पर्वत : जीवन बीमा कम्पनी (एलआईसी) नेपाल कुश्मा शाखाकी नवनियुक्त शाखा प्रमुख प्रतिभा पौडेललाई स्वागत गरिएको छ । पर्वत सदरमुकाम कुश्मास्थित एलआईसी नेपालको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा पौडेललाई स्वागत गरिएको हो ।
एलआईसी नेपाल गण्डकी प्रदेशका प्रमुख सुरजप्रताप शाहको उपस्थितिमा सम्पन्न कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजर गोविन्द खड्का, वरिष्ठ अभिकर्ता नैनबहादुर क्षेत्री, एजेन्सी म्यानेजर गोविन्द अधिकारी, नवीन क्षेत्रीलगायत अभिकर्ता तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नवनियुक्त शाखा प्रमुख प्रतिभा पौडेलले उपस्थित अभिकर्ता तथा कर्मचारीहरूसँग परिचयात्मक भेटघाट गर्नुभएको थियो । सो अवसरमा उहाँले आफूले कुश्मा शाखाको नेतृत्व सम्हाल्दै नागरिकको घरदैलोमै पुगेर बीमाको महत्वबारे जानकारी गराउने, नयाँ सेवाग्राही थप्ने तथा बीमा अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको बताउनुभयो । अभिकर्ता तथा कर्मचारीसँगको सहकार्यलाई प्राथमिकतामा राखेर शाखालाई थप सेवामुखी र परिणाममुखी बनाउने उहाँको प्रतिबद्धता थियो ।
कार्यक्रममा बोल्दै एलआईसी नेपाल गण्डकी प्रदेशका प्रमुख सुरजप्रताप शाहले बीमाको पहुँच विस्तार गर्न शाखा नेतृत्व, अभिकर्ता र कर्मचारीबीचको समन्वय अपरिहार्य रहेको बताउनुभयो । उहाँले नयाँ नेतृत्वको आगमनसँगै कुश्मा शाखाले थप प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वरिष्ठ एजेन्सी म्यानेजर गोविन्द खड्काले कुश्मा शाखाले विगतदेखि नै उत्कृष्ट कार्यसम्पादन गर्दै आएको उल्लेख गर्दै नयाँ शाखा प्रमुख पौडेलको नेतृत्वमा शाखाले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभिकर्ताहरूलाई सक्रिय बनाएर बीमा सेवाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ अभिकर्ता नैनबहादुर क्षेत्रीले बीमा क्षेत्रमा सेवाग्राहीको विश्वास सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएको बताउँदै नयाँ शाखा प्रमुखसँग सहकार्य गर्दै शाखाको सुदृढीकरणमा लाग्ने बताउनुभयो ।
एजेन्सी म्यानेजर गोविन्द अधिकारीले बीमा नागरिकको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम भएकाले यसको महत्व जनस्तरसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो । उहाँले नयाँ नेतृत्वलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।
त्यस्तै, नवीन क्षेत्रीले शाखा प्रमुख पौडेलको आगमनले अभिकर्ता र कर्मचारीमा नयाँ ऊर्जा थपिएको बताउँदै शाखाको लक्ष्य प्राप्तिका लागि सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी अभिकर्ता तथा कर्मचारीहरूले नवनियुक्त शाखा प्रमुख पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बीमा सेवाको विस्तार र शाखाको उन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।




