पुस ५, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङ स्थित मालढुंगामा हुँदै बगिरहेको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्ती प्राय सुनसान हुन्छ । आर्थिक समस्या र दीर्घ रोगबाट प्रताडित रहेका पनि उत्तिकै छन् त, छाक टार्नको लागि कालीगण्डकीबाट बालुवा निकालेर बेच्नु हो । जाडो होस वा गर्मी सधैँको एउटै बास ब्लकले बनाएका एक तले छाप्रामा अस्थायी रूपमा राखिएका जस्ता पाता । गर्मीमा जस्ता तातेर सुत्नै सकिँदैन त जाडोमा जस्ताबाट शीतका थोपा खसेर निदाउन पाईँदैन् ।
शनिवार बिहान त्यही अभाव र समस्यामा रहेको माझी बस्तीमा महोत्सव नै लागेको थियो। कालीगण्डकीको किनारसँगै त्रिपालमा सबै कपडाहरू देखिने गरी मिलाएर राखिएको थियो । विद्यालय जाने उमेरका बालबालिकादेखि वृद्ध अवस्थामा रहेकाहरू पनि त्रिपालमा राखिएका कपडाहरू एक–एक लिँदै आफ्नो शरीरमा टाँस्दै नाप्दै गरिरहेका थिए । नापो मिलेमा निःशुल्क घरमा लैजान पाउने, नमिलेमा छानी छानी अर्को नापोको कपडा लिन पाइने । कठारिने जाडोमा टिनको छानामुनि एकसरो कपडाको भरमा दैनिकी धानिरहेका उनीहरूलाई निःशुल्क कपडा पाएपछि त्यहाँ भन्दा खुसीको क्षण थिएन ।
उनीहरूका लागि यो मौका भने लायन्स क्लब अफ पर्वत गुप्तेश्वर, कुश्मा नगरपालिका–७ र नमुना स्काउट ट्रुपले मिलाएका हुन् । पछिल्ला दुई साता यता यी तीन संस्थाले आर्थिक समस्यामा रहेका परिवारको लागि न्यानो कपडा सङ्कलन र वितरणको अभियान थालेका छन् । अभियानका क्रममा इच्छा लागेकाहरूले अभियानका लागि कपडा उपलब्ध गराउँछन् । कपडा पसलमा रहेका नयाँ तथा दाग लागेर विक्री नहुने अवस्थामा रहेको वा आम नागरिकले फेसन गएर वा आकार नमिलेर नलगाई थन्क्याएका कपडालाई सफा गरेर अभियानलाई उपलब्ध गराइन्छ। हरेक शुक्रवार ‘सेकेन्ड हेन्ड’ कपडा सङ्कलनका लागि ‘माइकिङ’ गर्दै गाडी नै बजारमा डुलाइन्छ अनि शनिवार समस्यामा रहेकाहरूलाई कपडा लिन आउन आह्वान गरिन्छ ।
सोही अभियान अन्तर्गत शनिवार माझी बस्तीमा रहेका परिवारका लागि कपडा बाँडिएको हो । लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ का अनुसार दुई साताको अवधिमा झन्डै चार सय परिवारले कपडा पाएका छन् । चिसो बढ्दै जाँदा गरिब तथा विपन्न परिवारलाई न्यानो कपडाको पिर हुन्छ । दुई छाक गर्जो टार्न मुस्किल भएकाहरूले न्यानोका लागि ज्याकेट, स्विटर, ट्राउजर, मोजा, टोपी, गलबन्दी लगायतका लत्ताकपडा खरिद गर्न मुस्किल हुँदा चिसोबाट हुने असरहरू जानी जानी भोग्नुपर्ने बाध्यता छ । यही अवस्थाको अन्त्य गर्न र अन्यत्र पनि सिकाई होस भनेर नै फरक खालको काम आफूहरूले गरेको उनको भनाई छ ।
‘पैसा भएको मान्छेले फेसन र न्यानोपनको आधारमा कपडाहरू रोजेर किनिरहेका हुन्छन् । गत वर्ष लगाएका तथा फेसन गएका कपडाहरू नलगाई नयाँ किन्नेहरूले घरमा थन्क्याएर राखेका हुन्छन् । ती कपडाले किन्न नसक्नेहरूको जीवन बचाउन सक्छन् भनेर यो अभियान थालिएको हो,’ उनले भने, ‘हरेक दिन जसो सङ्कलनको काम भइरहेको हुन्छ । हप्ताभर सङ्कलन भएका न्यानो लुगा शनिवार कुनै ठाउँमा राखेर समस्यामा भएकाहरूलाई लिन आउनको लागि अनुरोध गरेर सकेसम्म धेरैलाई वितरण गरिन्छ ।’
गरिब, विपन्न, अल्पसङ्ख्यक, दलित समुदाय लगायत आर्थिक समस्यामा रहेकाहरूलाई चिसोबाट जोगाउनको लागि परोपकारी काम थालिएको हो । बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दाहरूसँग पुराना र सफा कपडा सङ्कलन गर्ने र कुनै एक चोकमा ती कपडाहरू राखेर विपन्न तथा असहाय नागरिकलाई बोलाएर वितरण गर्ने गरिन्छ । अभियानका क्रममा सिरक, डसना, स्विटर, ज्याकेट, ब्लाङकेट, कुर्था सुरवाल, टोपी, ट्राउजर, ट्रयाकसुट, जुत्ता, मोजा लगायत लगाउने, ओढ्ने र ओछ्याने कपडाहरू अभियानका लागि प्राप्त भएका कुश्मा नगरपालिका–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले बताए ।
‘जाडो महिना सुरु भएसँगै विपन्न, दलित, मजदुर लगायत आर्थिक सङ्कटमा रहेका परिवारहरू सबैभन्दा बढी प्रभावित हुने गरेका छन् उनीहरूलाई नै मध्यनजर गरेर यो कार्यक्रम चलाइएको हो,’ उनले भने, ‘आर्थिक सङ्कटमा रहेकाहरू नै चिसोबाट हुने विभिन्न सङ्क्रमणको उच्च सिकारमा रहेको अस्पताल तथा क्लिनिकहरूको तथ्याङ्कले देखाएकाले पनि अभियान सञ्चालन गर्नु आवश्यक रहेको देखिएको छ ।’
सदरमुकाम र त्यसपछि पालिका स्तरमा पुगेर सङ्कलन तथा वितरण गर्ने योजनामा रहेको अभियानमा सहभागी भएकाहरू बताउँछन् । अभियानमा जनप्रतिनिधि, उद्योगी, व्यवसायी, बजारवासी, सामाजिक सेवामा सक्रिय रहँदै आएका अन्य सङ्घ संस्थाहरू पनि सहभागी भएकाले आशातीत रूपमा न्यानो कपडा सङ्कलन भइरहेको लायन्स क्लबका अध्यक्ष ‘निर्जन’ ले बताए । नागरिकले यो अभियानमा साथ दिँदै स्वतः स्फूर्त रूपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडाहरू सहयोग गरेकाले सामाजिक सेवाका लागि गरिएको अभियानले सार्थकता पाउँदै गएको छ ।
उदाहरणीय काम : कपडा संकलन गरेर माझीबस्तीमा सहयोग
पुस ५, २०७८
