पर्वत : आजभोलि सहर बजारदेखि गाउँ–बस्तीहरूसम्म चुनावी चहलपहल तीव्र रूपमा चलिरहेको छ । २०८४ सालमा हुने प्रतिनिधि सभाको निर्वाचन नवयुवा पुस्ताको २०८२ भदौ २३ र २४ गतेको आन्दोलनपछि २०८२ फाल्गुन २१ गते हुँदै छ ।
हरेक निर्वाचन नयाँ आशा, भरोसा र केही नयाँपनको सुरुवात हुने विश्वासका साथ अगाडि बढ्ने गर्छ । तर अर्कोतर्फ, चुनाव नजिकिँदै जाँदा धेरै नागरिकमा गहिरो निराशा पनि देखिन थालेको छ । यसरी निराशा फैलिनुका पछाडिका कारणहरूको खोजी गर्नु आजको आवश्यकता हो ।
मुलुकका अनेक राजनीतिक दलहरूले आफ्ना–आफ्ना चुनावी घोषणापत्रमा आम जनताको सर्वाङ्गीण विकासका सपना आकर्षक शब्दमा प्रस्तुत गर्ने गर्छन् । तर ती सपनाका विषयवस्तु व्यवहारमा कहिल्यै आम मानिसको पक्षमा काम गरेको देखिँदैन । अधिकांश कुरा कागजी घोषणामै सीमित हुने गरेको यथार्थ सबैका सामु छ । आजकल धेरै नागरिक कसैको भरोसा र आश्वासनभन्दा पनि “आफैँ केही गर्ने” सोचका साथ अघि बढ्न थालेका छन् । यही कारण २०८२ को निर्वाचनले उनीहरूमा खासै रौनक ल्याउन सकेको देखिँदैन ।
विगतका वर्षहरू सम्झँदा, सिंगापुर बन्ने दिवास्वप्न, रेल, पानीजहाज, घर–घरमा ग्याँस, किर्तिपुरको डाँडामा ल्यापटप चलाएर मासिक लाखौँको आम्दानी जस्ता सुविधा देशका नेतृत्वकर्ताहरूको मुखबाट बारम्बार सुनियो । चिल्ला सपना र मिठा आवाजको सङ्ग्रह बोकेर हिँड्ने पार्टीका नेताहरूको बोलीमा विश्वास गर्ने कि रङ्गिन घोषणा पत्रमा लेखिएका सपनामा विश्वास गरेर मतदान गर्ने भन्ने अन्योलमा आज आम नागरिक छन् ।
वास्तवमा, यी निर्वाचनहरूले नयाँ बिहानीको आशा दिलाउनुपर्ने थियो । तर त्यो आशा एकादेशको कथामा सीमित भयो । विगतका प्रतिनिधि सभा निर्वाचनहरूले ती नागरिकको जीवनमा कुनै सार्थक परिवर्तन ल्याउन सकेनन् — जसको बसोबासको ठेगान छैन, जसले बिहान खाए बेलुका खान नपाउने अवस्था भोगिरहेको छ, जो उपचार नपाएर ज्यान गुमाउन बाध्य छ, जसका सन्तानले विद्यालयको अनुहारसमेत देख्न पाएका छैनन् । उच्च शिक्षाको कुरा त परकै रह्यो । जाडो–गर्मी एउटै लुगामा सहेर जीवन गुजारा गर्ने ती नागरिकको जीवन जस्ताको तस्तै रह्यो ।
परिवर्तन देखियो भने केवल ती व्यक्तिहरूको जीवनमा देखियो, जो नेता र नेतृत्वको वरिपरि घुमिरहे। उनीहरूको उठबस, जीवनशैली र सम्पन्नताले आम सर्वसाधारणलाई परिवर्तनभन्दा बढी पीडा र व्यङ्ग्यको अनुभूति गरायो । यही कारण आम मानिसमा निर्वाचन र राजनीतिक दल तथा नेताप्रतिको विश्वास गम्भीर सङ्कटमा परेको छ । मतदान होला, नेताहरू विजयी पनि होलान्, तर प्रतिवाद र प्रतिस्पर्धा गर्ने क्षमता नभएका ती नागरिकको जीवन के सधैँ यस्तै रहने हो ? यो प्रश्न आज सबैले खोज्नुपर्ने विषय बनेको छ ।
अहिलेको चुनावी माहौल नयाँ र पुरानो धारबिचको सङ्घर्षका रूपमा देखिन्छ । एकातर्फ पुराना पार्टीका पुरानै नेताहरू छन् भने अर्कोतर्फ केही पुराना पार्टीभित्रकै युवा पुस्ताले परिवर्तनको आशा जगाउने प्रयास गरिरहेका छन् । साथै केही नयाँ पार्टीहरू पनि नयाँपन दिने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । तर विश्वासको वातावरण भने कसैले निर्माण गर्न सकेका छैनन् । पुराना होउन् वा नयाँ, सबै पार्टीमा सिद्धान्त, विधि र निष्ठाभन्दा व्यक्तिवादी सोच हाबी भएको देखिन्छ ।
यदि पार्टी, विधि, प्रक्रिया र सिद्धान्तलाई पहिलो प्राथमिकता दिइएको भए आज यस्ता प्रश्नहरू उठ्ने थिएनन् । यदि हरेक पार्टीको सिद्धान्तले सर्वसाधारणको जीवनमा काम गरेको भए प्रजातन्त्र र गणतन्त्रले ल्याएको संविधानले नागरिकको जीवन सहज र सरल बनाइसकेको हुने थियो । भोट माग्दा ढोग्न आउनेहरू भोट पाएपछि मुलुकलाई चुस्ने प्रवृत्तिमा लाग्ने थिएनन् । विडम्बना नै भन्नुपर्छ—कुनै पनि पार्टी वा नेताले आम नेपालीको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउन सकेनन् ।
आजभोलि बजार र ग्रामीण बस्तीहरूमा पार्टीका कार्यकर्ता उम्मेदवारको प्रशंसा गर्दै फुल बुट्टा भरेका सपना बाँडिरहेका छन् । यी सपना केही दिनका लागि मिठा लाग्लान्, तर ती सपनामा भुल्दा फेरि पुरानै दिन फर्किने निश्चित छ । त्यसैले अब आम नागरिकले सोच्नुपर्ने बेला आएको छ ।
प्रश्न सोध्नुपर्छ—विगतमा तपाईँ र तपाईँको पार्टीले निर्वाचन जित्दा अवस्था कस्तो थियो र निर्वाचित भएपछि के परिवर्तन आयो? कति मानिसको मानव विकास सूचकाङ्कमा सुधार भयो ? स्वास्थ्य, शिक्षा, रोजगारी, विदेश पलायन, भौतिक पूर्वाधारमा के कति प्रगति भयो ? आजको अवस्था तथ्याङ्कमा के देखिन्छ ? अब कति र कस्तो परिवर्तन ल्याउने स्पष्ट योजना छ ?
यी प्रश्नहरूको उत्तर पाएपछि मात्र मतदान गर्ने निर्णय गर्न सक्ने चेतनाको विकास आजको आवश्यकता हो ।




