पर्वत : राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका–६ का आयोजनामा कुश्माको बगैँचा चोकस्थित शिवालय भण्डारी मिलन चौतारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाको समन्वयमा आयोजना भएको रक्तदान कार्यक्रममा विभिन्न समुदायका ३० जना व्यक्तिहरूले रक्तदान गरेका छन् । पर्वतमा रहेको प्रदेश अस्पताल सहित छिमेकी जिल्लाहरूमा पनि रगतको अभाव हुन नदिनको लागि सामाजिक कार्यका रूपमा रक्तदान गरिएको रास्वपा कुश्मा नगरपालिका–६ का सभापति बुद्धिबहादुर गुरुङले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्वत जिल्लाका सभापति जलबहादुर पुर्जा पुनले देशको समसामयिक प्रसङ्गलाई जोड्दै कोही एकको रगतले कोही अर्को व्यक्तिको जीवन बाँच्ने बताए । जाती, धर्म, लिङ्गको आधार वा अन्य कुनै पहिचानका रूपमा व्यक्तिलाई चिनिए पनि सबैभन्दा आधारभूतमा रूपमा मानवीय आँखाले हेर्न सक्नुपर्ने उनको भनाइ छ ।
यस्तै पर्वत रेडक्रसका सभापति रुद्रबहादुर रिमालले पर्वतमा सङ्कलन भएको रगतलाई आवश्यकताका आधारमा विभिन्न जिल्लाहरूमा समेत पठाइने गरेको बताए । पहिलो प्राथमिकता रेडक्रसमा रहेको रक्तसञ्चार केन्द्रमार्फत प्रदेश अस्पताल कुश्मामा आएका बिरामीहरूलाई रगतको आपूर्ति गर्ने रहे पनि माग भएको अवस्थामा छिमेकी जिल्लाहरूमा कसैको प्राण बचाउन पठाउने गरिएको उनको भनाइ छ ।
कार्यक्रममा रास्वपा जिल्ला उपसभापति शारदा शर्मा, सचिव रामेश्वर खनाल, रास्वपा कुश्मा नगरपालिकाका सभापति रमेश कुमार श्रेष्ठ, उपसभापति पार्वती लामिछाने, सचिव केशव लामिछाने, कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरी, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका वडाध्यक्ष झलकप्रसाद रिमाल, जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेल, पर्वत मिलन क्लबका अध्यक्ष झलक कार्की, स्थानीय युवा तथा विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।
रास्वपा कुश्मा नगरपालिका–६ का सभापति बुद्धि बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव शर्माले गरेका थिए ।




