बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

इराकबाट बचेर आएका क्षेत्री बङ्गुर पालेर मालामाल

पर्वत : इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका व्यक्ति हुन् पर्वतको कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्री।

‘आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथ्यो। त्यही आक्रमणमा परेर कति साथी त मारिए’‚ उनले भने, ‘मौकाले बाँचियो। बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ।’

तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो। खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उनले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गरे। रणभूमिमा बसेर दिनरात परिवारको सम्झनामा आँखाभरि आँसु पार्नुभन्दा स्वदेशमा बङ्गुर पाल्न मजा मानेका गौरव जिल्लाकै सफल व्यवसायीका रूपमा चिनिन्छन्।

इराकको भन्दा दोब्बर कमाइ

सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेका छन्। इराकमा मासिक ७० हजार रुपैयाँ कमाउने उनले बङ्गुर पालनबाटै मासिक डेढ लाख बचत गर्दै आएका छन्।

अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किएका उनले बङ्गुर पालनबाट सोचेभन्दा राम्रो प्रगति गरेका छन्।

‘कति वेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ’‚ गौरव भन्छन्, ‘मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बङ्गुर पालिरहेको छु। बजारको माग धान्नै सकेको छैन।’

बङ्गुर पाल्न हुन्न भन्ने चुनौती

नेपाली समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ। ब्राह्मण क्षेत्री समुदायमा त सुँगुर/बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छ समेत भनिन्छ। यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु गौरवका लागि सहज कहाँ थियो र? तर आफैंले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठानेका उनले सामाजिक चुनौतीकै बीच बङ्गुर पाल्न लागे।

सात वर्षको अवधिमा उनले फार्ममा झन्डै १ करोड रुपैयाँ लगानी गरेका छन्। यद्यपि अझै पनि उनलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ। व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेसाबाट सन्तुष्ट छैनन्।

‘मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन। आक्कलझुक्कल ममी आउन थाल्नुभएको छ तर उहाँले अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ’‚ उनले भने, ‘काम यो गर्न हुने‚ ऊ गर्न नहुने भन्ने केही छैन। गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि!’

उनको आँट र व्यावसायिकतालाई प्रवर्धन गर्न आर्थिक वर्ष ७७/७८ मा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पर्वतबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रमबाट ३ लाख ५० हजार अनुदान समेत आएको थियो।

उत्पादन गर्न सके माग राम्रो छ

क्षेत्रीले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै ब‌ंगुरलाई ८५ हजार रुपैयाँमा बेचेका छन्। बजारमा उत्पादन हुने फोहोर उठाएर बङ्गुरलाई आहार दिने गरेका उनले आजभोलि फोहोरलाई कम गरेर दाना खुवाउन थालेका छन्। यही कारण ४ हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य ५५ सय पुगेको छ।

उनले बजारको मागअनुसारको धेरै उत्पादन गर्न सकेका छैनन्। उनले मासुका लागि भन्दा पनि पाठापाठी जन्माउन माउ बङ्गुर राखेका छन्। एउटा माउ ४/५ बेत ब्याएपछि मात्र मासुका लागि बेच्छन्।

उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन्। माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जा लगायतका ठाउँमा छ। मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको कथन छ।​

विदेशमा लुकेर गर्दा जे पनि राम्रो, यहाँ त्यही नराम्रो ?

वैदेशिक रोजगारीका लागि सबै नेपालीले रोजेको र खोजको जस्तो काम विदेशमा नपाउने भएकाले जस्तो काम पाइन्छ उस्तै काम गर्नुपरेको गौरवको अनुभव छ।

विदेशमा रहेका नेपालीले बङ्गुर फार्ममा पनि काम गरिरहेको बताउँदै उनले विदेशमा जस्तो फोहोरमा पनि काम गरेर आम्दानी गर्न तयार हुने नेपालीले त्यही काम आफ्नो देशमा गर्न लजाउने गरेको बताए। यसबाट देशको श्रमशक्ति बिदेसिएको उनको भनाइ छ।

‘आफ्ना गाउँलेले नदेख्ने भएपछि विदेशमा जस्तो काम गर्न पनि हुने तर आफ्नो देशमा त्यही काम गर्न नहुने? लाजैलाजले हाम्रो कमाइ पनि हराएको छ। यहाँको श्रमशक्ति विदेशमा पोखिएको छ, देश गरिब भएको छ’‚ उनी भन्छन्, ‘अर्काको देशमा जे काम पनि गर्न तयार हुने हामी स्वदेशमा त्यही काम गर्न किन लजाउने? यसैले हामीलाई गरिब बनाएको छ, विदेशिन बाध्य बनाएको छ।’

thahakhabar.com

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive