पर्वत : देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पर्वतका युवाहरूले सदरमुकाम कुश्मामा धार्मिक सद्भाव र्याली निकालेका छन् ।
हालै सुनसरीको कप्तानगन्जमा मुस्लिम र हिन्दु समुदायबीच भएको विवादले उग्र रूप लिँदै पश्चिम तराईका जिल्लाहरूसम्म धार्मिक झडपको स्थिति सिर्जना भएको थियो । उक्त हिंसात्मक झडपमा गोली चल्दा तीन जनाको ज्यानसमेत गएको पृष्ठभूमिमा, मुलुकमा धार्मिक द्वन्द्व हुन नदिने र जातीय सद्भाव कायम राख्ने सन्देश दिन पर्वतका युवाहरू एकजुट भएका हुन् ।
शिवालय युवा विकास मञ्चको आयोजनामा निकालिएको उक्त संयुक्त र्यालीमा हिन्दु, बौद्ध, र मुस्लिम समुदायका विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरू, धार्मिक गुरुहरू तथा स्थानीय युवाहरूको बाक्लो उपस्थिति रहेको थियो । र्यालीले कुश्मा बजारको मुख्य–मुख्य सडक र शिवालय चोकको परिक्रमा गरेको थियो। र्यालीली सुरु हुनुअघि आयोजित कोणसभामा युवा व्यवसायी आर.सी. पौडेल र संविधान गिरीले आफ्ना भनाइहरू राखेका थिए । उनीहरुले जात र धर्मभन्दा माथि हामी नेपाली हौं, र त्योभन्दा पनि माथि हामी मानव हौं भन्ने कुरा बिर्षन नहुने बताए । जुनसुकै जात, धर्म वा समुदायका भए पनि समाजमा एक–आपसमा मिलेर बस्न उनीहरुले आह्वान गरे ।
उनीहरूले सुनसरीको कप्तानगन्ज लगायतका क्षेत्रमा भएका जातीय तथा धार्मिक हिंसाका घटनाहरू पूर्ण रूपमा गलत भएको ठहर गर्दै यस्ता समस्याको तत्काल समाधान गरी मुलुकभर पुनः जातीय र धार्मिक सद्भाव कायम गर्न सरकार र सम्पूर्ण नागरिक समाजसँग अपिल गरे ।
धार्मिक सद्भाव कायम राख्न पर्वतमा सद्भाव र्याली
साउन १६, २०८३




