पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ चुवामा बिहीबार साँझ दुई एक आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार पर्वत सदरमुकाम कुश्माबाट डिमुवाका लागि छुटेको ग १ ख ८४८६ नम्बरको बस र विपरीत दिशा डिमुवाबाट कुश्माका लागि छुटेको ध १ ख ८५ नम्बरको बस चुवाको ओडारेमा ठोक्किएका हुन्।
दुर्घटनामा परी ग १ ख ८४८६ नम्बरको बसका चालक पर्वतकै मोदी गाउँपालिका–२ पातिचौरका ४० वर्षीय टेक बहादुर क्षेत्री घाइते भएका छन्। उनको टाउकोमा बाहिरी चोट लाग्नुका साथै अवस्था गम्भीर रहेकाले राती नै थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ। सोही बसका सह चालक पातिचौरकै गैरथोकका ४१ वर्षीय अमृत नेपालीको पर्वत अस्पतालमा नै उपचार भइरहेको छ।
सोही बसमा सवार यात्रु पर्वतकै कुश्मा नगरपालिका–६ का २० वर्षीय सञ्जोग मगर, ध १ ख ८५ नम्बरको बसका चालक कुश्मा नगरपालिका–८ चुवाका २८ वर्षीय कुल बहादुर बि.क. र चुवाकै २७ वर्षीय विशाल दर्जी घाइते भएका छन्। उनीहरू तीनै जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ।
पर्वतको चुवामा बस ठोक्किँदा पाँच जना घाइते
चैत्र ३, २०७९




