मङ्सिर १४, २०७८
पर्वत : नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापति पदका लागि केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले सभापति पदमा उम्मेदवारी दिने भएका छन् ।
मङ्गलवार बिहान गण्डकी प्रदेशको राजधानी पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जोशीले आफू सभापति पदको उम्मेदवार रहने बताएका हुन् । काँग्रेसको अधिवेशन काँग्रेसको नेतृत्वका लागि मात्रै नभई नेपालको समृद्धि र राजनीतिक स्थायित्वका लागि पनि भएकाले त्यो सपना पूरा गर्नको लागि आफू उम्मेदवार रहने नेता जोशीले बताए । उम्मेदवारी घोषणा गर्ने क्रममा उनले आफूले जितेमा गुटभन्दा माथि उठेर पार्टीलाई बलियो बनाएर देखाउने प्रतिबद्धता गर्दै त्यो गर्न नसकेमा आफूलाई प्रश्न गर्न अनुरोध गरे ।
‘पार्टीले जागरण अभियानको क्रममा मलाई गण्डकीमा पठाएको थियो । त्यो बेलामा करिब डेढ महिनाको समय पोखरामा रहँदा म कुन गुटको भन्ने आभास कसैलाई पनि भएको थिएन,’ उनले भने, ‘काँग्रेस भित्रको मनमुटाबले पार्टीलाई गलत बाटोमा जाने चिन्ताहरू थपिएका छन् । यदि मलाई गण्डकी प्रदेशको सभापतिमा निर्वाचित गराउनुभयो भने गुटभन्दा माथि उठेर पार्टीलाई बलियो बनाएर देखाउने प्रतिबद्धता व्यक्त गर्दछु । त्यो गर्न नसकेमा मलाई प्रश्न गर्नुहोला ।’
बहुमत आउँदैमा मुलुकमा शान्ति र स्थायित्व आउँछ भन्ने कुरा गलत रहेको विगत र वर्तमानले सिकाएको बताउँदै नेता जोशीले यो अधिवेशन कसैको जीत हार भन्दा पनि यसबाट सबै उम्मेदवारले काँग्रेसलाई जनताको पार्टी बनाउने अभियानमा लागेमा काँग्रेसको औचित्य पुष्टि हुने बताए ।
आफूले लामो समयदेखि काँग्रेसको सङ्गठन निर्माणका लागि काम गर्दै आएका कारण पनि यो अधिवेशन आफ्ना लागि परीक्षा बनेको उनको भनाई छ । मुलुकको राजनीतिलाई गण्डकी प्रदेशमा तान्नको लागि पनि आफ्नो अथक प्रयास रहने बताउँदै उनले काँग्रेसको विचार र इतिहासमा खोट नभए पनि वर्तमान समयमा काम गर्ने शैली राम्रो नहुँदा समस्या भइरहेको स्वीकार गरे ।
पर्वत सदरमुकाम कुश्मा घर भएका नेता जोशी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलका रूपमा चिनिन्छन् । २०४८ बाट ०६४ सालसम्म नेपाली काँग्रेस पर्वतको जिल्ला सभापति बनेका जोशी तीन पटक सांसद बनेका छन् । पहिले जनसम्पर्क समिति प्रमुख रहेका उनी अहिले स्थानीय तह समन्वय विभागका संयोजकका रूपमा रहेका छन् ।
गण्डकीमा जोशी सहित तनहुँका रघुनाथ पौडेल, कास्कीका देवराज चालिसेले पनि उम्मेदवार रहने घोषणा गरिसकेका छन् । कास्कीकै शुक्रराज शर्माले पनि उम्मेदवार रहने भन्दै सामाजिक सञ्जालबाट मत अपिल गरिरहेका छन् भने पूर्व मन्त्री समेत रहेका कास्कीकै यज्ञबहादुर थापाले सभापतिमा उठ्नको लागि आन्तरिक तयारी गरिरहेको बुझिएको छ ।
नेपाली काँग्रेसको प्रदेश कार्यसमितिमा एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र एक महिला सहित तीन जना सह महामन्त्री रहने व्यवस्था छ । प्रदेश सभापतिले निर्वाचित सदस्यहरूमध्येबाट एक जनालाई कोषाध्यक्षका रूपमा राख्नेछन् ।
काँग्रेस गण्डकी प्रदेशमा प्रभावशाली नेता जोशीले उम्मेद्वारी दिने
