पर्वत : आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पर्वतले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ।
उम्मेदवारी दर्ता आह्वानको बेलामा चार जना आकाङ्क्षीहरूले नाम दर्ता गराएकोमा अन्ततः नेपाली कांग्रेस पर्वतका निवर्तमान सभापति तथा हालका महासमिति सदस्य खिमप्रसाद भुसालको नाममा सहमति भएको हो। नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधि शर्माका अनुसार इच्छुक अन्य उम्मेदवारहरू तथा जिल्ला कार्यसमितिले चलाएको छलफलपछि भुसाललाई नै राष्ट्रिय सभा सदस्यको आधिकारिक उम्मेदवार बनाउने निर्णय भएको हो। निष्ठावान् नेताको छवि बनाएका भुसाल बिहादी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्।
उम्मेदवार बन्नको लागि फलेवास नगरपालिका–मुडिकुवाका कृष्ण शर्मा गौडेल, जलजला गाउँपालिका–८ का हरेम बहादुर खत्री र फलेवास नगरपालिका–११ का जित बहादुर सुनार ‘शेरबहादुर’ ले पनि उम्मेदवारी दर्ता गराएका थिए। सिफारिस भएका भुसालले लामो समयसम्म लाभको पदमा नरहेर पनि पर्वत कांग्रेसको राजनीतिलाई अगाडि बढाएको योगदान स्वरूप अन्य तीन नेताहरूले उम्मेदवारी फिर्ता गर्ने सहमति भएको हो।
‘पार्टीमा निकै लामो समयसम्म उहाँले गर्नुभएको सक्रिय कामको योगदानलाई सम्मान गर्दै अन्य नेताहरू पछि हट्ने निर्णय भयो’, सचिव शर्माले भने, ‘१० औँ, ११ औँ र १२ औँ अधिवेशनबाट निर्वाचित सचिवको रूपमा काम गर्नुभयो। १३ औँ मा सभापति बनेर १४ औँ मा महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो।’ शिक्षक पेसाबाट अवकाश दिएर राजनीतिमा होमिएका भुसालले तत्कालीन माओवादीको विद्रोह र सवारीको पहुँच नरहेको बेलामा समेत बिहादीबाट कुश्मा आउजाउ गरेर पार्टीको सङ्गठन विस्तारमा लागेकोले पनि भुसालको नाम एकल रूपमा सिफारिस गर्नका लागि बल पुगेको शर्मा बताउँछन्।
नेपाली कांग्रेस पर्वतमा प्रतिनिधि तथा राष्ट्रिय सभाको उम्मेदवार बन्न इच्छुकहरूको सङ्ख्या धेरै हुँदा पनि भुसालको नाम भने एकल रूपमा सिफारिस गरी पठाउन सक्नु खुसीको कुरा भएको नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले बताए। कार्यकर्ताहरूबाट हार्दिकता पाएका कारण पनि भुसालको नाममा सर्वपक्षीय सहमति जुरेको उनको भनाइ छ।
अब भुसालको नाम नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा सिफारिस हुने छ। गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका जिल्लाहरूबाट आएका नामहरूबाट एक सिट बराबर एक जना महिला समेत पर्ने गरी बढीमा तीन जनालाई छनोटका लागि केन्द्रीय कार्यसमितिमा सिफारिस गर्ने व्यवस्था रहेको सभापति जोशीले बताए।




