पर्वत : नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मको आयोजनामा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
आइतबार कुश्मामा रहेको आदर्श आवासीय माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा कालीगण्डकी एकेडेमी कुश्माकी विनिशा तिवारी प्रथम, नवजागृत माध्यमिक विद्यालय तिलाहारकी करुणा लामिछाने द्वितीय तथा नारायण माध्यमिक विद्यालय कुश्माका सन्तोष पौडेल र आइबल एकेडेमी कटुवाचौपारीकी दीक्षा लामिछाने तृतीय भएका छन् ।
उनीहरूलाई पुरस्कार स्वरूप प्रमाणपत्र, डायरी, पेन, मायाको चिनो प्रदान गरिएको छ । एक विद्यालयबाट कक्षा ९ र १० मा अध्ययनरतमध्ये दुई जना विद्यार्थीहरू सहभागी हुने गरी प्रतियोगिताको आयोजना भएको थियो । प्रतियोगिताका लागि पृथ्वीनारायण शाह, राष्ट्रिय गौरव र इतिहास, विविधतामा एकता, वीरता र एकताको प्रतीक, युवाहरू र राष्ट्रिय एकता तथा भाषा, सङ्गीत, संस्कृति र इतिहास शीर्षक निर्धारण गरिएको थियो । विद्यार्थीहरूले उक्त शीर्षकहरूमध्ये आफूलाई मन परेको कुनै एक शीर्षकमा रचना गरेको कविता प्रतियोगितामा वाचन गरिएको थियो ।
प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरूलाई नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले नेपाली सेनाले जनतासँग जोडिएर हरेक क्रियाकलापहरू गर्ने कार्यक्रमहरू अनुसार नै यो कार्यक्रमको आयोजना गरिएको बताए । सैनिक समुदायसँगै रहेको भन्दै उनले सेनाले गरेको कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा थोरै भए पनि बल पुग्ने विश्वास व्यक्त गरे ।




