बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026

पोखरामा सृजना हत्याकाण्डका थप दुई जना पक्राउ

बैशाख २, २०८३

पर्वत : पोखरामा खुँडा प्रहार गरी ४२ बर्षिया सृजना पौडेल के.सी.को हत्यामा संलग्न थप दुई जना अभियुक्तहरू पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पर्वतको कुश्मा नगरपालिका–११ पकुवा घर भई हाल पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा बस्दै आएका २४ बर्षिय वसन्त के.सी र पर्वतकै फलेवास नगरपालिका–९ भंगरा घर भई हाल पोखरा महानगरपालिका–१६ लामाचौरमा बस्दै आएका २७ बर्षिय नवराज पौडेल क्षेत्री पक्राउ परेका हुन्।
गत चैत २५ गते साँझ पोखरा महानगरपालिका–८ सभागृह चोक नजिक शिवालयचोकस्थित पृथ्वी चोक देखी सृजना चोक सडक खण्डमा अज्ञात व्यक्तिको खुँडा प्रहारबाट सृजनाको हत्या भएको थियो। पोखरा महानगरपालिका–५ जिरो किलोमिटर घर भई हाल पोखरा–१८ सेदी बस्दै आएकी के.सी.सडकमा हिँडिरहेको बेलामा उनीमाथि खुँडा प्रहार भएको थियो।
तत्कालै अनुसन्धान सुरु गरेको कास्की प्रहरीले दुई जना मुख्य प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरूको बयान तथा घटनाको सूक्ष्म अनुसन्धानका क्रममा घटनामा संलग्न थप दुई जना पक्राउ परेका हुन्। कास्की जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि पनि अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए।
कास्की प्रहरीले घटनाका मुख्य दुई अभियुक्तहरूमध्येका २७ बर्षिय शिशिर के.सी.लाई बुटवलबाट पक्राउ गरेर सार्वजनिक गरिसकेको छ। पर्वतको कुश्मा नगरपालिका–११ घर भएका उनी मृतकका सहोदर भान्जा हुन्। पक्राउ परेका अर्का व्यक्ति पोखराका ३२ बर्षिय कुशल परियार हुन्।
घटना हुँदाका दिन सृजना आफ्नो पसल बन्द गरेर पैदल यात्रा गरी घरतर्फ जाँदै गर्दा खुँडा प्रहार भएको थियो। अभियुक्तले दिउँसोदेखि नै निगरानी गरेर एकान्त र अँध्यारो ठाउँ रोजेर पछाडिबाट आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य कारण पारिवारिक झैझगडा र अंश मुद्दा रहेको खुलेको थियो। मृतक सिर्जनाले ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन्।
कृष्णका जेठी श्रीमतीतर्फका छोराछोरी र सृजनाबिच सम्पत्तिको विषयमा विवाद रहेको देखिएको कास्की प्रहरीले केही दिन अगाडि आयोजना गरेको पत्रकार सम्मेलनमा बताएको थियो।

वैशाख १, २०८३

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive