पर्वत : मोदी खोलामा आएको बाढीका कारण कास्कीको अन्नपूर्णस्थित मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
बिहीबार राती करिब सवा दुई बजेको समयमा अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सिमानास्थित नयाँ पुल बीरेठाँटी जाने सडक खण्डको छेउमा मोदी खोलाको बिचमा रहेको माता अन्नपूर्ण मन्दिरमा उनीहरू फसेका थिए । कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटी मा.बि. को शिक्षक ३० वर्षीय रेवन्त प्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय भारतीय नागरिक ५२ वर्षीय निर्माण गिरीलाई सफलतापूर्वक उद्धार गरिएको हो । गिरी विगत ५ वर्षदेखि उक्त मन्दिरमा पुजारीको रूपमा कार्यरत रहेका छन् ।
मन्दिरमा आवतजावत गर्ने गरी पर्वत र कास्की जोड्ने दुई वटा मेटल पुल सहित मन्दिरको आधा भाग बगाई एक जना सन्त पुजारी र दुई जना भक्तजन गरी तीन जना मन्दिरमा फसेको खबर जिल्ला प्रहरी कार्यालय कास्कीमा प्राप्त भएको थियो । लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमान्डमा १३ जना तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा रोप रेस्क्यु तथा गोताखोर सहितको टोली घटनास्थलमा आइपुगेको थियो ।
राती साढे दुई बजेबाट नै सुरक्षाकर्मीहरू उद्धारमा खटिएकोमा बिहान सवा पाँच बजेबाट रोप रेस्क्यूद्धारा उनीहरूलाई कुशलतापूर्वक उद्धारको तयारी गरिएको थियो । डोरीको सहायताबाट खोला पारि गई डोरीको वेश बनाएर शुक्रवार बिहान उनीहरूको सकुशल उद्धार गरिएको हो ।
कास्की प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिकाको नयाँ पुल घान्द्रुक सडक खण्डको विभिन्न स्थानमा करिब चार सय मिटर सडक बाढीले बगाएको छ । उक्त सडक खण्ड अवरुद्ध रहनुका साथै नयाँपुलस्थित विद्युत पोल समेत बाढीले बगाएका कारण विद्युत सेवा समेत अवरुद्ध रहेको छ ।
मोदीको बाढीले मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
साउन २९, २०८३




