पर्वत : पर्वत मिलन क्लबले आफ्नो स्थापना दिवसको अवसरमा प्रदेश अस्पताल पर्वतका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
क्लब स्थापना भएको ३६ औँ वर्षको अवसर पारेर अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित स्वस्थ जीवनका लागि फलफूल वितरण गरिएको हो । क्लबका अध्यक्ष झलक बहादुर कार्कीको अध्यक्षता तथा प्रदेश अस्पताल कुश्माको व्यवस्थापन समिति अध्यक्ष शङ्कर गिरीको प्रमुख आतिथ्य, डाक्टर कुशल बरालको विशिष्ट उपस्थिति तथा पर्वत मिलन क्लबका पदाधिकारीहरू तथा सदस्य र अस्पतालका कर्मचरीहरुको सहभागितामा फलफूल वितरण गरिएको हो ।
सो अवसरमा अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभागमा भर्ना भएर स्वास्थ्य लाभ गरिरहेका बिरामीहरूलाई फलफूल र जुस वितरण गरिएको हो ।
कार्यक्रम पश्चात् क्लबका सम्पूर्ण सदस्यहरू सचिवालय भवनमा उपस्थित भई सदस्यताको प्रमाणपत्र वितरण गरिएको छ । क्लबका अध्यक्ष झलक बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी नयाँ साधारण सदस्य हरूलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको हो । सो कार्यक्रमको समापनपछि उपस्थित सम्पूर्ण सदस्यहरूले मोदीबेणी दिब्यधाममा पुगेर नृसिंह मन्दिर वरिपरि सरसफाइको कार्यक्रम सम्पन्न गरेका छन् ।




