पर्वत : नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बन्दै गएको बेलामा पर्वतको जनजीवन पनि सामान्य बनेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले पछिल्ला केही दिनयता दैनिकजसो कर्फयू र निषेधाज्ञाको सूचना जारी गर्ने गरेकोमा त्यो क्रम समेत रोकिएको छ । बिहानदेखि बेलुकासम्म निषेधाज्ञा जारी गरेर सडकमा दुई जना भन्दा बढी भेला हुन नपाउने, बजारमा किनमेलका लागि पनि ठूलो समूहमा हिँड्न नपाउने लगायतका निर्णयले सर्वसाधारणहरुलाई घरमै बस्न बाध्य बनाएको थियो । कर्फयूका कारण पसलहरु समेत बन्द हुने गरेकोले बजार सुनसान बनेको थियो भने बजारभित्रै र ग्रामिण क्षेत्रबाट कुश्मा आउजाउ गर्ने सवारीहरु समेत बन्द भएका थिए । ग्रामिण क्षेत्रबाट कुश्मामा सवारीहरु नचल्दा व्यापार व्यवसायदेखि अन्य आर्थिक क्रियाकलापहरु पनि ठप्प बनेका थिए ।
शनिवार बजारमा केही चहलपहल बढेको छ भने पसलहरु पनि विक्स्तारै खुल्न थालेका छन् । निषेधाज्ञाको समयमा सडकमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिले नागरिकहरु घरमै बस्न बाध्य भएका थिए । देशले नयाँ प्रधानमन्त्री पाएसँगै अवस्थामा सुधार आएपछि प्रशासनले बजार, सडक र सिमानाहरुबाट सुरक्षाकर्मीहरुलाई बिस्तारै कम गर्दै लगेको छ ।
यससँगै, सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ ।
कर्फयू आदेशको अन्त्यपछि सामान्य बन्दै पर्वत सदरमुकाम
भदौ २८, २०८२




