मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

अस्पतालको वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई स्वास्थ्य सचेतना प्रदान

माघ १३, २०८२

पर्वत : पर्वत अस्पतालको ३६ औँ वार्षिकोत्सवको अवसरमा साताव्यापी रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । सोही कार्यक्रमअन्तर्गत सोमबार पर्वत सदरमुकाम कुश्मा बजारस्थित नारायण माध्यमिक विद्यालयमा मुख तथा दन्त रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालयका करिब पाँच सय जना विद्यार्थीलाई प्रदेश अस्पताल पर्वतकी डा. डिना कुँवरले मुख तथा दाँतमा रोग लाग्न नदिन अपनाउनुपर्ने उपायहरूको बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले दाँत नियमित ब्रस गर्ने सही तरिका, खानपानमा ध्यान दिनुपर्ने विषय, मुखको सरसफाइ, दन्त रोगका लक्षण तथा समयमै उपचारको महत्वबारे सैद्धान्तिक र प्रयोगात्मक दुवै रूपमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश अस्पताल पर्वतका व्यवस्थापन समिति अध्यक्ष याम परियार (शिव) ले अस्पतालले उपचारसँगै रोकथाम र सचेतनालाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । “विद्यार्थी अवस्था नै स्वास्थ्यप्रतिको सचेतना विकास गर्ने उपयुक्त समय हो । यस प्रकारका कार्यक्रमले दीर्घकालमा समाजलाई स्वस्थ बनाउन ठूलो योगदान पुर्‍याउँछ,” उहाँले भन्नुभयो ।

त्यसैगरी नारायण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद शर्माले अस्पताल र विद्यालयबीचको सहकार्य प्रशंसनीय रहेको बताउनुभयो । “विद्यार्थीको शैक्षिक विकाससँगै स्वास्थ्य विकास पनि उत्तिकै महत्वपूर्ण छ । यस्ता कार्यक्रमले विद्यार्थी मात्र होइन, उनीहरूमार्फत अभिभावक र समाजसमेत लाभान्वित हुन्छ,” उहाँले उल्लेख गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले प्रदेश अस्पताल पर्वतप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो । “बालबालिकाले आज सिकेका कुराले उनीहरूको जीवनभरको स्वास्थ्य व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनेछ,” उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक विनोद सुवेदी, अस्पतालका मेडिकल रेकर्डकर प्रकाश सुवेदी, कर्मचारी मिनराज के.सी. लगायतको सहभागिता रहेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई मुख तथा दन्त स्वास्थ्यप्रति सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive