मङ्ल, अशोज २१, २०८२
Tue, October 7, 2025

दसैँ बिदा र प्रतिकूल मौसम सकिएपछि खुले पर्वतका सरकारी कार्यालय

अशोज २१, २०८२
पर्वत : लामो दसैँ बिदा र त्यसपछिको मौसमजन्य असहज परिस्थितिपछि पर्वत जिल्लाका सबै सरकारी कार्यालयहरू, स्थानीय तह, वडा कार्यालयहरू तथा अधिकांश विद्यालयहरू मङ्गलवारदेखि पुनः सञ्चालनमा आएका छन् ।
दसैँको अष्टमी तिथिबाट सुरु भएको बिदा सोमबारसम्म लम्बिँदा जिल्लाभरिका सार्वजनिक सेवा तथा शैक्षिक गतिविधिहरू स्थगित भएका थिए । अब भने जनजीवन फेरि नियमित लयमा फर्किन थालेको छ । दसैँ बिदापछि देशभरको मौसममा आएको खराबीका कारण सङ्घीय गृह मन्त्रालयले असोज १७ र १८ गते दुई दिनका लागि आकस्मिक सार्वजनिक बिदा घोषणा गरेको थियो । लगातारको वर्षा र पहिरोको जोखिमका कारण जनसुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको थियो ।
तर पर्वत जिल्लामा भने मौसमले खासै असर नपारेकाले सरकारले असोज १८ गतेको बिदा फिर्ता लिएको थियो । यद्यपि, गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा बिदा दिँदै आएको परम्परा अनुरूप सोमबारसम्म कार्यालयहरू बन्द नै रहेका थिए । पर्वत सदरमुकाम कुश्मासहित फलेवास, जलजला, बिहादी, मोदी लगायतका स्थानीय तहका कार्यालयहरू मङ्गलवारबाट पुनः सेवा प्रवाहमा फर्किएका छन् । सेवाग्राहीहरू बिहानैदेखि विभिन्न कार्यालयहरूमा सेवा लिन पुगेका दृश्य देखिन्थ्यो । नागरिकता, लालपुर्जा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता, शिक्षा तथा कृषि सेवा लिन आउनेको चाप उल्लेखनीय देखिएको छ ।
जिल्लाभरका सामुदायिक विद्यालयहरू पनि क्रमशः सञ्चालनमा आउन थालेका छन् । केही विद्यालयले सोमबारदेखि कक्षा सञ्चालन गरिरहेका छन् भने कतिपय विद्यालयले असोज २१ गते पूर्णिमा तिथि मानी बुधवारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेका छन् । विद्यार्थीहरू बिदापछि विद्यालय फर्किन आतुर देखिएका छन् भने शिक्षण कार्यलाई व्यवस्थित गर्न शिक्षकहरू तयारी अवस्थामा छन् । त्यस्तै, यातायात, व्यापार व्यवसाय, बजार क्षेत्र लगायतका क्षेत्रमा पनि चहलपहल बढ्न थालेको छ ।
व्यापारिक प्रतिष्ठानहरू खुल्न थालेका छन् भने किसानहरू पनि बालीको व्यवस्थापन र आगामी तिहार पर्वको तयारीमा जुटेका छन् । दसैँ र कोजाग्रत पूर्णिमाको लामो बिदापछि पर्वत जिल्लाको जनजीवन पुनः नियमित बन्दै गएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive