मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

सञ्चालनमा आयो लोहोटारी खानेपानी आयोजना

माघ १३, २०७८

सरिता पौडेल
माघ १३, २०७८
पर्वत : पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाको रुग्दी स्थित लोहोटारी गाउँको लागि निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आएको छ।
फलेवास नगरपालिकाको १२ लाख रुपैया र स्थानीय उपभोक्ताको एक लाख गरी कुल १३ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको आयोजनाको बिहीबार फलेवास नगरपालिकाका प्रवक्ता तथा सोही वडाका वडाध्यक्ष टीकाराम गौडेलले उद्घाटन गरेका छन्।
आयोजनाको उद्घाटन गर्दै प्रवक्ता गौडेलले आफू ४४ सालदेखि जनप्रतिनिधिको रुपमा रहे पनि तत्कालिन समयमा बजेट अभावका कारण लोहोटारीबासी भोगिरहेको खानेपानीको समस्या समाधान गर्न नसकेको बताए। तर यस पटक नगरपालिकासँगको सहकार्यमा गाउँलेहरुको समस्या समाधान गर्न पाउँदा लामो समयदेखिको आफ्नो सपना पूरा भएको उनको भनाई छ।
‘अब यहाँका नागरिकले गाग्रीमा पानी बोकेर भान्सा र गोठ उम्काउनुपर्ने बाध्यता हटेको छ। ४४ सालदेखिको मेरो सपना पूरा भएको छ’ उनले भने ‘चुनावमा उठ्ने बेलामा कुनै न कुनै चुनाव चिह्न लिएर उठ्नुपर्छ। तर जितेपछि हामी पार्टीको मान्छे हुँदैनौँ, सबैको साझा हुन्छौँ। त्यसैले जहाँ आवश्यकता छ त्यहाँको समस्या समाधान गरिनुपर्छ।’ रुग्दी सहित शंकरपोखरीबासीहरुले अन्तिम संस्कारका लागि शव लैजाने मोदीबेनी घाटसम्म पुग्ने सडक निकै कष्टपूर्ण रहेकोले आफूकहाँ त्यसबारेको गुनासो आएको बताउँदै उनले नगरपालिकामा त्यस बारेमा कुरा गरेर समस्या समाधानको लागि आफूले सक्दो पहल गर्ने प्रवक्ता गौडेलको भनाई छ। त्यस बाहेक बिदुर पुरुषहरुलाई भत्ता दिने, बाँकी रहेका काठे पोलहरु विस्थापन गर्ने लगायतका कार्यक्रमहरुले पनि नागरिकलाई थप सुबिधा हुने उनले बताए।


स्थानीय ज्येष्ठ नागरिक ९२ वर्षिय दुर्गादत्त सापकोटाले बर्षौँदेखि लोहोटारीबासीले खानेपानीको स्थायी व्यवस्थापन नहुँदा भोगिरहेको समस्या बूढेसकालमै भए पनि देख्न पाउँदा खुसी लागेको बताए। ‘यहाँ पानी चाहियो भनेर त हामी पहिले बाटै माग राख्दै आइरहेका थियौँ। हाम्रो कुरा कसैले पनि सुनेको थिएन,’ उनले भने, ‘बूढेसकालमै भए पनि गाग्री बोकेको देख्नु नपर्ने भो। घरकै छेउमा एउटा धारो पाउँदा खुसी लागेको छ।’
कार्यक्रममा स्वागत मन्त्ब्य राख्दै आयोजनाका सल्लाहकार तथा अनुगमन संयोजक नरनाथ सापकोटाले अहिलेसम्म रहेको अव्यवस्थित खानेपानीलाई ढिलै भए पनि व्यवस्थित र स्थायी बनाउन पाउँदा नागरिकको सास्ती घटेको बताए। खानेपानी सहित शिक्षा र स्वास्थ्य नागरिकको दैनिक घरव्यवहारसँग जोडिएको र आधारभूत आवश्यकता भएकोले तीनै तहका  सरकारले नागरिकका आधारभूत आवश्यकताको परिपूर्तिमा जोड दिनुपर्ने उनको भनाई छ।
‘वडाध्यक्ष सहित नगरपालिकाको सकल समूहले बिनोजन गरेको बजेटले यहाँका नागरिकले राहतको महसुस गरेका छन्,’ उनले भने, ‘अब खानेपानी मात्रै होईन, समय मिलाएर पानीको व्यवस्थापन गर्ने हो भने सिचाईँमार्फत यहाँका बासिन्दाले बजारको तरकारी किनेर खानुपर्ने छैन्।’ सल्लाहकार सापकोटाले योजना सञ्चालनमा आउनुभन्दा पनि त्यसको संरक्षण र आवश्यक मर्मतले मात्रै दिगोपन हुने भएकोले तयार भएका पूर्वाधारको संरक्षणको दायित्व सबैको भएको उल्लेख गरे।
यस्तै रुग्दी लोहोटारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर सापकोटाले गाउँमा खानेपानीको सुबिधा पूरा भएको भए पनि सडकको स्तारोन्न्ती सहित अन्य पूर्वाधारको काममा पनि थप चासो दिन नगरपालिकाका प्रवक्ता गौडेललाई अनुरोध गरे। खानेपानीले मात्रै नागरिकका आवश्यकता पूरा नहुने भएकोले शिक्षा, स्वास्थ्य, यातायात लगायतमा पनि सहयोगको अपेक्षा गरेको उनको भनाई छ।


उपभोक्ता समितिका सचिव तारानाथ सापकोटाका अनुसार झण्डै दुई किलोमिटर टाढा रहेको मुहानबाट ल्याएको पानीलाई रिजर्भ ट्याङ्कीमा जम्मा गरेर हरेक घरमा पानी जाने व्यवस्था मिलाइएको छ। १६ हजार घनमिटर क्षमताको रिर्जवेयर ट्याङ्की निर्माण गरेर बस्तीमा रहेका १५ घरका लागि १५ ओटै धारा निर्माण गरिएको उनको भनाई छ।
खानेपानी आयोजना उद्घाटन समारोहको सञ्चालन स्थानीय समाजसेवी टुकनाथ सापकोटाले गरेका थिए।

 

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive