पर्वत : बाँदरले अनौठा अनौठा क्रियाकलाप गर्ने गरेको त हामीले देखेका नै छौँ। कतिपय क्रियाकलापहरू रमाइला लाग्ने खालका भए पनि कतिपय भने निकै कष्टप्रद हुने गरेका छन्। केही वर्ष अगाडि पर्वतको मुडिकुवामा खाना सहितको ‘प्रेसर कुकुर’ नै रुखमा बोकेर गएको चर्चा सेलाएको छैन।
ग्रामीण क्षेत्रमा बढिरहेको बसाइसराईँले बस्तीहरू रित्तिँदै जाँदा बाँदरसहितका वन्यजन्तुको प्रभाव बढ्दै गइरहेको छ। त्यसैले पनि वन्यजन्तुका विभिन्न हर्कतहरु बढी देखिन थालेका छन्।
तर पर्वत सदरमुकाम कुश्मामा भने ग्रामीण क्षेत्रमा नभएर मुख्य बजारको एक छेउको भागबाट नै बाँदरले एक जना विदेशी नागरिक सहित एक जना नेपालीको राहदानी नै बेपत्ता पारिदिएको छ। कुश्मा नगरपालिका–५ स्थित आदर्श अङ्ग्रेजी माध्यमिक विद्यालयको नजिकै रहेको अग्लो भीर र खोँच रहेको स्थानमा पक्की सडकमा रोकिएको गाडीको छतबाट ‘राहदानी’ सहितको झोला नै बाँदरले बेपत्ता पारिदिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार गत शनिवार अपराह्न करिब तीन बजेको समयमा उक्त घटना भएको हो। कुश्मा नगरपालिका–५ बन्जी साइड हुँदै हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने गरी बा.प्र.०१००६ ख ८१८१ नम्बरको सवारी ‘रिजर्भ’ मा आएको थियो। मुस्ताङ जाने बाटैमा पर्ने पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको ‘बन्जी जम्प’ र ‘जिपलाइन’ को अवलोकनका लागि गाडी उक्त स्थानमा पुगेको थियो।
उक्त सवारीमा नेपाली तथा अस्ट्रेलियन नागरिकहरू सवार थिए। उनीहरूमध्ये चितवनको भरतपुर महानगरपालिका–४ की ३३ वर्षिया दिव्या कार्की र अस्ट्रेलियन नागरिक म्याथ्यू अडाम वाल्मसले को राहदानी सहितका कागजातहरू राखिएको झोला नै सवारीको छतबाट बाँदरले लगेर बेपत्ता बनाएको हो। ‘पार्किङ’ मा रहेको सवारीको छतबाट कागजात सहितको झोला नै बेपत्ता पारिदिएपछि पर्यटकहरु समस्यामा परेका छन्।
बाँदरले लगेको झोला खोज्नका भेट्टाउनको लागि शनिवार नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाँदर भागेतिरको भीरमा खोजी गरेको भए पनि फेला पार्न सकिएको छैन। बाँदरले झोला लगेको स्थान कालीगण्डकी नदी किनारको अग्लो भीर भएकोले त्यो भिरमा पुगेर खोज्न मुस्किल छ। तर भीरबाट खसेको झोला कालीगण्डकी नदीको किनारसम्मको समथर भागमा झरेको भएमा भने भेटिन सक्ने छ।