पर्वत : कोभिड–१९ सङ्क्रमणको हिसाबले हिमाल पारीको जिल्ला मुस्ताङ अन्य जिल्लाको जस्तो जोखिममा त छैन। तर जिल्ला प्रहरी कार्यालय मुस्ताङले कोभिड विरुद्ध गरिरहेको अभियान अति उच्च जोखिममा रहेको जिल्लाको भन्दा पनि उच्च छ।

केही दिन अगाडिसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ४÷५ जनामा थिग्रिएको मुस्ताङमा अहिले त्यो सङ्ख्या बढेर ३२ मा पुगेको छ। नेपाल सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर नजिकै आएको भन्दै सावधानी अपनाउन भनिरहेको बेलामा मुस्ताङ प्रहरीको मिहिनेत गज्जब पनि कम्तीको छैन।

अन्य जिल्लाको अभ्यास हेर्दा प्रहरी बसेको ठाउँमा नागरिक आएमा प्रहरीले नियम अनुसार सम्झाउने, बुझाउने, सजाय गर्ने लगायतका काम गर्छ तर मुस्ताङ प्रहरीले भने जहाँ जहाँ नागरिक हुन्छन्, त्यहीँ त्यहीँ पुगेर मास्क वितरण गर्दै मास्क अभियानलाई अगाडि बढाएको छ।

जिल्ल प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार बिहीबार घरपझोङ गाउँपालिका–४ जोमसोमका करिब ६० घरमा प्रहरी पुगेर कोरोना सङ्क्रमणको बारेमा बुझाउँदै त्यहाँ रहेकाहरूलाई मास्कको प्रयोगका बारेमा जानकारी गराइएको छ। यसका लागि जहाँ मान्छे भेटिने सम्भावना हुन्छ ती क्षेत्रमा प्रहरी डुल्छ, मास्क लगाएको पाएमा धन्यवाद दिन्छ, नलगाएको भए त्यसको महत्त्वको बारेमा सिकाउँदै मास्क दिएर नियम पालना गर्न आग्रह गर्छ।
‘अन्य जिल्लाको जस्तो भयावह अवस्था यहाँ नभए पनि यहाँका नागरिक भने कोरोनासँग एकदमै एवेयर हुनुहुन्छ। हामी डुल्ने क्रममा धेरैलाई मास्क प्रयोग गरिरहेको अवस्थामा भेट्टायौँ, तर नलगाएको भएमा मास्क दिएर अबबाट लगाउन भनेका छौँ’ इन्स्पेक्टर अधिकारी भन्छन्, ‘हामी एकै ठाउँमा बसिरहने अनि मान्छे आएमा सम्झाउँला भन्ने हामीले गरेका छैनौँ। प्रहरी घर आँगनमा पुगिरहेको छ। कुरा बुझाएको छ, कोभिड विरुद्ध लागिरहेको छ। र यसमा खुसी लागेको छ यहाँका मान्छेहरू धेरै बुझ्ने हुनुहुन्छ।’

केही दिन अगाडिबाट सुरु भएको माइकिङ अभियान र बिहीबारबाटै सुरु भएको मास्क अभियानले आम नागरिकमा स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको इन्स्पेक्टर अधिकारीको भनाई छ। अभियान सुरु गर्दा कालीगण्डकी करीडोर सडकको निर्माणमा श्रम गरिरहेका तथा घर–घरमा बसिरहेकाहरू समक्ष पुगेर सचेतना फैलाउने र मास्क वितरण गर्ने काम गरिएको उनको भनाई छ।
सक्रिय सङ्क्रमितको अवस्था करिब शून्यमा पुग्न लागेको बेलामा पुन सङ्क्रमितहरू थपिँदै जाँदा जिल्लामा जोखिम उच्च हुनुका साथै सङ्क्रमणपछि आकस्मिक अवस्थामा आएमा मुस्ताङबाट सुगममा लैजान समस्या रहनुले जिल्लामा सङ्क्रमणपछिको उपचार भन्दा सङ्क्रमणलाई न्यूनीकरण गर्नुपर्ने बाध्यता रहेको इन्स्पेक्टर अधिकारीको भनाई छ।




