पर्वत : मिलन फाउन्डेसन नेपालका संरक्षक एवं सामाजिक अभियन्ता दुर्गा गुरुङ ‘मिलन’ को जन्मोत्सवको अवसरमा मोदी गाउँपालिकाको बाजुङमा कृषि तथा पशुपक्षी प्रदर्शनी तथा पुरस्कार वितरण गरिएको छ ।
हाल हङकङमा रहेर पनि गृह जिल्ला पर्वत सहित देशका विभिन्न जिल्लामा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको गुरुङको ५९ औँ जन्मदिनको अवसरमा मोदी गाउँपालिका–५ बाजुङमा कार्यक्रमको आयोजना गरिएको हो । आफ्नो जन्मदिनमा समेत केही न केही सामाजिक कामहरू गर्दै आएका गुरुङले विगतको जस्तै यस वर्ष पनि कृषकहरूलाई नै प्राथमिकतामा राखेर कृषि तथा पशुपक्षी मेला सहित उत्कृष्ट काम गरेकाहरूलाई सम्मान गरेका हुन् ।
समाजसेवी गुरुङ हङकङमा नै रहेकोले उनको उपस्थिति हुन नसके पनि बाजुङका वडाध्यक्ष मान बहादुर अधिकारी, फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङ तथा संस्थाका पदाधिकारी र सदस्यहरू, समाजसेवी, स्थानीयबासीहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । ‘सेवा नै मानव धर्म हो’ भन्ने मूल उद्घोषका साथ स्थापना भएको संस्था मिलन फाउन्डेसनले मोदी गाउँपालिका–५ बाजुङमा रहेका संस्थागत तथा व्यक्तिगत कृषि फर्म साथै पशुपक्षी अन्तर्गतका फर्महरूलाई प्रोत्साहन तथा प्रवर्धनका लागि कृषि तथा पशुपन्छी मेला २०८२ आयोजना गरेको हो ।
कृषि प्रदर्शनी मेलामा कुल २४ ओटा समूह तथा फार्महरूले प्रतिस्पर्धा गरेकोमा खँदराका कृष्ण बहादुर चापागाईँले सञ्चालन गर्दै आएको चापागाईँ कृषि तथा पशुपक्षी फार्म प्रथम भएको छ । यस्तै अम्बोटका कृष्णबहादुर सुवेदीले सञ्चालन गर्दै आएको कृष्ण एकीकृत कृषि फार्म दोस्रो, सेलुकीकी मिनादेवी दर्जीले सञ्चालन गर्दै आएको आधुनिक बाख्रा फार्म तेस्रो तथा कार्यक्रमका आयोजक दुर्गा बहादुर गुरुङले फलाल्नेमा सञ्चालन गर्दै आएको मिलन किवी फार्म सान्त्वना बनेका छन् । मेलामा विजेता बन्नुभएका कृषकहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको फाउन्डेसनकी कार्यवाहक अध्यक्ष देवी गुरुङले बताइन् ।
सहभागी फर्महरुलाई समेत सहभागिताको प्रोत्सहान स्वरुप प्रति फार्म दुई हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ । आफ्नो जन्मदिनको अवसर मात्रै नभएर हरेक पटक गाउँको कृषिका लागि आफूले केही न केही गर्दै आइरहेको बताउँदै समाजसेवी गुरुङले कृषि क्षेत्रबाट मात्रै ग्रामिण जनजीवन शसक्त हुने बताउनुभयो । कृषि पेसाबाट नै बलियो बनेको नेपालको लागि कृषिको विकल्प नभएकोले आफूले पनि फार्म समेत सञ्चालन गर्दै कृषिमा कर्ममा लागेकाहरुलाई प्रोत्सहान गर्दै आएको उनको भनाई छ ।





