बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

पर्वत अस्पतालमा जोखिम अवस्थाको सफल शल्यक्रिया

साउन २७, २०७८

पर्वत : जिल्लामा नै पहिलो पटक स्वास्थ्य र शारीरिक रूपमा जटिल अवस्थामा रहेकी महिलाको शल्यक्रिया मार्फत बच्चा निकालिएको छ।
पछिल्लो समयमा गर्भवती, हाइड्रोशील, एपेन्डीसाइटीस लगायतका शल्यक्रियाहरू नियमित रूपमा चलिरहेको भए पनि शल्यक्रिया गर्न नै जोखिम रहेको अवस्थामा मोदी गाउँपालिका–६ तिलाहार की ३५ वर्षिया विनीता बरुवालको शल्यक्रिया गरेर सफलतापूर्वक बच्चा निकालिएको शल्यक्रियामा संलग्न चिकित्सक डा. डि.बी क्षेत्रीले बताए।
सामान्यतया बच्चा जन्माउने आमाको तौल ५० देखि ७० किलो हुने भए पनि बरुवालको तौल भने ९७ किलो थियो। तौल बढी भएको मान्छे मोटो हुने र शल्यक्रिया गर्दा पेटको छालाको पत्राहरु बढी बाक्लो हुँदा शल्यक्रियामा समस्या हुनुका साथै भित्र देख्नका लागि पनि केही कठिनाइ हुन सक्ने हुन्छ। चिकित्सकका अनुसार ३५ वर्षको उमेर बरुवालले पहिलो बच्चा जन्माउँदै थिइन भने उनमा उच्च रक्तचापको समेत समस्या थियो।
‘पाठेघरको घरका सबै घरहरू खुल्दा पनि बच्चा जन्मिएन, हामीले भ्याक्युम प्रयोग गरेर तान्ने प्रयास पनि गरेका हौँ। तर बच्चाको टाउको पाठेघरको मुखबाट टाढा रहेका कारण भ्याक्युम प्रयोग बच्चा निकाल्न सकेनौँ’ डा. क्षेत्रीले भने, ‘९७ किलो तौल, ढिला उमेरमा पहिलो बच्चा र रक्तचापको समस्याका बाबजुद पनि हामीले सफलतापूर्वक तीन किलो दुई सय ग्राम तौल भएको बच्चा निकाल्यौँ।’ नर्सिङमा सरस्वती बराल, एनेस्थेसियामा लक्ष्मण आचार्य र  शल्यक्रियामा डा. क्षेत्री सहभागी टोलीले बरुवालको शल्यक्रिया गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार पर्वतमा अहिलेसम्म यति धेरै तौल भएको  गर्भवतीको शल्यक्रिया भएको थिएन।
बरुवालका श्रीमान् राजकुमार भुँवाजी क्षेत्रीले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै जिल्लाकै अस्पतालमा कठिन खालका शल्यक्रिया हुनुले जिल्लावासीलाई ठुलो राहत भएको बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive