सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

पाटेश्वरी टोल विकास संस्थाको औपचारिक उद्घाटन

पुस १०, २०७९

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा गठन भएको पाटेश्वरी टोल विकास संस्थाको औपचारिक उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष मोहदत्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कटुवाचौपारीका वडाध्यक्ष राम शर्मा लामिछानेले संस्थाको उदघाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले टोल सुधार समितिले काम गर्नुपर्ने क्षेत्रहरुको बारेमा जानकारी गराउँदै टोलको सुधार र विकासका लागि संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । कटुवाचौपारीमा क्षेत्रमा रहेका पाटेश्वरी, अलपेश्वर गुफा लगायतका क्षेत्रमा घुम्न जाने पर्यटकहरुसँग स्थानीयबासीले गर्नुपर्ने व्यवहारका बारेमा पनि उनले कुरा राखेका छन् । कार्यक्रममा वडा सदस्यद्धय प्रकाश श्रेष्ठ र शान्तिरले पनि आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा सहभागी भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी बरिष्ठ हवल्दार राजेन्द्र यागीले स्थानीयबासीले शान्ति, सुरक्षा कायम गर्नको लागि गर्नुपर्ने व्यवहारको बारेमा भनाई राखेका छन् । कुनै पनि टोल समृद्ध बन्नका लागि त्यहाँ बस्ने बासिन्दाहरु अनुशासित हुनुपर्ने तथा टोलमा स–साना कुराहरुमा झगडा र मनमुटाव गर्ने बानीको अन्त्य गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष महोदत्त शर्माले टोल सुधार संस्था गठन गर्ने ठूलो कुरा नभएको बताउँदै संस्थाले गर्ने क्रियाकलापहरु महत्वपूर्ण हुने बताए । संस्था आफैसँग आर्थिक र भौतिक क्षमता नहुने भएकाले वडा कार्यालयसँगको सहकार्यमा आफूहरु संस्थाको सक्रियताका लागि सदैव तयार रहने बताए ।

कार्यक्रममा संस्थाका पदाधिकारी तथा टोलवासीहरुले टोलको विकासका लागि सामूहिक प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ‘घर घरमा पाटेश्वरी, जागरुक किशोर किशोरी’ भन्ने नाराका साथ ‘टोलवासीहरूको आचरणमा परिवर्तन गरौँ’, ‘सीप सिकौँ, श्रम गरौँ, श्रममा निरन्तरता दिऔँ र वचत गर्ने वानीको विकास गरौँ’, ‘धुम्रपान, मद्यपान, लागू पदार्थ, जुवा तास नियन्त्रण गरौँ’, ‘टोलमा हुने झै झगडा, बाल विवाह, लैङ्गिक हिंसा नियन्त्रण गरौँ’, ‘आवश्यकताको पहिचान, प्राथमिकीकरण र विकासमा साझेदारी गरौँ’, ‘जुनसुकै निकायवाट संचालित योजनाका सम्वन्धमा के गर्ने ?कति गर्ने ? कस्तो गर्ने ? कहिले सम्म गर्ने ? प्रश्न गरौँ, उत्तर मागौँ’, र ‘ हाम्रो टोल सफा टोल, सुन्दर टोल, सभ्य टोल’ भन्ने कुरामा उनीहरु सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष बिना पौडेलले गरेकी थिइन ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive