पर्वत : ‘जेनजी’ समूहले गरेको प्रदर्शनको क्रममा कमजोर अवस्थाको फाइदा उठाउँदै पर्वत कारागारबाट फरार रहेका १९ जना कैदी बन्दीहरूमध्ये आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार गत भदौ २४ साँझको समयमा भागेका उनीहरूलाई फरक–फरक स्थानहरूबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूमा जबरजस्ती करणीका मुद्दाका तीन जना, सहकारी ठगी मुद्दाका दुई जना र चोरी मुद्दाका तीन जना रहेका छन् । देशमा आइपरेको सुरक्षा चुनौतीको फाइदा उठाउँदै कारागारबाट भागेकाहरूको खोजी तीव्र रूपमा भइरहेको तथा कारागारबाट उनीहरूलाई भगाउन बाहिरबाट सहयोग गरेका व्यक्तिहरूको समेत खोजी भइरहेको डि.एस.पी विष्टले बताए ।
हालसम्म पक्राउ परेका आठ जनालाई पुनः जिल्ला कारागार पर्वत चलान गरिएको र बाँकी रहेका ११ जनाको पनि प्रहरीले विभिन्न तरिकाबाट खोजी गरिरहेको उनको भनाइ छ । पर्वत प्रहरीले बाँकी रहेका ११ जना कैदी बन्दीहरूलाई समयमै सम्पर्कमा आएर आफ्नो इमानदार व्यवहार देखाउन अनुरोध गरिरहेको छ । प्रदर्शन भएको दिनको अवस्थाको फाइदा उठाउँदै कसैको सहयोगमा वा आफैले पनि कारागारबाट भागेकोमा अब स्वैच्छिक रूपमा जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी चौकीमा सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो ।
देशमा विकसित भएको असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारबाट फरार रहेकालाई स्वैच्छिक रूपमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । तर प्रहरीको अनुरोधलाई अस्वीकार गरी आफू भागेको कुरा नै सत्य हो भन्ठानेर वा लुक्न सकिन्छ भन्ठानेर लुकिरहेको भएमा त्यो गलत हुने प्रहरीले बताएको छ । स्वेच्छिक रूपमा प्रहरीको सम्पर्कमा नआएमा आवश्यकताको आधारमा बल प्रयोग गरी नियन्त्रण लिइने समेत पर्वत प्रहरीले चेतावनी दिएको छ । कारागारबाट भागेकाहरूको मनमा आफूले गरेको विगतको गल्ती र वर्तमानमा कैदबाट भागेको कुरामा पश्चात्ताप नभई झनै ‘बहादुरीको काम गरेको’ जस्तो अनुभूति देखिँदा समाज असुरक्षित बन्न सक्ने डि.एस.पी विष्ट बताउँछन् ।
कारागारबाट फरार रहेकाहरूको खोज्ने गस्तीमा जाँदा पक्राउ गरिएका व्यक्तिहरूमा कारागार तोडेर आएको भन्दै उच्च मनोबलका साथ प्रस्तुत भएको पाइएको उनको अनुभव छ । उनीहरूको आपराधिक मनोवृत्ति अझै पनि उच्च रहेको आफूले नमुनाका रूपमा पाएको डि.एस.पी विष्टले बताए ।
पर्वतबाट फरार भएका १९ जनामध्ये ८ कैदी बन्दी कारागार फर्काइए
भदौ २९, २०८२




