पर्वत : नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ पर्वतले कुश्मा नगरपालिका–१ मालढुंगास्थित श्रमिक प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरेको छ ।
फर्निचर तथा फर्निसिङ व्यवसायीहरुको साझा छाता संस्थाका रुपमा संघ स्थापना भएको १२ औँ वर्षको अवसर पारेर उक्त सहयोग गरिएको संघले बताएको छ । विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुको लागि झोलासहित बिभिन्न सामग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुश्मा नगरपालिका–१ का वडाध्यक्ष खगराज पौडेलले नेपालको काठ कुहिएर खेर गइरहेको बेलामा पनि आयातित काठले बजार पाउनु दुःखद भएको बताउनुभयो । नेपालको बन ऐनका कारण खेर गइरहेको काठलाई सदुपयोग गर्न समस्या भइरहेको उहाँको भनाइ छ । संघले गरिब तथा श्रमिक परिवारका बालबालिकाहरु अध्ययनरत विद्यालयलाई छानेर सहयोग गरेकामा वडाध्यक्ष पौडेलले फर्निचर व्यवसायीहरुप्रति आभार पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष आशिष जोशीले व्यवसायीहरु आफ्नो कमाईलाई मात्रै ध्यानमा नराखेर कमाईको केही अंश सामाजिक सेवाको क्षेत्रमा पनि लगानी गरिरहेको बताए । विगतमा पनि बिभिन्न सामाजिक सेवाका कामहरु गरिरहेको भन्दै उहाँले समाजप्रतिको आफूहरुको दायित्वलाई कहिल्यै पनि नबिर्सिने उल्लेख गर्नुभयो । व्यवसायीहरुको सिधा सम्बन्ध नै समाज र हरेक व्यक्तिसँग हुने भएकोले सामाजिक काममा आफूहरुको ध्यान पुग्ने उहाँको भनाइ छ । आउँदा दिनमा पनि सहयोगलाई निरन्तरता दिने अध्यक्ष जोशीले बताउनुभएको छ ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष जोशीकै अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्याक्ष भीमबहादुर नेपालीले गर्नुभएको थियो । श्रमिक प्राथमिक विद्यालयकी प्रधानाध्यापक राधिकादेवी शर्मा सहित विद्यार्थी र अभिभावक तथा रेडियो शालिग्राम कुश्माका स्टेशन म्यानेजर गोविन्द अधिकारी लगायतको पनि उपस्थिति रहेको कार्यक्रमको सञ्चालन संघका सचिव बिनोद गदालले गर्नुभएको थियो ।
फर्निचर व्यवसायीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
साउन ८, २०८३




