संजय रेग्मी
भदौ ६, २०७८
पर्वत : गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीको कैचलपानीका चिज गुरुङले २०६५ सालबाट नेपाली लोक तथा दोहोरी गीतमा पाइला चाले। दोहोरीको हुटहुटीमा हौसिएका उनले काठमाण्डौँको एउटा दोहोरी साँझमा गीत गाउँदै यात्रा अगाडि बढाए।
दोहोरीमा गाउँदै गर्दा उनले लोक दोहरी गीतका चार वटा एल्बम सालैजो, म तिम्रै हुम केर, डाँडैमा पिपलु बोट र कौडा गीत मोहनी सार्वजनिक गरे। तर एल्बम निकाल्नुमा भन्दा दोहोरी साँझमा गाउने र देशका विभिन्न जिल्लाका मेला तथा महोत्सवमा आयोजना गरिने प्रत्यक्ष दोहोरीमा भाग लिएर प्रतिस्पर्धा गर्नेमा उनी जमे। प्रत्यक्ष दोहोरीमा अन्त्यानुप्रास मिलाई सवाल जवाफ गर्नु निकै कठिन हो। तर चिजले यति घातक तरीकाले प्रश्नोत्तर गर्थे की विपक्षीले उत्तर दिन नै कठिन हुन्थ्यो। त्यसमा पनि उनको विशेषता भनेको दोहोरीमा नेपाली उखान टुक्का, गाउँले र मौलिक शब्दको प्रयोग हो।
उनको यात्राको १३ औँ वर्षमा आइपुग्दा उनी एकाएक भाइरल बने त्यो पनि ‘लन्ठू’ उपनामले। अहिले उनको सबैभन्दा बढी माग यूटव लाइभ दोहोरीमा भइरहेको छ। बिहानदेखि रातीसम्म नै गीत गाउन व्यस्त रहेको उनले सुनाए। ‘अहिले यूटूवबाट प्रसारण हुने लाइभ दोहोरीमा भ्याई नभ्याई भइरहेको छ। माग आए अनुसार समय मिलाउन नै हम्मे हम्मे भइरहेको छ’ गुरुङ भन्छन्, ‘अहिले त बाटोमा भेट्नेले पनि लन्ठू भन्छन्। दोहोरीमा जाँदा पनि लन्ठू खै त? भन्छन् अरूले। त्यो सुन्दा मलाई हाँसो पनि लाग्छ मज्जा पनि आएको छ। किनकि त्यही लन्ठू शब्दले मलाई सबैमाझ चिनाएको छ।’
यूटूवमा लाइभ दोहोरी सञ्चालन गर्दै आएको सारङ्गी संसारले केही दिन अगाडि तीजको अवसरमा पारिवारिक रिले दोहोरी प्रस्तुत ग¥यो जसमा गुरुङ सहित रेसम निर्दोष, मिना बुढाथोकी, जालुमाया गुरुङ, शर्मिला वि.सी, धना विश्वकर्मा, मिना लामा, अमृता नेपाली, रेजिना परियार, डिला बि.क. लगायतले गीत गाएका छन्। त्यो दोहोरीमा चिज बाबुको भूमिकामा छन् भने रेसम छोराको रूपमा। रेसमले सुटुक्क बिहे गरी श्रीमती लिएर घरमा आउँछन्, तर बाबु रिसाउँछन्। रेसमलाई गाली गर्दै चिजले दोहोरीमा
‘पढ्न पनि ध्यान गरिनस्, हा बरै भन्न आउन्न वा टु, सानी माया
कहाँको केटी उठार ल्याइस्, हा बरै तेरीमालाई लन्ठू, सानी माया’
भनेका छन्। यही प्रश्नका एकाएक उनी चर्चामा आए। उक्त दोहोरीमा उनले यो जस्तै धेरै पेचिला शब्दको प्रयोग गरेका जसले पेट मिची मिची हँसाउँछ। तर ‘लन्ठू’ शब्द सबैको जिब्रोमा झन्डीयो। टीकटकमा पनि उस्तै भाइरल बन्यो उनको त्यो प्रश्न। दर्शको निकै माया पाएको उक्त गीतको ‘भाग २’ ल्याउन श्रोता र दर्शकले निकै माग गरेकाले सारङ्गी संसारले दोस्रो भाग पनि प्रस्तुत ग¥यो ‘लन्ठू भाग २’ भनेर।
‘चिज जी ले निकै मौलिक नेपाली ठेट शब्दको प्रयोग गरेर गीत गाउनुहुन्छ। गाउँघरमा वा एउटा घरभित्र जे शब्द बोलिन्छ तिनलाई जस्ताको तस्तै गीतमा उतार्न सक्नुहुन्छ। यही कारण हामीले रिले दोहोरीमा उहाँलाई राख्यौ’ सारङ्गी संसारका सञ्चालक कमल कुमार बि.क भन्छन्, ‘लन्ठू शब्दको प्रयोगले कमेडी शैलीको दोहोरीलाई प्रश्रय दियो। दर्शक श्रोताले लन्ठूको भाग दुई पनि माग गर्नुभयो। हामीले त्यो पनि प्रस्तुत गरिसकेका छौँ।’
सारङ्गी संसार सहित, इन्द्रेणी, ई नेपाल रोधी घर, खेलौँ जुहारी लगायतका प्रत्यक्ष दोहोरी गाइने ‘सो’ मा आफ्ना प्रस्तुतिहरू राखिसकेका गुरुङ अहिले आफूलाई भ्याई नभ्याई हुँदै गएको बताउँछन्। आफ्ना चार सहित अरूका करिब एक दर्जन गीतमा स्वर भरेका उनको माग एल्बममा स्वर भर्नुमा भन्दा प्रत्यक्ष दोहोरीमा नै बढेको छ।
‘प्रत्यक्ष दोहोरीमा नै सबैले मन पराइदिनुभएको छ। अहिले बिहानदेखि बेलुका सम्म नै काममा खटिरहेको छु’ उनले भने, ‘एल्बम भन्दा पनि दोहोरीमै मन पराउनुभएको छ। म दोहोरी गाउने बेलामा मेरा घर गाउँमा प्रयोग भएका शब्द, नेपाली उखान टुक्का सकेसम्म बढी प्रयोग गर्न खोज्छु।’
लोक दोहोरीको नशा चढेका उनलाई परिवारबाट भने यो क्षेत्रमा सहयोग छैन। बाबु आमालाई त त्यति धेरै थाहा छैन, तर उनका तीन वटै दिदीहरू भाइलाई नेपालमा भुल्नु भन्दा वैदेशिक रोजगारीमा जान सुझाउँदै आएका छन्। आफूले गाएका गीतहरू यूटूव, फेसबुक र टीकटक लगायतका सामाजिक सञ्जालमार्फत साथी र गाउँलेले देखाइदिने गरेका कारण बाबुआमा भने ठिकै छ भन्ने अवस्थामा छन्।
‘तीन दिदीपछि जन्मेको म, मेरो माया धेरै भएका कारण पनि होला दिदीहरू यहाँ नभुली विदेश जा, उताबाट राम्रो आम्दानी हुन्छ। बरु आएपछि फेरि दोहोरीमा लागे हुन्छ भन्नुहुन्छ’ चिज भन्छन्, ‘मलाई त्यसो गर्नै मन लाग्दैन, गीत गाउनका रहरले ब्याचलरबाट छोडेको छु। अब विदेश जाने त कुरा भएन। यसैमा सङ्घर्ष गर्ने हो।’
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपालको पहिलो दोहोरी रियालिटी सो ‘दोहोरी च्याम्पियन’ मा समेत भाग लिइरहेका उनी अहिलेसम्मको यात्रामा सफल छन्। विभिन्न चरणमा जित्दै आएका उनी अहिले ‘भोटिङ राउन्ड’ मा रहेका छन्।
तस्बीर ः चिजको फेसबुकबाट