बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

दलित सशक्तीकरणका लागि आरन उद्यमीलाई आधुनिक आरन वितरण

साउन १५, २०७८

पर्वत : आरन पेसाले परिवार पाल्न मुस्किल हुनु तथा आरन चलाउँदै आएको दलित समुदायका युवाहरूले आरनको विकल्पमा अन्य पेसाहरू अँगाल्दै जान थालेका छन्। गाउँ गाउँमा रहेका आरनहरू लोप हुँदै जाँदा हतियारमा धार लगाउने थिए स्थानीय शैलीका भाँडाकुँडा निर्माणमा समस्या हुँदै गइरहेको छ।
तर आरनलाई व्यावसायिक र आधुनिक रूपमा चलाउने हो भने पुरानो पुस्ताले पनि आम्दानी गर्न सक्ने र परम्परा जोगिने भएका कारण जिल्लाको मोदी गाउँपालिकाले दलित समुदायका २४ जना आरन उद्यमीहरूलाई प्रतिव्यक्ति एक थानका दरले आधुनिक आरन अनुदानमा उपलब्ध गराएको छ।
दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत एउटैलाई १८ हजार ८ सय ४० रुपैयाँमा खरिद गरिएका कुल चार लाख ५२ हजार रुपैयाँ भन्दा बढीको लगानीमा ती आरनहरू बाँडिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले बताए। आठ वडा रहेको मोदीका सबै वडा समेटेर आरनहरू प्रदान गरिँदा यसले दलित सशक्तीकरणको लागि पनि एउटा इँटा थप्न सक्ने उनको भनाई छ।
‘परम्परावादी शैलीबाट काम गर्दा कुनै पनि काम छिटो हुँदैन, धेरै उत्पादन पनि निकाल्न सकिँदैन। अब आधुनिक उपकरणहरूको युग आएको बेलामा आरनलाई पनि आधुनिक बनाउन सके आरन सञ्चालन गर्दै आएका दलित समुदायको सशक्तीकरणमा टेवा पुग्छ।’ उनले भने, ‘प्रत्येक वडा समेटेर आरन दिइएका कारण प्रत्येक वडामा व्यावसायिक रूपमा भाँडाहरू बनाउनुहोस्, आम्दानी राम्रो गरेर आर्थिक अवस्थालाई केही माथि उठाउनुहोस् भनेर उहाँहरूलाई अनुदानमा आरन दिइएको हो।’
गाउँ ठाउँमा रहेका आरनहरू आधुनिक र व्यावसायिक नबन्दा अहिले पनि गाउँमै किन्नुपर्ने हतियार र भाँडा किन्नको लागि गाउँलेहरू बजार झर्नुपर्ने बाध्यता रहेको प्रशासकीय अधिकृत क्षेत्रीको भनाई छ। गाउँका आरनबाट उत्पादन हुने भाँडा, औजार र हतियारले गाउँलाई थेग्न सकेमा त्यसले आर्थिक समस्यामा रहेको दलित समुदायलाई राहत हुनुको साथै गाउँको पैसा गाउँमा नै थामिने अवस्था आउने क्षेत्री बताउँछन्।
‘बजारका भाँडा पुलमा तयारी भाँडा, औजार र हतियार किन्नेहरू कति देखिन्छन्। ती सामग्री पनि बजारमा यदाकदा बाहेक बन्दैनन्। बाहिरबाट आएका कारण व्यापारीको नाफा बाहेक अरू पैसा त बाहिर नै गयो’ उनले भने, ‘आधुनिक र व्यावसायिक रूपमा गर्ने हो भने जागिरको खोजीमा बजार पसेका तथा बिदेसिएका दलित समुदायका केही युवाले त गाउँमै रोजगारी पाउँछन्।’
धेरै ठाउँमा यो पेसा छोडिएको छ भने, बाँकी रहेकाहरू पनि विस्थापनको खतरामा छन्। जिल्लामा अझै पनि पाथी भने प्रचलनमा आधारित रहेर दलित समुदायको पाको पुस्ताले आरन चलाउँदै आएका छन्। वर्षभरि हतियारमा धार लगाएर वा भाँडा मर्मत गरेर केही पाथी अन्न र केही तरकारीमा चित्त बुझाउनुपर्दा परिवार धान्नै मुस्किल भएपछि आरन पेसा सङ्कटमा परेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive