पर्वत : पर्वतको कुश्मा नगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गर्ने भएको छ ।
नगर कार्यपालिकाको कार्यालय, कुश्मा पर्वतद्वारा जारी सूचनाअनुसार शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा कुश्मा नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७५ अनुसार छात्रवृत्तिलाई व्यवस्थित गर्न परीक्षा सञ्चालन गर्न लागिएको हो । नगर शिक्षा समितिको गत वैशाख २ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८२ को एस.इ.ई उत्तीर्ण गरी व्यवस्थापन विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूमध्ये छात्रवृत्तिमा छनोटका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।
छनोट भएका विद्यार्थीहरूलाई सम्बन्धित विद्यालयमा सिफारिस गरिने जनाइएको छ । सूचनाअनुसार छात्रवृत्तिका लागि आवेदन दिने अन्तिम मिति २०८३ जेठ ५ गते कार्यालय समयसम्म तोकिएको छ । इच्छुक विद्यार्थीहरूले कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन बुझाउनुपर्नेछ । लिखित परीक्षाको मिति र समय भने पछि प्रकाशन गरिने नगरपालिकाले जनाएको छ ।
परीक्षामा कक्षा १० मा अध्ययन भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन विषयबाट प्रश्न सोधिनेछ । वस्तुगत प्रश्न ५० वटा रहने र पूर्णाङ्क १०० निर्धारण गरिएको सूचनामा उल्लेख छ । छात्रवृत्तिका लागि आवेदन दिँदा निवेदन, विपन्न, दलित, जनजाति वा अपाङ्गता सम्बन्धी सम्बन्धित निकायको सिफारिस पत्र तथा एस.इ.ई. को लब्धाङ्क पत्र र प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
कक्षा ११ मा छात्रवृत्ति पाउन कुश्मामा दरखास्त आह्वान
बैशाख ३१, २०८३




