बागलुङ : नेपाली कांग्रेसका युवा नेता, नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका पूर्व केन्द्रीय सदस्य विप्लव हमालले बागलुङमा सञ्चालित सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा आयोजित हस्ताक्षर अभियानमा सहभागी भई आफ्नो हस्ताक्षर गर्नुभएको छ।
नेपाली कांग्रेसभित्र स्वर्गीय नेता खुमबहादुर खड्का निकट मानिने हमाल पार्टीका संस्थापक नेता बी.पी. कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप, प्रजातान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता तथा राष्ट्रिय स्वाभिमानको विचारका पक्षधरका रूपमा परिचित हुनुहुन्छ।
हस्ताक्षर अभियानमा सहभागी हुँदै हमालले संविधानले प्रत्येक नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले अभिव्यक्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै राष्ट्रिय पहिचान, सनातन संस्कृतिको संरक्षण तथा राष्ट्रिय एकतासम्बन्धी विषयमा जनमत अभिव्यक्त हुनुपर्ने धारणा व्यक्त गर्नुभएको बताइएको छ।
बागलुङ कालिका भगवती मन्दिर परिसरबाट सुरु भएको उक्त हस्ताक्षर अभियानमा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, धार्मिक व्यक्तित्व तथा सर्वसाधारण नागरिकको उल्लेखनीय सहभागिता रहेको छ।
अभियानका संयोजक तथा तत्कालीन कालिका आदर्श गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च बलराम हमाल ठकुरीका अनुसार अभियान आगामी दिनमा पनि बागलुङसहित विभिन्न स्थानमा निरन्तर सञ्चालन गरिनेछ।
नेपाली कांग्रेसका सक्रिय युवा नेताका रूपमा परिचित विप्लव हमालको उक्त अभियानमा सहभागितालाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कांग्रेस पृष्ठभूमिका एक युवा नेताले सार्वजनिक रूपमा अभियानमा सहभागी भई हस्ताक्षर गरेपछि यसले स्थानीय स्तरमा थप राजनीतिक चर्चा र चासो पैदा गरेको छ।




