पुस २४, २०८१
पर्वत : स्थानीय तहका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी स्थानीय तहले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कुश्मा नगरपालिकामा बिहीबारदेखि सुरु हुँदै छ ।
कुश्मा नगरपालिकाको तेस्रो संस्करणको यो प्रतियोगिता बडागाउँमा रहेको खेलमैदान तथा सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतको खेल मैदानमा आयोजना हुँदै छ । प्रतियोगिताको उद्घाटन बिहीबार बिहान ११ बजे हुने छ भने यो दिनमा नगरपालिकाभित्रका विद्यालयहरूमा बिदाको घोषणा गरिएको छ । चालु शैक्षिक सत्र २०८१ मा विद्यालयमा अध्ययनरत १८ वर्षसम्मका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, रिले, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याइभलिन थ्रो, कराँते र तेक्वान्दो विद्याभित्रका विभिन्न समूहमा प्रतिस्पर्धा हुँदै हुने छ ।
विभिन्न २७ प्रकारका खेलहरूमा छात्र र छात्रातर्फ गरेर कुल ५४ स्वर्ण, ५४ रजत र ५४ कांस्य पदकका लागि विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नुपर्ने छ । जुन विद्यालयले सबैभन्दा बढी स्वर्ण पदक जित्ने छ सोही विद्यालय विजेता बन्ने छ । प्रतियोगितामा सहभागिता जनाउन नगरपालिकाका २५ वटा विद्यालयहरूले नाम दर्ता गराएका छन् ।
चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिश रेकर्डअनुसार १८ वर्षभन्दा मुनिका छात्र÷छात्राहरू मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन् । कुश्मा नगरपालिकाले लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्ने विद्यालयलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा पहिलो संस्करणको रनिङ शिल्ड आयोजना गर्ने बेलामा भइसकेको छ ।
लगातार तीन पटक ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता जित्न सफल हुने विद्यालयले सधैँका लागि ‘शिल्ड’ समेत राख्न दिने कुश्माको निर्णय छ । पहिलो र दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालयले जितेकाले यस वर्षको तेस्रो संस्करण समेत जित्नै पर्ने दबाबमा नारायण मावि छ ।
प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, ६ रजत र ९ कांस्य गरी कुल २७ पदक जितेको उक्त विद्यालयले दोस्रो संस्करणमा २३ स्वर्ण, ७ रजत र ८ कांस्य गरी कुल ३८ पदक जितेको थियो । नगर शिक्षा शाखाका अनुसार प्रतियोगितामा प्रतिस्पर्धा गर्नको लागि विभिन्न २३ वटा विद्यालयहरूले आवेदन दर्ता गराएका छन् ।




