पर्वत : नेकपा (एमाले) पर्वत जिल्ला कमिटीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि छनोट प्रक्रिया औपचारिक रूपमा सुरू गरेको छ ।
जिल्ला पार्टी कार्यालयले जारी गरेको सूचनामा आकांक्षा संकलनदेखि अन्तिम निर्वाचनसम्मका कार्यतालिका सार्वजनिक गर्दै सबै पार्टी सदस्यलाई निर्धारित मितिमा उपस्थित भई प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ । कार्यक्रमअनुसार मंसिर १० गते बिहान १०ः३० देखि दिउँसो १ः०० बजेसम्म आकांक्षा संकलन गरिनेछ । इच्छुक व्यक्तिले स्वयम् जिल्ला पार्टी कार्यालयमा उपस्थित भई आकांक्षा फाराम भर्नु र पेश गर्नु पर्नेछ । यसपछि मंसिर ११ गते सहजीकरणका लागि छुट्याइएको छ । जसमा आकांक्षीहरूबीच छलफल तथा समन्वय प्रक्रिया सञ्चालन हुनेछ ।
त्यसैगरी, मंसिर १२ गते बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म उम्मेदवारी दर्ता हुने छ । दर्ता प्रक्रियामा सहभागी हुने इच्छुकले तोकिएको समयमा कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ । यदि सहमतिमार्फत प्रतिनिधि छनोट हुन नसकेमा मंसिर १३ गते निर्वाचन मार्फत प्रतिनिधि चयन गरिने जिल्ला कमिटीले स्पष्ट पारेको छ ।
पार्टी महाधिवेशन नजिकिँदै गर्दा प्रतिनिधि छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न सबै तहका पार्टी सदस्यको सक्रिय सहभागिताको अपेक्षा गरिएको जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीले बताए ।
नेकपा (एमाले) पर्वतले ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट तालिका सार्वजनिक
मंसिर १०, २०८२




