहित भारतीय व्यक्तिहरूलाई पक्राउ गरिएको बताए।
केही समयदेखिको गोप्य अनुगमन र अनुसन्धानपछि सुनको धेरै कारोबार हुने गरेको क्षेत्र मोहरिया टोल, तेर्सापट्टी, भैरव टोल र चिप्लेढुङ्गाका पसल तथा सुनको काम गरिने स्थानहरूमा प्रहरीले शुक्रवार साँझ एकै पटक छापा मारेको थियो। प्रहरी उपरीक्षक ओलियाका अनुसार पोखरा महानगरपालिका–२, ३, ४ र ९ क्षेत्रमा अवैध तरिकाले सुन तथा चाँदीको कारोबार भइरहेको भन्ने गोप्य सूचना केही समयअगाडि नै प्रहरीमा आइपुगेको थियो।
पक्राउ परेकाहरूमा भारत महाराष्ट्र साग्ली जिल्ला घर भई हाल मोहरिया टोलमा बस्दै आएका तथा १६ वर्षदेखि पोखरामा रहेर सुनचाँदी कालिगडको रूपमा काम गर्दै आएको ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, कलकत्ताको मेद्नापुर जिल्ला घर भई मोहरिया टोलमा बसेर २० वर्षदेखि कालिगडको काम गर्दै आइरहेको ४५ वर्षीय मनिक लाल आदक, पश्चिम मंगलाको हुग्ली घर भई पोखराको बिन्दबासिनीमा बसेर १५ वर्षदेखि कालिगडको काम गर्दै आएका ३५ वर्षीय सन्दीप ढाव रहेका छन्।
पश्चिम बङ्गाल नै घर भई मोहरिया टोलमा बसेर १६ वर्षदेखि सुनचाँदीको ‘डिजाइन’ को काम गर्दै आएका ४१ वर्षीय सोमनाथ पाल, तेर्सापट्टिमा बसेर २० वर्षदेखि सुनचाँदीको काम गर्दै आइरहेका ४७ वर्षीय दीपक सामन्त, पोखरा महानगरपालिका–३ मा बसेर २८ वर्षदेखि पोखरामा सुनचाँदीको काम गर्दै आइरहेका ४७ वर्षीय गोविन्दा दिण्डा, कलकत्ताको हाउडा घर भई चिप्लेढुङ्गामा बसेर २० वर्षदेखि कालिगडको काम गर्दै आएका ३५ वर्षीय असित वर पनि पक्राउ परेका छन्।
यस्तै, कलकत्ता नै घर भई मोहरिया टोलमा बसेर २४ वर्षदेखि सुनचाँदीको काम गर्दै आइरहेका ४४ वर्षीय तापस सामन्त, भैरव टोलमा बसेर १२ वर्षदेखि कालिगडको काम गर्दै आइरहेका ३८ वर्षीय उज्वल भोमिक, महाराष्ट्रको पुने घर भई पोखराको सभागृह चोकमा बसेर १२ वर्षदेखि सुनचाँदीको काम गर्ने ४० वर्षिया सुनिता पवार, भारत नै घर भई मोहरिया टोलमा बसेर सुनचाँदीको काम गर्ने ४९ वर्षीय प्रोभास माझीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
छापा मार्ने क्रममा जगतापबाट सुन ११ तोला २०.६ लाल, चाँदी दुई ९६ तोला ३३ लाल र नगद एक लाख ६० हजार पाँच सय रुपैयाँ, आदकबाट सुन १३ तोला १७ लाल, चाँदी १० तोला ५५ लाल, ढावबाट सुन तीन तोला आठ लाल, पालबाट सुन १२ तोला १२.७ लाल, चाँदी नौ तोला ५९.४ लाल, सामन्तबाट सुन ३८ तोला पाँच लाल, चाँदी ३० तोला ११ लाल, दिण्डाबाट सुन दुई सय १० तोला ८९ लाल, वरबाट सुन ८६ तोला ८७.१ लाल र चाँदी ३१.५ लाल, सामन्तबाट सुन २४ तोला १५ लाल, भोमिकबाट सुन पाँच तोला ४६.९ लाल, पवारबाट सुन दुई तोला ५० लाल, चाँदी ९३ तोला ६१ लाल, माझीबाट सुन ८८ तोला ३१ लाल र नगद एक लाख ८५ हजार रुपैयाँ तथा सन्जय ढावबाट सुन १३ तोला ५८ लाल, चाँदी चार तोला २३ लाल र नगद एक लाख ६९ हजार रुपैयाँ बरामद भएको कास्की प्रहरीले बताएको छ।
बरामद भएको पाँच सय ४९ तोला ४० लाल अर्थात् छ किलो चार सय ग्राम सुनको सुनको कुल मूल्य ११ करोड पाँच लाख ४४ हजार सात सय रुपैयाँ, चार सय ४४ तोला ७३.९ लाल चाँदीको कुल मूल्य १० लाख ४४ हजार ६८ रुपैयाँ उक्त दिनको मूल्यूसचि अनुसार हुन आउँछ। उनीहरूको साथबाट कुल पाँच लाख १४ हजार छ सय ६५ रुपैयाँ बरामद भएको छ।
पक्राउ परेका ११ जनालाई नै उक्त सामान सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी उपरीक्षक ओलियाले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive