सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

विदेशमा बस्ने नेपालीका लागि ‘राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल’ गठन

मंसिर १, २०८२
पर्वत : राजनीतिक अस्थिरता, आर्थिक सुस्तता, बेरोजगारी, भ्रष्टाचार, वैदेशिक रोजगारको निरन्तर बढ्दो निर्भरता, र राज्यका संयन्त्रप्रति जनविश्वास घट्दै गएको वर्तमान परिस्थितिमा ‘राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल’ निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता हुँदै नयाँ राजनीतिक विकल्पको रूपमा उदाएको छ ।
देशको अर्थतन्त्र ध्वस्तजस्तै बनेको, उद्योग–व्यापार ठप्प भएको, युवा जनशक्ति तीव्र गतिमा बिदेसिन बाध्य भएको र ८०  लाखभन्दा बढी नेपालीहरू परदेशमा रहँदा पनि मातृभूमिबाट टाढा निष्प्रभावी बन्नुपरेको पृष्ठभूमिमा विदेशी नेपालीहरूको आवाजलाई केन्द्रमा राख्ने उद्देश्यसहित पार्टी दर्ता गरिएको हो । देशको वर्तमान अवस्था चुनौती पछाडिबाट चुनौती नेपाल अहिले विभिन्न आयामबाट गम्भीर चुनौती बोकेको छ ।
अर्थतन्त्र कमजोर छ, वैदेशिक मुद्रामा चरम निर्भरता छ । बेरोजगारी र श्रम पलायन ऐतिहासिक रूपमा सबैभन्दा धेरै छ । मूल्यवृद्धि, भ्रष्टाचार, सुशासनको सङ्कट, बढ्दो निराशा र युवाहरूको राज्यप्रति विश्वासको कमी महामारीजस्तै फैलिएको छ । शिक्षित युवाहरू समेत नेपालमा भविष्य नदेखेर बिदेसिन बाध्य छन् ।
सामाजिक विभाजन, राजनीतिक वैमनस्य, र राष्ट्रिय हितमाथि पार्टीगत स्वार्थको प्रभुत्वले मुलुक अघि बढ्न सकेको छैन । यस्तै परिस्थितिमा विदेशमा रहेका लाखौँ नेपालीहरूको अनुभव, सीप, पुँजी, अन्तर्राष्ट्रिय, जीवन–सङ्घर्ष र राष्ट्रप्रतिको भावनालाई सङ्गठित राजनीतिक धारामा परिचालन गर्नुपर्ने अत्यावश्यक आवश्यकता महसुस हुँदै आएको थियो । यही पृष्ठभूमिमा राष्ट्रिय जनसमृद्धि पार्टी नेपाल दर्ता गरिएको पार्टीका अध्यक्ष मङ्गल लामा बताउँछन् । “देश भत्केको छ, अब पुनर्निर्माणका लागि नयाँ राजनीतिक संस्कार चाहिन्छ” अध्यक्ष लामाले दर्तापछिको सन्देशमा भने, “आज देशमा निराशा र अन्योलताको अवस्था छ । नेताहरूको चक्रपथ अन्तहीन छ, तर देश बन्धक जस्तै बनेको छ । ८० लाखभन्दा बढी नेपालीहरू देश–विदेशमा पसिना बगाइरहेका छन् तर उनीहरूको आवाज सत्ता र नीति–निर्मातासम्म पुग्दैन । हाम्रा नागरिकले आफ्नै मातृभूमिमा सम्मानजनक भविष्य खोज्न नपाउने अवस्था बद्लिनै पर्छ । यसका लागि नयाँ राजनीतिक संस्कार, पारदर्शिता, सुशासन, र कार्यकुशल नेतृत्वको आवश्यकता छ । यही दृष्टिकोणबाट हामी अघि बढिरहेका छौँ ।”
अध्यक्ष लामाले वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भोगिरहेका अन्याय, दुर्घटना, शोषण, मृतकको क्षतिपूर्तिदेखि कल्याणकारी सुरक्षा नीतिसम्म राज्यले गम्भीर रूपमा सम्बोधन गर्न नसकेको भन्दै पार्टीले विदेशी नेपाली अधिकार, सुरक्षित श्रम, पुनः एकीकरण, सीप–पुँजी उत्पादनमा लगानी जस्ता विषयहरूलाई प्रमुख प्राथमिकतामा राखेको बताए । नयाँ पार्टीको मुख्य एजेन्डा विदेशमा रहेका नेपालीको अधिकार सुरक्षा र सम्मानजनक श्रम, सीप र पुँजीलाई नयाँ नेपाल निर्माणमा अभिमुखीकरण, भ्रष्टाचारमुक्त शासन र पारदर्शी प्रशासन, शिक्षामा गुणस्तर, स्वास्थ्यमा पहुँच, कृषि र उद्योगमा पुनरुत्थान, स्थानीय तहदेखि केन्द्रसम्म कार्यकुशल नेतृत्व विकास, युवालाई स्वदेशमै रोजगारी सिर्जना, संविधान र लोकतन्त्रलाई सुदृढ गर्दै राष्ट्रिय हित पहिला भन्ने सिद्धान्त छ ।
वैदेशिक नेपालीको शक्ति राजनीतिक नेतृत्वमा देश सङ्कटको मोडमा उभिएको बेला असी लाख नेपालीको प्रतिनिधित्व गर्ने नयाँ राजनीतिक संरचना बन्नु मुलुकको सकारात्मक सङ्केतको रूपमा हेरिएको छ । विदेशमा पसिना बगाउनेहरूको आवाज, पीडा र सपना अब नीति निर्माणमा प्रभावकारी रूपमा समेटिएर नेपालको राष्ट्रिय पुनर्निर्माण अभियानमा शक्ति बनेर उदाउने आशा गरिएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive