पर्वत : सञ्चालनमा आएको ३५ वर्षपछि प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकहरूबाट सेवा प्रवाह सुरु गरेको छ ।
सरकारबाट १५ शय्या सञ्चालनको अनुमति भएको बेलामा समेत ६४ शय्याबाट सेवा प्रवाह गरिरहेको अस्पताल हालै मात्र गण्डकी प्रदेश सरकारको मन्त्री स्तरीय बैठकबाट ५० शय्या अस्पतालको रूपमा स्तरोन्नति भएको छ । तर स्तोरन्नती भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा दिन सुरु भएको हो ।
१५ शय्याको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थप गरेर ६४ शय्या अस्पतालको सेवा दिइरहेको अस्पतालले अब भने हाड जोर्नी, बाल रोग र स्त्री रोग विशेषज्ञबाट सेवा दिन सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए ।
अस्पतालको स्तोरन्नती भएकै कारण प्रदेश सरकारबाट दरबन्दी थप नभइसकेको अवस्था एक अस्पतालको आन्तरिक स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ सेवा दिन सुरु गरिएको उनले बताए । प्रदेश सरकारले अस्पतालको स्तरोन्नतिको निर्णय गरिसकेको अवस्थामा सोही अनुसारका जनशक्ति थप गर्नका लागि केही समय लाग्ने छ । तर अस्पतालले भने सेवाग्राहीहरूको मागलाई ध्यानमा राख्दै अस्पतालको स्रोतबाट समेत विशेषज्ञ नियुक्त गरेर सेवा दिन सुरु गरेको हो ।
अस्पतालमा रहेको पोषण कार्यक्रम अन्तर्गत अस्पतालको स्रोत समेतबाट बेहोर्ने गरी बाल रोग विशेषज्ञको रूपमा डा. प्रकाश गौतमले अब ओपिडीबाट सेवा दिने छन् । यस्तै हाड जोर्नी तथा नशा रोग विशेषज्ञको रूपमा डा. ढुण्डिराज पौडेलले सेवा दिने मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए । डा. पौडेलको दरबन्दी प्रदेश अस्पताल पर्वतमा नै रहेको भए पनि उनी अध्ययनका लागि गएका थिए । स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा डा. प्रियसा अधिकारी र एनेस्थेसियालोजिस्टको रूपमा डा. बालकृष्ण श्रेष्ठ छात्रवृत्तिमा आएसँगै अब अस्पतालले विस्तारित रूपमा विशेषज्ञ सेवा दिन सुरु गरेको हो । छात्रवृत्तिमा आएका चिकित्सकहरूले कम्तीमा पनि अबको दुई वर्ष सेवा गर्ने छन् ।
‘उहाँहरू सबै जना एम.डी सकेर विशेषज्ञ सेवा दिनका लागि यहाँ आइपुग्नुभएको छ । हामीले अहिलेसम्म प्रवाह गर्दै आएको सेवा झनै प्रभावकारी र विशेषज्ञबाट दिन सकिने भएको छ’, डा. बास्तोला भन्छन्, ‘यसरी विशेषज्ञ सेवा दिन सुरु गरेको यो नै पहिलो हो । अब महिलाको जटिल खालको शल्यक्रिया गर्नका लागि बेहोस बनाउने डक्टर हुनुहुन्न भनेर रोकिनुपर्ने अवस्था रहेन । क्रिटिकल केसमा पनि हामीले काम गर्न सक्ने भएका छौँ ।’
छात्रवृत्तिमा आएका चिकित्सकहरूको अवधि दुई वर्षको हुने बताउँदै उनले उनीहरू फर्किने अवस्था आएको बेलामा प्रदेश अस्पताल समेत स्तरोन्नति भएको अस्पतालका रूपमा जनशक्ति उपलब्ध गराउने उनले बताए । अब केही दिनमा नै गण्डकी प्रदेश सरकारले हाड जोर्नीको उपचारको लागि नयाँ उपकरण उपलब्ध गराउन लागेकोले पनि अब पर्वत सहित आसपासको क्षेत्रका बिरामीहरूलाई हाड जोर्नीका चिकित्सक खोज्दै पोखरा वा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने डा. बास्तोलाको भनाइ छ ।
सरकारबाट प्राप्त भएका र अस्पताल आफैले व्यवस्थापन गरेका गरी कुल एक सय १० जना जनशक्तिबाट सञ्चालनमा रहेको अस्पतालमा अब भने कम्तीमा पनि १४÷१५ जना विशेषज्ञ चिकित्सकहरू रहने अस्पतालका निवर्तमान अध्यक्ष शङ्कर गिरी बताउँछन् । केही वर्ष अगाडिसम्म दैनिक करिब ४०÷४५ जना बिरामीहरूलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब तीन सय भन्दा बढी बिरामीहरूलाई सेवा दिन सकिएको उनको भनाइ छ ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकका अनुसार गण्डकी प्रदेश सरकारले आफ्ना अस्पतालहरूको स्तर वृद्धिको काम गरिरहेको छ । सोही अनुसार १५ शय्या अनुमतिमा सञ्चालन गर्ने निर्णय भएको हो । अस्पताललाई अब ५० शय्या सञ्चालनको अनुमति दिएर सञ्चालन गर्ने गरी मन्त्री स्तरको निर्णय भएर संसदमा गएकोमा संसद्ले पनि सैद्धान्तिक सहमति दिइसकेको उनले बताए ।




