पर्वत : निषेधाज्ञा तथा अन्य अराजक गतिबिधिहरुको जोखिमका कारण बन्द अवस्थामा रहेका शैक्षिक संस्थाहरु आइतबारदेखि सञ्चालनमा आएका छन् ।
जिल्लाका सात वटै स्थानीय तहहरुले सुरक्षाका कारण विद्यालय बन्द गरेर बस्नुपरेको अवस्था रहेको थियो । दसैँ बिदा सुरु हुनुपूर्व कतिपय विद्यालयहरुले त्रैमासिक परीक्षाहरु सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको भए पनि ती सबै स्थगित गरिएका थिए । अवस्था र जनजीवीका सामान्य बन्दै गएपछि अब नियमित रुपमा विद्यालय सञ्चालनको तयारी गरिएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले बताउनुभयो ।
प्रदर्शन, भौतिक सम्पत्तिमा भएको आगजनी तथा तोडफोडका कारण बालबालिकाहरुको अध्ययन मानसिकतामा प्रभाव परेको भए पनि अब बिस्तारै उनीहरु मानसिकता पनि अध्ययनका लागिथ तयार भएको छ । निषेधाज्ञाको अवधिमा सुरक्षित रहनको लागि बजार छाडेर गाउँ गाउँमा पुगेका अभिभावकहरु विद्यार्थी सहित बजार फर्किने क्रम सुरु भएसँगै बजारक्षेत्र चलायमान देखिँदै गएको छ ।
यसैबीच, गएको केही दिनदेखि अवरुद्ध अवस्थामा रहेका मोदी गाउँपालिकाको कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा सम्पूर्ण शैक्षिक संस्थाहरूबाट प्रदान गरिने सेवा तथा पठनपाठन आइतबारदेखि सञ्चालनमा आएका छन् ।
गाउँपालिकाले जारी सूचनामा उल्लेख गरे अनुसार सेवा तथा पठनपाठन सुचारु गर्न सुरक्षित, शान्त र भयरहित वातावरण निर्माण गर्न सबै राजनीतिक दल, समाजका भद्रभलादमी, संघसंस्था तथा सम्पूर्ण मोदीवासी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा सहकार्यको अपिल गरिएको छ । देशभर विभिन्न स्थानमा भएका हालैका आन्दोलन र त्यसक्रममा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै मोदी गाउँपालिकाले रोकिएको सेवा तथा पठनपाठन समेत सुचारु गरेको छ ।
गाउँपालिकाले राष्ट्रको विषम परिस्थितिमा उच्च मनोबलका साथ नागरिक सेवामा निरन्तर समर्पित हुने प्रतिबद्धता जनाउँदै, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा एकताबद्ध सहयोगको आह्वान पनि गरेको छ ।
आइतबार सञ्चालनमा आए पर्वतका शैक्षिक संस्थाहरु
भदौ २९, २०८२




