मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

‘मिर्गौला पीडितलाई सहयोग’ भन्दै चन्दा असुल्ने ३ जना ४ लाख सहित पक्राउ

भदौ ४, २०७८
पर्वत : मिर्गौला पीडितको उपचारमा समस्या भएको भन्दै विभिन्न ठाउँमा चन्दा उठाएर ठगी गर्दै आएका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमा झापाको बिर्तामोड नगरपालिका–९ पश्चिम स्ट्यान्ड बस्ने ३४ वर्षिया एलिजा बस्नेत, सोही ठेगाना भएका ३२ वर्षिय टेक बहादुर बस्नेत र हल्दिबारी गाउँपालिका–१ बस्ने ४४ वर्षिया धन बहादुर सेन्चुरी रहेका छन् । उनीहरूलाई बिहीबार कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा रहेको न्यु हाई वे स्टाफ होटेल एन्ड लजबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार उनीहरूले युनिक स्वयंसेवक नेपाल केन्द्रीय कार्यालय धरान सुनसरी नामको संस्था दर्ता गरी सोही संस्थाको रसिद प्रयोग गरी रकम उठाउने गरेको पाइएको छ । उनीहरूले पाल्पाको साबिकको झडेवा गाविस–५ घर भई हाल माथगढी गाउँपालिका–४ बस्ने मिर्गौला पीडित ३५ वर्षिय चूडाबहादुर रुचालको उपचार गर्ने भनी पोखरामा चन्दा उठाउँदै गरेका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेकी एलिजा संस्थाकी अध्यक्ष र अन्य दुई जना सदस्य रहेको पाइएको पनि प्रहरीले बताएको छ ।
‘झापामा संस्था गरेर मिर्गौला पीडितलाई हो भन्दै धेरै जनाका नाममा चन्दा उठाइसकेका रहेछन् । उनीहरूको बारेमा शङ्का लागेको सूचना प्रहरीले पाएपछि हामीले फलो गरिरहेका थियौँ’ सूचना अधिकारी हमालले भने, ‘जहाँ बढी भिडभाड भएका सहरहरू छन् त्यही गएर मिर्गौला पीडितको उपचारमा समस्या भएकोले बचाइदिन अनुरोध गर्दै पैसा उठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।’
पक्राउ परेकाहरूले यस अघि विभिन्न १२ जना बिरामीको नाममा चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जा लगायतका जिल्लाहरूबाट अनुमतिबिना नै चन्दा सङ्कलन गरेको अनुसन्धानबाट खुलेको छ । चन्दा सङ्कलनका लागि समूह–समूह बनाई भाडामा दैनिक १० वटा अटो ट्याम्पो समेत लिई देशका मुख्य–मुख्य सहरमा पुग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेका पनि डिएसपी हमालले बताए ।
उनीहरू बस्दै आएको होटेलको कोठामा खानतलासी गर्दा चन्दा उठाउन प्रयोग भएका रसिद, पर्चा सहित नगद चार लाख छ हजार चार सय छ रुपैयाँ बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद अनुमति लिई उनीहरूका विरुद्ध चन्दा ऐन–२०३० अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive