पर्वत : कालीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित बनेका पर्वतको बिहादी गाउँपालिका–६ स्थित सेतीवेणी बजारका व्यवसायीलाई पर्वत उद्योग वाणिज्य संघले आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ ।
बाढीबाट घर तथा व्यवसायमा ठूलो क्षति व्यहोरेका व्यवसायीलाई तत्काल राहत प्रदान गरी पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संघले प्रभावित क्षेत्रमै पुगेर राहत उपलब्ध गराएको हो । संघका अध्यक्ष ठाकुर बी. पौडेलका अनुसार व्यवसायी कल्याणकारी कोषबाट सेतीवेणी बजारका आठ जना प्रभावित व्यवसायीलाई जनही १० हजार रुपैयाँका दरले कुल ८० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । त्यसैगरी प्रभावित परिवारलाई लक्षित गरी नौ थान सोलार सेटसमेत उपलब्ध गराइएको छ । बाढीबाट समस्यामा परेका स्थानीय बासिन्दा, विद्यालय तथा प्रहरी चौकीलाई समेत खाद्यान्न र अन्य राहत सामग्री प्रदान गरिएको अध्यक्ष पौडेलले बताए ।
संघले प्रभावित क्षेत्रका लागि चामल, चाउचाउ, राहत प्याकेजलगायतका सामग्री उपलब्ध गराएको हो । बाढीका कारण घरबार तथा व्यवसायमा ठूलो क्षति पुगेपछि दैनिक जीवनयापन र व्यवसाय पुनः सञ्चालन गर्न कठिनाइ भोगिरहेका स्थानीयलाई तत्काल राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको छ ।
गत असोज १० र ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थलमा अवस्थित सेतीवेणी बजारमा ठूलो क्षति पु¥याएको थियो। बाढीबाट बजार क्षेत्रमा करिब २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण छ । पर्वततर्फ नौवटा घर भत्किनुका साथै करिब ३० वटा व्यवसायमा क्षति पुगेको छ भने स्याङ्जातर्फ २० भन्दा बढी पसल तथा घर पूर्ण रूपमा बगाएको बताइएको छ । बाढीका कारण व्यवसायीले करोडौँ रुपैयाँ बराबरको सम्पत्ति गुमाउनुपरेको छ ।
बाढीले बजारको भौतिक संरचना र व्यवसायमा क्षति पु¥याएपछि सेतीवेणीको व्यापारिक गतिविधि प्रभावित बनेको छ । कुनै समय चहलपहल रहने बजार अहिले सुनसान बनेको छ । घर तथा पसलमा क्षति पुगेका व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन गर्न आवश्यक स्रोत जुटाउन कठिन भइरहेको अवस्थामा संघको सहयोगले तत्कालीन आवश्यकता पूरा गर्न केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि पनि पर्वत उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा जलजला गाउँपालिकाका बाढीपीडित परिवारलाई खाद्यान्न तथा अन्य राहत सामग्री वितरण गरिसकेको छ । बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएका प्रभावित बस्ती तथा प्रहरी चौकीलाई समेत सोलार बत्ती उपलब्ध गराइएको संघका वरिष्ठ उपाध्यक्ष कमलबहादुर जिसीले बताए । राहत वितरणका लागि उद्योग उपाध्यक्ष गणेश लामिछाने र बस्तुगत उपाध्यक्ष रमेश शर्मा लामिछाने पनि सेतीवेणी पुगेका थिए ।
सेतीवेणीका बाढीपीडित व्यवसायीलाई पर्वत उद्योग वाणिज्य संघद्धारा ८० हजार सहयोग
कार्तिक १३, २०८३




